पहिले खलो, अहिले नगद

‘पहिले खलोमा ग्राहकहरु निश्चित हुन्थे, वर्षको २ पटक सिजनअनुसार धान र गहुँ पाइन्थ्यो’
निर्मला खडायत

धनगढी - दुइवटा टाँक हराएको मैलो सेतो सर्ट  । तल पनि मैलो नै कालो रंगको हाफ पाइन्ट  । आरनको आगोका झिल्काले हाफ पाइन्टको पनि ठाउँ–ठाउँमा स सानो प्वाल पारेको छ । उमेरले ६५ नाघेका जोगी सुनार हातमा हथौडा लिएर हँसिया बनाउँदै थिए । १० वर्ष अघि गाउँमा खलो लिएर काम गर्ने उनी धनगढी सरेपछि अहिले ज्यालामा काम गर्न थालेका छन् ।

‘खलोमा ग्राहकहरू निश्चित हुन्थे । वर्षको २ पटक सिजनअनुसार धान र गहुँ पाइन्थ्यो,’ जोगीले भने, ‘वर्षभरि उनीहरूको हसिया, कुटो कोदालो बनाए पनि खलोबाफत् पाउने अन्न थोरै हुन्थ्यो । गाउँमा संकलन गरेको खलोले वर्षभरि खान मात्रै पुग्थ्यो । अहिलेनगद ज्याला लिन थालेपछि बचत पनि हुन थालेको छ ।’

खलो अर्थात वर्षभरि गाउँका मानिसको हसियाँ, बन्चरो, कुटोकोदालो बनाएबापत् उनलाई ज्यालाका रुपमा ६ महिनामा २/३ पटक सिजनअनुसारको अन्नबाली मिल्थ्यो । तर, अहिले त्यो प्रथा हराइसकेको छ । खलोभन्दा नगद ज्यालामै आम्दानी राम्रो भएपछि अहिले नगदमै काम गरिरहेको उनले सुनाए ।

सदियौंदेखि ग्रामीण समाजमा चलिआएको यो प्रथा (अन्नबाली दिएर काम गराउने) पछिल्लो समयमा हराउँदै गइरहेको छ । आजकल लुगा सिउने र आरनको काम गर्नेहरू नगद ज्याला लिएर नै काम गर्छन् । ‘धानको बेला धान लिन, गहुँका बेला गहुँ लिन गाउँ चहार्नुपर्थ्यो । अहिले आमनेसामने नै नगदले ब्यापार हुन्छ,’ जोगीले भने ‘अहिले हरेक कुरा महँगो छ । केही पाथी धानले वर्षभरि धान्न सकिँदैन । त्यसैले खलो लिने चलन धेरैले छोडिसके ।’ खलो लिँदा ६ महिनामा एक घरबाट ४/५ पाथी धान–गहुँ पाउने उनले अहिले दैनिक रुपमा ४/५ सय कमाउने गरेका छन् । ‘घनले पिटेर हसिँया, बन्चरो बन्छ हजुर । मिहिनेत धेरै, आम्दानी थोरै थियो ।

नगदमा परिश्रमको फल पाएजस्तो महसुस हुन्छ,’ जोगीले भने । पहिले पुर्खादेखि नै खलो लिने प्रचलन रहिआएको हुनाले जोगीले पनि लामो समय खलोमै काम गरेको सुनाए । तर, १० वर्ष अघि धनगढी झरेपछि उनलाई खलो दिने कोही भेटिएनन् । ‘सुरुमा खलोकै लोभ लाग्थ्यो । केही नभए पनि आउने अन्नबाली निश्चित थियो । पछि ज्याला बढी देखेपछि खलोप्रतिको मोह घट्दै गएको हो,’ जोगीले भने । अहिले उनको सबै कारोबार पैसामा हुन थालेको छ ।

धनगढी उपमहानगरपालिका लक्ष्मीनारायण चोकमा सिलाइ पसल सञ्चालन गरिरहेका शेरबहादुर नेपालीको पनि केही वर्षयता दैनिकी फेरिएको छ । थोरै खलोमा धेरैका कपडा सिलाउँदै आएका उनले पनि अहिले नगदमा काम गर्न थालेका छन् । ‘लामो समय कपडा सिलाइयो । आम्दानी कत्ति पनि देखिएन् । अहिले बजार क्षेत्रमै पसल राखेर काम गरिरहेको छु’ उनले भने ‘पाथीको हिसाब पैसामा लिन थालेपछि आम्दानी देखिन थालेको हो ।’

वर्षौंअघिदेखि चलिआएको बालीघरे (खलो प्रथा) पुस्ताहरूमा हस्तान्तरण हुँदै आएको थियो । तर, नयाँ पुस्ताले नगदमा फाइदा देखेपछि यस प्रथालाई बिर्संदै जान थालेको उनले बताए । उनले भने ‘आँगन–आँगन चहारेर खलो मागेर ल्याउनुपर्थ्यो । अझ कतिपयले कचकच पनि गर्थे । अहिले मिहिनेतअनुसारको दाम तोकिन्छ । काम हुनेबित्तिकै पैसा हातमा आउँछ । अनि को लागि परोस् त खलोको पछि ?’ छोरा–छोरीलाई राम्रो पढाउन सकिँदैन थियो ।

