पर्यटकले ढाकियो अन्नपूर्ण पदमार्ग

आश गुरुङ

(लमजुङ) — एक महिनाअघि सुनसान देखिएको चक्रीय अन्नपूर्ण पदमार्गमा अहिले पर्यटकको लस्कर देखिन थालेको छ । अघिल्लो महिना दैनिक १५ देखि २० जनासम्म पर्यटक हिँड्ने पदमार्गमा अहिले दैनिक २ सय पर्यटक हिँड्न थालेका छन् ।

बेंसीसहरबाट सुरु हुने चक्रीय पदमार्गको बाटो हुँदै पर्यटक लमजुङको उत्तरी क्षेत्र, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत भएर पोखरा पुग्ने गर्छन् । पदमार्गमा पर्ने संसारकै अग्लो पदमार्ग भञ्ज्याङ थोराङला (५,४१६ मि. उचाइ) र तिलिचो (४९१९ मि.) पर्यटकको प्रमुख गन्तव्य हो ।


पर्यटक बढेसँगै व्यवसायीमा उत्साह थपेको छ । ‘एक महिनाअघि होटल प्राय: खाली नै हुन्थ्यो । अहिले दिनहुँ पर्यटक आउन थालेका छन् । हुलका हुल देखिएका छन्,’ माथिल्लो मनाङमा होटल तिलिचो सञ्चालन गर्दै आएका कर्मा गुरुङले भने, ‘पानी अलिअलि परिरहे पनि पर्यटकीय सिजन सुरु भएको छ । पानीले पर्यटकलाई छेकेको छैन ।’


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ अन्तर्गत पर्यटक चेकजाँच केन्द्र भ्राका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार दैनिक डेढ सय पर्यटक माथिल्लो क्षेत्र आउने गरेका छन् । ‘पदमार्ग भरिभराउ हुन थालेको छ । मौसममा सुधार आए अब दसैंतिहारको बीचतिर पर्यटक बढ्ने छन्,’ उनले भने, ‘दसैंतिहारको बीच समय स्वदेशी पर्यटक पनि निकै आउँछन् ।’ उनका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक थोराङला पास र तिलिचो जान्छन् । केही मात्रै मनाङ क्षेत्रमा बिताउँछन् । पछिल्लो समय तिलिचोतर्फ पर्यटक आकर्षित भएको उनले बताए ।


पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा मार्च, अप्रिल र मे महिनालाई सिजन मानिन्छ ।


(एक्याप) अन्तर्गत मनाङको तल्लो क्षेत्र धारापानीस्थित पर्यटक चेकपोस्टका पर्यटन सहायक सोमी गुरुङका अनुसार दैनिक २ सयसम्म अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक आउने गरेका छन् । उनका अनुसार जुलाईमा ३ सय ७८ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका थिए । अगष्टमा ४ सय ७६ पर्यटक आएकोमा सेप्टेम्बरमा मात्रै २ हजार ७ सय २१ पर्यटक आएको उनले बताए । सन २०१९ को ९ महिनामा १४ हजार ६ सय २५ विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएका छन् । जनवरीमा ४ सय ७२, फेब्रअरीमा ५ सय १४, मार्चमा २ हजार ५ सय ९५, अप्रिलमा ५ हजार ९५, मेमा १ हजार ९ सय २८ र जुनमा ४ सय ४६ पर्यटक आएको उनले बताए ।


एक्यापका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा सन २०१८ मा २९ हजार ४ सय ८० पर्यटक आएका थिए । सन् २०१७ मा २७ हजार ६८ जना पर्यटक आएका थिए । सन् २०१६ मा २२ हजार १ सय ८ पर्यटक पदमार्ग घुम्न आएका थिए । एक्याप मनाङका पर्यटन सहायक बृजबहादुर गुरुङका अनुसार पछिल्लो वर्ष चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटक बढेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति, चक्रीय अन्नपूर्ण पदमार्गको प्रचारप्रसार, यहाँका प्राकृतिक तथा सांस्कृतिक स्वाद लगायतले पर्यटकको आकर्षण बढ्दो छ । सडक स्तरोन्नति हुँदै गएका कारणले पनि सवारी साधनमार्फत पर्यटक आउने गरेका छन् । चक्रीय अन्नपूर्ण पदमार्गलाई अहिले विश्वको उत्कृष्ट १० सूचीमा छैन । ५ वर्षअघि हिमाली फेदसम्म सडक पुगेपछि उत्कृष्ट १० को सूचीबाट हटेको हो । तर, पर्यटक आगमन भने बढेको छ । पदमार्गमा आउने पर्यटक प्राय: हिँड्न मनपराउँछन् भने केही पर्यटक बेंसीसहरबाट सिधै मनाङ पुग्छन् । चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा २१ दिनको हो । पदमार्गको मुस्ताङ र मनाङका हिमाल फेदसम्मै गाडी गुडन थालेपछि यात्रा छोटिएर एक सातादेखि १० दिन्न झरेको छ ।


प्रकाशित : आश्विन २६, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?