कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चीनसँगका सम्झौता कार्यान्वयनको खाँचो : परिसंघ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । 

आइतबार साँझ परिसंघका अध्यक्ष सतीशकुमार मोरको नेतृत्व मण्डलले प्रधानमन्त्री निवास बालुवाटारको भेटमा आर्थिक तथा औद्योगिक व्यावसायिक क्षेत्रका समस्याबारे आफू गम्भीर रहेको भन्दै समाधान गर्दै जाने विश्वास दिलाए ।


चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसर प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर रहनुपर्ने उल्लेख गरे । परिसंघका अध्यक्ष मोरले चीनका राष्ट्रपति सीको भ्रमण सफल भएकामा बधाई दिएका थिए । भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमा पार सम्पर्क विस्तारमा थप महत्त्व दिएको साथै यसबाट निजी क्षेत्र उत्साही भएकाले त्यसको कार्यान्वयनका लागि तीव्र सक्रियताको खाँचो रहेको बताएका थिए ।


‘कनेन्टिभिटीका ठूला पूर्वाधार तथा व्यापार विस्तारका लागि बनाउने भनिएका संयन्त्रको स्थापनामा हुँदा आर्थिक विकासलाई ठूलो मद्दत पुग्ने भएकाले राष्ट्रपति सीको भ्रमणबाट निजी क्षेत्र उत्साहित भएको छ,’ उनले प्रधानमन्त्रीसँगको भेटमा भने, ‘एकै पटक आएका नयाँ कानुन र नियमनकारी व्यवस्थाले उद्योगी व्यवसायीहरू दबाबमा परेका छन् ।


यसले नयाँ लगानीको वातावरणमा संकुचन सिर्जना भएकाले उद्योगी व्यवसायीलाई पक्राउ गर्ने जस्ता घटनाले व्यावसायिक क्षेत्र हतोत्साहित हुन सक्ने अवस्थामा छन् ।’

कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्र बैंकलगायत सम्बन्धित निकायको सहभागितामा प्रधानमन्त्रीकै मातहतमा उच्चस्तरीय समिति गठन गर्न उनले भेटमा अनुरोध गरेका थिए ।


सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारका विभिन्न निकायमा छिटो–छिटो सरुवा तथा विभागीय फेरबदल हुँदा त्यसको प्रतिकूल असर उद्योग व्यवसायमा पर्ने बताए । ‘वित्तीय क्षेत्रमा तरलता अभाव कम गर्न तथा पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन प्रधानमन्त्रीले थप पहल लिनुपर्ने अवस्था आएको छ,’ उनले थपे ।

प्रकाशित : आश्विन २८, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?