१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तिब्बतको रिउस्थित व्यापार केन्द्र खुल्दै

आनन्द गौतम

ताप्लेजुङ — तिब्बतको रिउस्थित घुम्तीमा बनाइएको व्यापारिक केन्द्रको असोज २९ गते उद्घाटन हुने भएको छ । यसका लागि तिब्बतसँग सिमाना जोडिएका ताप्लेजुङ र संखुवासभाका जनप्रतिनिधि तथा प्रशासन प्रमुखलाई बोलाइएको छ । समन्वयको जिम्मेवारी भने तिब्बतसँगको सीमावर्ती नेपालका स्थानीय तहलाई दिइएको छ । 

ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांका नाकालाई लक्ष्य गरी तिब्बतले व्यापारिक केन्द्र बनाएको हो । दुवै नाकालाई पायक पर्ने घुम्ती भन्ने स्थानमा बनाइएको केन्द्रको नेपालका दुवै जिल्लाका उद्योगी, व्यापारी, सीमावर्ती क्षेत्रका जनप्रतिनिधि लगायतलाई यसअघि नै भ्रमण गराइसकेको छ ।


तिब्बतले त्यहाँ बसेर व्यापार गर्न पनि नेपालीलाई प्रस्ताव गरेको छ । तिब्बतसँग जोडिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङका अनुसार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी जिल्ला प्रमुखलाई उद्घाटनमा निम्त्याइएको छ ।


सीमावर्ती ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांकाका नेपाली व्यापारी भने तिब्बत पुगिसकेका छन् । उनीहरू नेपालको व्यापारका लागि आवश्यक सामग्री लिएर गएको ओलाङचुङगोला निवासी फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले बताए । ओलाङचुङगोलाका व्यवसायीलाई लिन तिब्बतले सानो गाडी (ट्याक्सी) गोलासम्मै पठाएको थियो । नेपालको गलैंचा, छुर्पी, घिउ लगायतका वस्तु लिएर गएको तेञ्जिङ वालुङले बताए ।


प्रवक्ता वालुङका अनुसार यत्ति नै भनेर तोकिएको छैन तर इच्छुक नेपालीका लागि आवासीय सुविधा सहितको व्यापारिक भवन उपलब्ध गराइने छ । यहाँ करिब दुई सय घर निर्माण गरिएको छ । नेपालसँगको व्यापारकै लागि केन्द्र बनाइएको त्यहाँका जनसरकार प्रमुखले बताएको वाणिज्य संघ ताप्लेजुङका द्वितीय उपाध्यक्ष दावा शेर्पाले बताए ।


एक महिनाअघि तिब्बतकै निमन्त्रणामा गएर फर्किएका दावाले भने, ‘त्यहाँका सरकार प्रमुखले नेपालबाट आएर यहीं बसेर व्यापार गर्नेका लागि तीन वर्षसम्म भाडा नलिने र खानेबस्ने व्यवस्थासम्मको प्रस्ताव गरेका छन् ।’ उनका अनुसार पहिलो चरणमा एक जिल्लाका लागि दुई/दुईवटा भवन दिने र त्यसलाई थप गर्न सकिने तिब्बती अधिकारीले बताएका थिए ।


निर्माणाधीन व्यापारिक केन्द्रमा पुग्न टिप्ताला भन्ज्याङ र किमाथांकाबाट समान ३५ किलोमिटर छ । नेपाल र चीनको ताप्लेजुङतर्फको सिमाना टिप्ताला भन्ज्याङ र संखुवासभा र चीनको सिमाना किमाथांका हो । चीनले नेपालसँगका यी दुवै नाकासम्म सडक विस्तार गरिसकेको छ ।


टिप्ताला भन्ज्याङबाट ओलाङचुङगोला बस्तीसम्म २४ किलोमिटर सडक पनि बिस्तार भएको छ भने किमाथांकाबाट संखुवासभातर्फ पनि १३ किलोमिटर सडक खनिएको छ । दुवै जिल्लाको सदरमुकामसँग भने सडक जोडिन बाँकी छ । टिप्ताला भन्ज्याङवाट ताप्लेजुङ सदरमुकाम फुङलिङसँग जोडिन २१ किलोमिटर ट्र्याक खोल्न बाँकी छ ।


संखुवासभाको किमाथांकाबाट सदरमुकाम खाँदबारी जोडिन १४ किलोमिटर बाँकी छ । यी दुवै जिल्लाको सीमावर्ती क्षेत्रका बासिन्दाले यसअघि रिउ बजारमा कारोबार गर्दै आएका थिए । चौंरी, याकलाई बोकाएर र मान्छेले बोकेर सामान आयात तथा निर्यात हुँदै आएको छ । चीनले नेपालका पूर्वका दुवै नाकालाई लक्षित गरेर व्यापारिक केन्द्र बनाएको हो ।

प्रकाशित : आश्विन २७, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?