नगदमा काम गर्न थालेपछि सबै अभावहरू टर्न थालेको उनले सुनाए । कैलालीका बजार क्षेत्रका मात्रै होइन्, ग्रामीण क्षेत्रमा पनि सिलाइ र लोहार/ सुनारको काम गर्नेहरू खलो प्रथा छोडेर नगदमा काम गर्न थालेका छन् । कपडा सिलाउनेले मात्रै होइन्, लगाउनेले पनि नगदमा ज्याला दिन रुचाउने गरेका छन् ।

प्रकाशित : आश्विन २८, २०७६ ११:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जिल्ला अदालतद्वारा सांसद आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप

शिव पुरी

रौतहट — रौतहटको राजपुर बम बिस्फोट घटनाको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिदिएको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले सांसद आलमलाई ७ दिनको म्याद थपको आदेश गरेका हुन् ।

सांसद आलमले घटनाको १२ वर्ष पछि बिना प्रमाण आफुलाइ पक्राउ गरेको न्यायाधीश सामु बताएका थिए।

उनलाई अदालत पेश गर्ने क्रममा प्रहरीले गौरको सुरक्षा व्यवस्था निकै कडा बनाएको थियो। २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट र त्यसका घाइतेलाई इँटा भट्टामा जलाएर मारको आरोपमा अनुसन्धानका लागि असोज २६ गते आइतबार पक्राउ गरिएका हो। उनी नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद छन्।

२०६४ सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए। प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो।

पीडित परिवारको जाहेरीअनुसार विस्फोटको घटनापछि तत्कालीन एसपी लक्ष्मण न्यौपाने (टीकापुर घटनामा मृत्यु भइसकेको छ) तत्कालै घटनास्थल पुगेका थिए । भोलिपल्ट अर्थात् २८ गते बिहान जिल्ला प्रहरीको टोली पनि पुग्यो तर, कतै पनि बम विस्फोटको घटना नभएको सर्जमिन मुचुल्का गर्‍यो। प्रहरी प्रधान कार्यालयसहित सम्बन्धित निकायमा जानकारी सत्यतथ्य नपठाउनुमा आलमको राजनीतिक प्रभावमा भन्ने बुझेर पीडित परिवार आक्रोशित थिए ।

धेरै रोइकराइ गरेर जाहेरी दिएका पीडित परिवारलाई आश्वस्त पार्न प्रहरीले अनुसन्धान गरेजस्तो झारा टार्‍यो। घाइतेलाई जिउँदै जलाइएको भनिएको भट्टाको माटो परीक्षणका लागि नलगी प्रहरीले त्यसबेला अर्कै भट्टाबाट लगेको पीडित परिवारको आरोप छ । २०६५ असार ९ मा जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कसुर पुष्टिको आधार कमजोर भन्दै मुद्दा चल्न नसक्ने प्रतिवेदन बनायो । असार ३० मा महान्यायाधिवक्ता कार्यालयले उक्त निर्णयको पक्ष लिँदै मुद्दा नचलाउने भएपछि राजपुर बमकाण्ड ओझेलमा पर्‍यो ।

पीडितले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे । सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयको उक्त आदेश २०६९ जेठ १६ मा खारेज गरिदियो । त्यसपछि सांसद आलमसहित आरोपीलाई पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुलेको भएपनि राजनीतिक पहुँच र शक्तिको आडसामु प्रहरी निरीह बन्यो। घटना अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सर्वोच्चले गरेको आदेशयता रौतहटमा ७ जना एसपी आएर सरुवा भए। कसैले पनि घटना अनुसन्धान अघि बढाउने र आरोपीलाई पक्रने हिम्मत गरेका थिएनन् । पीडितले सर्वोच्चमा पुनः मानहानिको मुद्दा दायर गरे । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको ताकेतापछि आलमलाई पक्राउ गर्न प्रहरी बाध्य भएको हो । पहिलेको प्रतिवेदनका आधारमा कर्तव्य ज्यान मुद्दामा आलममाथि अनुसन्धान थाल्ने एसपी खत्रीले बताए ।

प्रहरीले यतिबेला पीडितको निवेदनपछि यथार्थ केलाई पीडित पक्ष तथा साक्षीको बयान संलग्न गराएर मुद्दा अघि बढाउने तयारी छ । अचानक विस्फोटपछि स्लाइनसहित केही स्वास्थ्यकर्मी घटनास्थल पुगेको भन्ने पनि पीडित परिवारको भनाइ छ । तर को पुगे भन्ने पहिचान खुलेको छैन । स्लाइनमा बेहोस पार्ने औषधि चढाइएको पनि जाहेरीमा भनिएको छ । त्यसपछि बोरामा राखेर भट्टामा लगेको पीडितको दाबी छ । त्रिलोक र अख्तर घाइते मात्र थिए । मरिसकेका र घाइते आठ जनासहित २२ जनालाई ट्याक्टरमा राखेर भट्टामा जलाइएको जाहेरीमा छ। घटनाको केही सातापछि, नेपाल बार एसोसियसन, इन्सेकका प्रतिनिधि र मानवअधिकारकर्मी घटनास्थल पुगेका थिए । उनीहरूलाई समेत राजपुर गाउँमा दुर्व्यवहारको प्रयास भएको थियो ।

प्रकाशित : आश्विन २८, २०७६ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT