कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बढ्दै

बलराम घिमिरे

(रसुवा) — वर्षा सकिएर मौसम सफा भएसँगै लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्नका लागि पर्यटकहरू आउन थालेका छन् । 

लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बढ्दै

घुम्नका लागि पर्यटक आउने यो मुख्य सिजन हो । त्यसैले लाङटाङ र गोसाइँकुण्डका पदमार्गमा विदेशी पर्यटकहरूको चहपहल देखिन थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जकको ब्राबल चेक प्वाइन्टबाट नेपाली र विदेशी गरी दैनिक दुई सयको हाराहारीमा पर्यटकहरू प्रवेश गर्ने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए । ती पर्यटकहरू पदयात्राको लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्दछन् ।


छोटो पदमार्ग भएकाले लाङटाङमा पर्यटकको घुइँचो लाग्दछ । लाङटाङ पदमार्गमा जाने पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न सक्ने लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामा बताउँछन् । पर्यटकहरूले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, तामाङ कला र संस्कृति, लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन गर्न पाउँछन् । अंग्रेजी क्यालेन्डरअनुसार अक्टोबर र नोभेम्बर महिना पर्यटक आउने मुख्य सिजन रहेको होटल व्यवसायी ढिण्डुप तामाङले बताए । लाङटाङ घुम्नको लागि अहिले आन्तरिक पर्यटक धेरै आएका छन् उनले भने । स्याफ्रुबेंसीदेखि क्याङजिनसम्म बाटैभरि पर्यटकको लर्को देख्न सकिन्छ । राजधानी काठमाडौंबाट यात्रा गरेको ५ दिनमा क्याङजिन पुगेर फर्किन सकिन्छ ।


क्याङजिन पुगेपछि रसुवाकै पुरानो क्याङजिन गुम्बा, लाङटाङ ग्लासियर र आँखै अगाडि चारैतिर एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । क्याङजिनमा बास बसेर भोलिपल्ट क्याङजिन री, चेरर्कोरीलगायतका धेरैवटा पिक चढ्न पनि सकिन्छ । ५ हजार मिटर अग्लो चेरर्कोरीबाट एक दर्जन हिमाल देखिने भएकाले क्यान्जिन पुगेका ८५ प्रतिशत पर्यटक त्यहाँ जाने गरेका छन् । भूकम्पपछि सुन्दर पर्यटकीय क्षेत्र लाङटाङका घरहरू पुनर्निर्माणसँगै पुरानै अवस्थामा पुगेको छ । लाङटाङ पदमार्गमा पर्यटक बस्नका लागि सुरक्षित होटल र घर बनिसकेका छन् ।


गोसाइँकुण्ड प्रसिद्ध धार्मिक तीर्थस्थल तथा पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । धार्मिक पर्यटनका हिसाबले गोसाइँकुण्ड स्वदेश तथा विदेशमा समेत प्रख्यात छ । अहिले यो पदमार्गमा विदेशी र नेपाली पर्यटहरूको चहपहल सुरु भएको छ । यस पदमार्गमा नेपाली तथा विदेशी पर्यटहरूको बाक्लो उपस्थिति रहेको छ । गोसाइँकुण्ड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको दुई वर्ष जति भयो चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए ।

प्रकाशित : आश्विन २८, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?