२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ढुंगाखानी दर्तामा अन्योल

प्रकाश बराल

(बागलुङ) — अघिल्लो वर्ष ढुंगाखानी दर्ता गरेर सञ्चालन गर्न खोज्दा कानुनी झन्झटले ताराखोलाका ओमप्रकाश घर्ती लगानी डुबाउन बाध्य भए । प्रक्रियामै ५० हजार खर्चेपछि हैरानी खेपेर दर्ता भएको बिके सप्लायर्स खारेज गराए ।

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्दा २० हजार राजस्व तिरेका घर्तीले खानी विभागमा पुग्दा थप ५० हजार खर्च गरे । तर काम असफल भयो । आफ्नै खेत, पाखोमा ढुंगाखानी चलाउन खोज्दा पहाडै खन्ने, ठूलो खानी उद्योग चलाउनेलाई जत्तिकै व्यवहार गरियो । घर बनाउँदा प्रयोग हुने ढुंगा उत्खनन् गरेर बजारमा पठाउने उनको चाहना अलपत्र भयो ।


अहिले पोखरासहित सहरी क्षेत्रका घरमा टाँसिने ढुंगाहरू ताराखोलामा बढी पाइन्छ । केही खानी दर्ता भएर र केही बिनादर्ता चलेका छन् । दर्ता प्रक्रिया झन्झटिलो र धेरै खर्च लाग्ने भएपछि दर्ता गर्न खोजेकाले पनि नगरेका हुन् । ‘कम्तीमा साढे ५ सय रोपनीमा खानी चलाउने भए मात्र विभाग पुग्नुपर्छ, सामान्य खानी घरेलुमा दर्ता गरे पुग्छ,’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘गाउँपालिकाको अनुमति लिएर पनि साना उद्योग चलाउन सकिन्छ ।’ गाउँपालिकामै कर तिर्ने गरी साना उद्योग सञ्चालनको अनुमति दिने व्यवस्थाका लागि कार्यविधि बनाएको उनले बताए । ‘आफ्नै खरबारीको ढुंगा कुँदेर व्यवसाय गर्न खोज्दा धेरै दुःख दिन हुँदैन,’ घर्तीले भने । सामुदायिक वन वा राष्ट्रिय वनभित्र सञ्चालन गर्ने भए वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने भए पनि खरबारीलाई समेत अप्ठ्यारो पारिएको उनले बताए ।


ताराखोलामा ढुंगाखानी प्रशस्त छन् । घर छाउने, टायल र मार्बल बनाउन मिल्ने ढुंगा प्रशस्त भएकाले धेरै किसानले कर तिरेर खानी सञ्चालनको तयारी गरेका छन् । ताराखोलामा अहिलेसम्म एउटा मात्र ढुंगाखानी दर्ता छ । धनबहादुर बिकले दर्ता गरेको बाहेक अरू सबै प्रक्रियामा मात्र छन् ।


सानो उद्योग जिल्लास्थित कार्यालय र ठूलो भए केन्द्रमा दर्ता हुने उद्योग अधिकृत गोमा रिजालले बताइन् । स्थानीय तहमा उद्योग दर्ताको अधिकार नभएको समेत उनले बताइन् । प्रारम्भिक अध्ययनअनुसार ताराखोलामा ढुंगाखानीसहित तामा र ग्रेनाइट पनि छ । ताराखोला गाउँपालिकाले प्रतिट्र्याक्टर निकासी गर्दा कर तिरेर उत्खनन् गर्न खुला गरेको अध्यक्ष घर्तीले बताए । ‘सानो स्केलको र आफ्नै बारीमा उत्खनन् गरेको भए गाउँपालिकामा दर्ता गर्न लगाएका छौं,’ घर्तीले भने, ‘चालू वर्षदेखि उनीहरूलाई दर्तामा ल्याएर सञ्चालन गर्न दिन्छौं ।’ कामदारलाई तालिम दिएर आकर्षक ढुंगा कुद्ने र बेच्ने अवसर बनाउन कार्यविधि बनाउने तयारी गरेको उनले बताए ।


प्रकाशित : आश्विन २८, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?