१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

किबीले आम्दानी दिन थाल्यो

प्रताप विष्ट

हेटौंडा — सुरु-सुरुमा किबी खेती गर्दा गाउँकाले मात्र होइन, घरकाले पनि उनलाई गाली गर्थ्ये । तर अहिले भने सबैले उनलाई स्याबासी दिन थालेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नपा-६ लीलाखेलका मनोरथ बलामीले किबी खेती गरेर यो वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने अवस्थामा पुगेका छन् । 

किबीले आम्दानी दिन थाल्यो

काठमाडौंमा उनले अहिले होलसेलमा किबी प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । मनोरथले १३ वर्षअघिदेखि किबी खेती गर्न सुरु गरेका थिए ।


पहिलो वर्षमा १५ वटा बिरुवा रोपेर सुरु गरेको मनोरथसँग अहिले १ सय ८० वटा किबीका रुखहरू छन् । तीमध्ये २० वटा भाले जातका किबीका बोट छन् । ती सबैले उत्पादन दिन थालिसकेका छन् । ‘सुरु-सुरुमा बजारको पनि समस्या थियो,’ बलामीले भने, ‘अहिले समस्या छैन, काठमाडौं लगेपछि बिक्री भइहाल्छ ।’ स्थानीय महोत्सवहरूमा पनि बलामीले किबी बिक्रीका लागि राख्ने गरेका छन् । आकर्षक ढंगले प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् ।


बलामीले काभ्रेबाट बिरुवा ल्याएर रोपेका हुन् । एउटा बिरुवाको मूल्य ३ सय रुपैयाँ परेको थियो । बलामीको करिब ७ रोपनी जमिन किबीको बोटले ढाकेको छ । किबी खेती बज्रबाराहीमा बलामीले मात्र गरेका छैनन् । करिब ६० परिवारले गरेका छन् ।


विगत १४ वर्षदेखि थाहा नपा ६ बज्रबाराहीका फणिन्द्र सुवेदीले पनि किबी खेती गरेका छन् । उनीसँग चार सयवटा वटा किबीको बोट छन् । तीमध्ये २ सय वटाले उत्पादन गर्न थालेका छन् । उनले यो वर्ष करिब १२ लाख रुपैयाँको किबी बिक्री गर्ने अनुमान गरेका छन् ।


‘अव धमाधम किबी टिपेर बिक्री गर्ने अवस्थामा भइसकेको छ,’ कृषक फणिन्द्रले भने, ‘गत वर्षको भन्दा यो वर्ष राम्रोसँग फलेको छ ।’ उनले करिब ६ हजार केजी किबी उत्पादन हुने अनुमान गरेका छन् । किबी खेतीका लागि सुवेदी पनि अगुवा कृषक हुन । ‘व्यवस्थितसँग कृषक सुवेदी र बलामीले किबी खेती गरेका छन्,’ थाहा नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जय तिवारीले भने, ‘बज्रबाराही किबी खेतीका लागि पकेट क्षेत्र जस्तो भइसकेको छ ।’


बलामी र सुवेदीलाई मृग र मलसाप्रोबाट किबीको फल जोगाउन मुस्किल परेको छ । मृग र मलसाप्रोले किबीको फल खान रुचाउँछ । सुवेदीले २० रोपनी जग्गामा किबी खेती गरेका छन् । किबी खेतीमा प्रांगारिक मल मात्र प्रयोग गरिन्छ । रासायनिक मल र विषादी प्रयोग नगरिने सुवेदीले बताए ।


बलामी र सुवेदीले सुरुमा किबी खेती गर्न काभ्रे र गोदावरीबाट किबीका बिरुवा खरिद गरेर ल्याएका थिए । सुवेदीले किबीको नर्सरी आफैंले राखेका छन् । किबीको बेर्ना खरिद गर्न इलाम, संखुवासभालगायत विभिन्न स्थानबाट आउने गरेका छन् । किबीको एउटा बेर्ना तीन सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।


मकवानपुर उद्योग वाणिज्य संघको एक गाउँ, एक उत्पादनअन्तर्गत बज्रबाराही किबी खेतीका लागि छनोट परेको थियो । थाहा नपाका करिब ६० जना कृषकले २० देखि चार सयवटा किबीको बिरुवा लगाएर उत्पादन गर्न थालेका हुन । बज्रबाराही र नामटारमा किबी खेतीका लागि उपयुक्त हावापानी भए पनि नामटास्थित अघोरका एक कृषकले मात्र किबी खेती गरेका छन् ।


सुरुमा यस क्षेत्रमा उत्पादन गरिएका किबीको मकवानपुर उद्योग वाणिज्य संघले बजारीकरण गर्न सहयोग गरेको थियो । थाहा नपा-६ बज्रबाराहीमा यो वर्ष करिब २० टन किबी उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएका अधिकांश किबी काठमाडौंमा बिक्री हुने गर्छ । थोरै भए पनि अहिले स्थानीयबासीले पनि किबी खान थालेका छन् बलामीले भने ।


थाहा नपाको बज्रबाराही किबी गाउँको रूपमा परिणत हुँदै छ । ८ सय मिटरदेखि २० हजार मिटरसम्मको उचाइमा किबी खेती फस्टाउँछ । किबी खेतीका लागि मकवानपुरको उत्तरी क्षेत्र हावापानी उपयुक्त रहेको कृषि शाखा प्रमुख तिवारीले बताए । जिल्लाको उत्तरी क्षेत्र ८ हजारभन्दा बढी किबीका लागि बोट छन् । तर उत्पादन थोरैले मात्र दिने गरेका छन् उनले भने ।

प्रकाशित : आश्विन २७, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?