कान्लाभरि स्याउ

हरि गौतम

रुकुम पूर्व — लामो समयको मिहिनेतले फलाएको स्याउले मोहर होइन, दुर्गन्ध बढाएपछि यहाँका किसान दु:खी बनेका छन् । पुथाउत्तरगंगा गाउँपालिका-२, पेल्माका किसानको बारीमा फलेका स्याउले बजार नपाएपछि यस्तो भएको हो । 

कान्लाभरि स्याउ

विगत सिजनको तुलनामा यस सिजनमा पेल्माका हरेक किसानका बारीमा लटरसम्म स्याउ फलेका थिए । तिनै स्याउ बजारसम्म पुर्‍याउन नपाएपछि कुहिएका हुन् । बारीका कान्ला र यत्रतत्र स्याउ छरपस्ट छन् । गाउँले आफैंले स्याउ किन्ने र बेच्ने गर्दैनन् । बजार टाढा छ । गाउँसम्म सडक नजोडिनु नै पेल्माका स्याउ किसानलाई अभिशाप बनेको छ ।


पेल्मामा किसानले फलाएका स्याउ कुहिएकामा स्थानीय, प्रदेश र संघीय सरकार कसैको नजर परेको छैन । हेलिकप्टरबाट स्याउ ढुवानी गरिदिन किसानले गरेको आग्रह प्रदेश ५ सरकारले सुनेको छैन ।


‘म पेल्मा पुगेर फर्कें । स्याउ फलेको सुनेर हेर्न गएको थिएँ,’ पुथाउत्तरगंगा-१ का राजिन घर्ती मगरले भने, ‘सकी नसकी स्याउ फलाएका किसान फलेका स्याउबाट निराश र दु:खी छन् ।’ स्याउ पाकिसकेका कारण आफैं झरिरहेको उनले सुनाए ।


‘बजार छैन, मूल्य छैन, स्याउका रुख फलसहित ढलेका छन्, धेरै फलेका कारण टेको लगाएका स्याउ पनि झरिरहेका, किसान

निरीह छन्,’ घर्तीले भने, ‘किसानको यत्रो मिहिनेत सरकारले नदेख्नु विडम्बना हो ।’ पुथाउत्तरगंगा-१३, पीपलटुङबाट दुई दिन पैदल हिंडेर पेल्मा पुग्नुपर्छ । खच्चडमार्फत ढुवानी गर्दा महँगो हुने र स्याउ कुहिने खतराका कारण किसानले यो जोखिम उठाएका छैनन् ।


‘स्याउ फल्दा थियौं, यत्रो स्याउ फल्यो बजार पुर्‍याउन कसो सरकारले सहयोग नगर्ला भन्ने थियो,’ किसान भोगेराज बुढा मगरले भने, ‘हेर्दाहेर्दै स्याउ कुहिएर सकिन थाले ।’ फलेकामध्ये केही स्याउ बाग्लुङको बुर्तिवाङ पुर्‍याइएको थियो । स्याउ राख्ने कार्टुन नहुँदा ती स्याउ पनि कुहिएर समस्या भयो । अनुदानबापत प्राप्त केही कार्टुन टाठाबाठाले प्रयोग गरेको गुनासो किसानको छ ।


स्याउ किसान लक्ष्मीप्रसाद पुन मगरले किसानको लामो समयदेखिको मिहिनेत खेर गएको बताए । ३० रुपैयाँ प्रतिकिलो र प्रतिदाना ५ रुपैयाँका दरले पनि स्याउ बिक्री नभएको उनले सुनाए । उधारोमै भए पनि स्याउ लैजाउ भन्दा पनि कसैले नलिएको उनको गुनासो छ । सरकारदेखि टाढा रहेको गाउँमा फलेका स्याउ बिक्री नहुँदा किसानले सरकार भएको महसुस नै गर्न नपाएको उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?