२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पञ्चकोटमा बढ्दै पर्यटक

प्रकाश बराल

बागलुङ — यहाँको पञ्चकोटमा दैनिक सयौं पर्यटक आउन थालेका छन् । विश्वकै अग्लो कलशसहितका धार्मिक संरचना बनाउन लागिएकाले पर्यटक बढेका हुन् ।

पञ्चकोट सदरमुकाम बागलुङ बजारदेखि ७ किमि पश्चिममा पर्छ । यहाँ गण्डकी मन्दिर, गरुणशिला, हनुमानको मूर्ति, सभाहल, सिसमहललगायत आकर्षक संरचना बनिसकेका छन् । झन्डै २ अर्ब खर्च अनुमान गरिएको पञ्चकोटको बृहत् पूर्वाधार निर्माणमा पछिल्लो ५ वर्षदेखि महायज्ञ लगाएर स्थानीयले चढाएको दानमुठी र चन्दाबाट झन्डै ५० करोड रुपैयाँ खर्च भइसकेको छ । यहाँ बन्ने कलश झन्डै १३ तलाको घर बराबरको हुने गरी डीपीआर बनाइएको छ । बाहिरी स्वरूप कलशजस्तै भए पनि भित्री खण्डमा १६ कोठा बन्नेछन् । ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुनेछन् ।


पञ्चकोट पर्यटन परिषद्ले २७ महिनाभित्र कलश तयार गर्ने र अन्य बाँकी संरचना पनि बनाउने गरी काम थालेको छ । निजी क्षेत्रलाई कामको जिम्मा दिएर अगाडि बढ्ने निर्णय भएको परिषद्का अध्यक्ष कमलनयन आचार्यले बताए । ‘मोनोरेल बनाउने, त्यसमा स्थानीयको सेयर राख्ने र अपनत्व लिने व्यवस्था गर्ने निर्णय भएको छ,’ उनले भने, ‘पञ्चकोटसहितका यहाँका अन्य क्षेत्रको पनि विकासमा राज्यको लगानी आउनुपर्छ ।’ हाल यहाँ दैनिक ५ सयदेखि एक हजार जनासम्म घुम्न आउन थालेका छन् ।


पञ्चकोट पुग्ने सडक निर्माणाधीन भएकाले सहज भएपछि पर्यटक अझै बढ्ने महासचिव रामजीप्रसाद शर्माले बताए । ‘अब हामीले धार्मिक र मनोरम दृश्य हेर्ने पर्यटक भित्र्याउने योजना बनाएका छौं,’ शर्माले भने, ‘लगानीका लागि शीर्ष नेतृत्वले संकल्प गरेकोले सरकारी बजेट आउनुपर्छ ।’ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित सबै दलका शीर्ष नेता र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आएर २०७१ फागुनमा धार्मिक गन्तव्य बनाउन लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।


बागलुङ नगरपालिकाको अगुवाइमा केबलकार बनाउने तयारीसमेत छ । चीनको ‘बेइजिङ गुड्यु रोपवे इन्जिनियरिङ कम्पनीले प्रारम्भिक अध्ययन गरेर केबलकार बनाउन सकिने प्रतिवेदन दिइसकेको छ । ‘भौतिक र धार्मिक महत्त्वको हिसाबले यो केबलकार बनाएमा स्थानीयलाई नै फाइदा पुग्छ,’ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रुआन बीआईओले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘ठूला कम्पनीलाई लगानी गर्न लगाउनुभन्दा स्थानीयकै लगानी भएमा दिगो र नाफा गाउँमै रहन्छ ।’


केबलकार साढे २ किमि लामो हुनेछ । योजना पूरा गर्न कम्तीमा ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एक सय ८ फिट अग्लो कलशसहित धार्मिक गन्तव्य निर्माण गर्न लागिएको पञ्चकोटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएकाले केबलकार परियोजना थप सहयोगी बन्ने नगरप्रमुख जनकराज पौडेलले बताए ।


धार्मिकसभामा कालीगण्डकी डाइभर्सनको विरोध

पञ्चकोटमा सञ्चालित एक धार्मिक सभामा कालीगण्डकी डाइभर्सन गर्न नदिने निर्णय भएको छ । पञ्चकोटमा आयोजित सभामा कालीगण्डकी डाइभर्सनले महत्त्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्यहरूको अस्तित्व लोप हुने भएकाले विरोध गर्नुपरेको अगुवाले बताए ।


केही समययता चर्चामा आएको कालीगण्डकी डाइभर्सनका लागि सरकराले खर्चने रकमबाट तिनाउ खोलामै ड्याम बनाएर पनि पानी संग्रह गर्न पञ्चकोट धार्मिक परिषद्का अध्यक्ष कमलनयन आचार्यले सुझाए ।

प्रकाशित : आश्विन २७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?