कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नयाँ प्रविधिले बढ्यो उत्पादन

सुम्निमा चाम्लिङ

(इटहरी) — बराहक्षेत्र–९ प्रकाशपुर ढोलबजियाका छविलाल चौधरी, रघुवीर चन्द्रवंशी र अमिर निरौला कृषि पेसामा रमाउन थालेको डेढ वर्ष भयो । कृषि पेसा अंगाल्नुअघि चौधरी अफगानिस्तानमा, चन्द्रवंशी र निरौला भने रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका थिए । वैदेशिक रोजगारको क्रममा आर्थीक रूपमा राम्रो आम्दानी भए पनि स्वदेशमा केही गर्ने चाहना भने भने अधुरो थियो । 

विदेशमा रहँदा उनीहरूबीच सामाजिक सञ्जालमार्फत तरकारी खेती गर्ने योजना बन्यो । विदेशबाट फर्किएलगत्तै छविलालको जमिन करारमा लिएर तरकारी खेतीको सोच बनाए । उनीहरूले १ बिघा ८ कट्ठामा ‘टनेल’ बनाएर तरकारी खेती गर्दै आएका छन् । ६ लाख रुपैयाँ लगानीबाट खेती सुरु गरेका हुन् । हाल उनीहरूको दैनिकी फर्ममा बित्ने गरेको छ ।


बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण कम हुने भएकाले टनेल बनाएर तरकारी खेती गर्दै आएको छविलाल चौधरीले बताए । बेमौसमी तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी हुने भएकाले टनेलको प्रयोग गरेको उनको भनाइ छ । टनेलभित्र खुर्सानी, बोडी, साग, करेला, परवल लगायतका तरकारी लगाइएको छ । खुला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनी बताउँछन् ।


रघुवीर र अमिर कोरियामा रहँदा बिदाको समयमा कृषि फार्म पुग्ने गर्थे । त्यहाँको आधुनिक प्रविधिद्वारा गरिएको कृषि फार्म देख्दा उनीहरूलाई नेपालमा समेत गर्न सकिन्छ भन्ने सोच थियो । रघुवीरले भने, ‘विदेशमा प्रविधिबाट खेती भइरहँदा नेपालमा भने परम्परागत रूपमा खेती हुँदा निकै दु:ख लाग्थ्यो ।’ छविलालको सामान्य तरकारी खेतीको अनुभवलाई आधार मानेर निरौला र चन्दवंशीले ‘सुन्दर कृषि फर्म’ सुरु गरे ।


गत वर्ष उनीहरूले २० लाखको कारोबार गर्न सफल भएका छन् । तरकारी खेतीबाट हाल मासिक १ लाख रुपैयाँ कमाइ हुने गरेको छ । तीन जनालाई रोजगारी प्रदान गरेका छन् । ‘बिरुवा उमार्न र तापक्रम मिलाउन नसक्दा सुरुवाती दिनमा घाटा सहन पर्‍यो,’ अमिरले भने, ‘अहिले एक वर्षको अनुभवले धेरै कुरा सिकाएको छ ।’ बिरुवामा लाग्ने किराहरूको बारेमा समेत सचेत हुनुपर्ने उनको भनाइ छ ।


अत्यधिक नोक्सानी भएपछि भने उनीहरूले जेटिएको परामर्श लिन थालेका छन् । तरकारी खेतीमा मौसम मुख्य चुनौती हुने गरेको छ । समयानुसार तरकारी उत्पादन गर्न सफल भए राम्रो मुनाफा आर्जन गर्न सकिने अमिर निरौला बताउछन् । अर्गानिक तरकारी खेतीमा उनीहरूको प्रयास छ । जैविक मलको प्रयोग बढी गर्ने गरेका छन् । विसादी रहित तरकारी खुवाउने उनीहरूको योजना छ ।


‘नगरवासीलाई सकेसम्म अर्गानिक तरकारी खुवाउने प्रयास गरेका छौं,’ रघुवीरले भने । हाल उनिहरूले सुनसरीभित्र तरकारी निर्यात गर्दै आएका छन् । माग अनुसार उत्पादन गर्न नसकेको उनले बताए । ‘उत्पादन गरिएको तरकारीका लागि बजारको समस्या छैन,’ उनले भने । यस वर्ष आलु खेती विस्तार गर्ने योजना छ ।


उनीहरूको कामको मूल्यांकन स्वरुप बराहक्षेत्र नगरपालिकाले जेटिए परामर्श व्यवस्था गरिदिएको छ । नगरले गन वर्ष विषादिरहित तरकारी उत्पादनसम्बन्धी तालिम प्रदान गरेको थियो । तालिमपछि विषादिरहित तरकारी उत्पादन गर्नमा थप ज्ञान मिलेको छ । नेपालमा वार्षिक खर्बौं तरकारी आयात हुने गरेको अवस्था छ । यस्तो अवस्थामा केही प्रतिशत भए पनि आयात रोक्ने उनीहरूको लक्ष्य छ । घरमा खानका लागि मात्र तरकारी रोप्ने किसानहरू हाल व्यावसायिक रूपमा अघि बढेका छन् । परिवार सँगै स्वदेशको माटोमा रमाउन पाउँदा उनिहरू गर्व गर्छन् ।


प्रकाशित : आश्विन २६, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?