२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

रारामा भरिभराउ

राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटकको आगमन बढेसँगै रमझम सुरु भएको छ । दसैं बिदाको सदुपयोग गर्दै आएका आन्तरिक पर्यटकले रारा क्षेत्रका होटल र होमस्टे भरिभराउ छन् ।

रारामा भरिभराउ

समुद्र सतहदेखि दुई हजार ९ सय २९ मिटर उचाइमा रारामा असोजपछि घुम्नका लागि उपयुक्त मानिन्छ । रारामा आन्तरिक पर्यटकको भीड बढिरहेको रारा राष्ट्रिय निकुञ्जका अधिकृत लालबहादुर भण्डारीले बताए । उनका अनुसार दैनिक दुई सय ५० बढी पर्यटक रारा आसपासका होटल र होमस्टेमा बास बस्दै आएका छन् । रारा ताल छेउकै डाँफे गेस्ट हाउसको १४ कोठा र २७ टेन्ट तथा भिलेज हेरिटेज रिसोर्टका १२ कोठा र ७० टेन्ट आन्तरिक पर्यटकले भरिएका छन् । माँझघट्टस्थित होमस्टेमा पनि पर्यटकको चाप बढिरहेको छ । होमस्टेले समेत टेन्टको व्यवस्था गरिएको जनाएको छ ।


आन्तरिक पर्यटकहरू बिहान सबेरैदेखि राति अबेरसम्म रारामा रमाउने गरेको संरक्षण अधिकृत भण्डारीले बताए । होटल तथा होमस्टेले पर्यटकका लागि नाचगान र क्याम्प फायरको व्यवस्था गरेका छन् । रातिको १० बजेसम्म ताल वरिपरि पर्यटक रमाउने गरेका छन् । राति तालमा चन्द्रमाको छाया, बिहानको सूर्योदय र साँझको सूर्यास्त हेर्न पर्यटक लालायित हुने गरेका छन् ।


आन्तरिक पर्यटकको भीडले बसाइ र खानाको व्यवस्थापन गर्न हम्मेहम्मे हुन थालेको डाँफे गेस्ट हाउसका प्रबन्धक बली शाहीले बताए । उनका अनुसार पर्यटकको संख्या बढ्दै गएपछि चौरमा टेन्ट टाँगेर पर्यटक बस्ने व्यवस्था मिलाइएको छ । रारा क्षेत्रमा बास पाइन छाडेपछि केही पर्यटक गमगढी, ताल्चालगायत स्थानका होटलमा जान थालेका छन् ।


एक्कासि आन्तरिक पर्यटकको चाप बढेपछि व्यवस्थापनमा समस्या भइरहेको भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतले बताए । उनका अनुसार दसैं सुरु भएदेखि पर्यटक खचाखच भएका हुन् । उनका अनुसार एक रातका लागि कोठाको एक हजार पाँच सय, सानो टेन्टको सात सय र ठूलो टेन्टका लागि एक हजार पाँच सय रुपैयाँ भाडा लिइने गरिएको छ । उनले पर्यटकलाई दुई सय ५० रुपैयाँमा खाना खुवाइरहेको जानकारी दिए ।


खस भाषाको उद्गमस्थल जुम्लाको सिँजा क्षेत्रमा पनि पर्यटकको संख्या बढ्दै गएको छ । रारा आउने बाटोमा पर्ने भएकाले अधिकांश आन्तरिक पर्यटक सिँजा पुग्ने गरेका हुन् । पर्यटक बढेपछि तारा, गोमा र सीता एयरलाइन्सले उडान थपेको रारा विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार निजी एयरलाइन्सले दैनिक सातवटासम्म उडान भरिरहेका छन् ।


पर्यटक बढेपछि हवाई टिकट पाउन मुस्किल भएको स्थानीय यात्रुको गुनासो छ । सडक मार्गबाट समेत निजी सवारी साधनमा रारा आउने पर्यटक बढ्दै गएका छन् । भ्रमण वर्ष-२०२० लाई लक्षित गरी रारा क्षेत्रमा विभिन्न पूर्वाधार विकास गर्न लागिएको भ्रमण वर्ष तयारी समिति, कर्णाली प्रदेश संयोजक राजु कार्कीले बताए । उनले पूर्वाधार विकासका लागि प्रदेश र संघीय सरकार तथा उद्योगी व्यवसायीसँग छलफल चलिरहेको जानकारी दिए ।


बढेनन् विदेशी पर्यटक

रारा आउने आन्तरिक पर्यटकको चाप बढे पनि विदेशी पर्यटकको संख्या भने न्यून छ । वर्षमा मुस्किलले दुई सय पर्यटक मात्र रारा घुम्न आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।


रारामा स्तरीय होटल र अन्य पूर्वाधार नहुँदा विदेशी पर्यटकको आकर्षण कम भएको हो । फाट्टफुट्ट रारामा आउने पर्यटक चौरमा टेन्ट राखेर बस्न बाध्य छन् । रारा तालमा विदेशी नागरिकलाई डुंगा चढ्ने अनुमति छैन । निकुञ्जका संरक्षण अधिकृत भण्डारीले पूर्वाधार विकास हुन सके रारा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने बताए ।

प्रकाशित : आश्विन २७, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?