कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रामेछाप विमानस्थलमा लुक्लाका लागि चाप

टीकाप्रसाद भट्ट

काठमाडौँ — प्राय: सुनसान हुने रामेछाप विमानस्थलमा हिजोआज बिहान ६ बज्न नपाउँदै जहाजको चर्को आवाज सुनिन्छ । लुक्ला उडानका लागि साना जहाज चर्को आवाज निकालेर अकासिन्छन् । काठमाडौं विमानस्थलकै झल्को दिने गरी एकपछि अर्को लस्करै जहाज उड्दा धेरै स्थानीयले ओछ्यान छोडिसकेकै हुँदैनन् । 

रामेछाप विमानस्थलमा लुक्लाका लागि चाप

लुक्ला जाने पर्यटकका लागि यो मुख्य सिजन हो । सगरमाथा आधार शिविरका लागि पदमार्ग र हिमाल आरोहण गर्नका लागि एक मात्र प्रवेश मार्ग लुक्ला जानका लागि ओइरिएका विदेशी पर्यटकलाई चाँडोभन्दा चाँडो उडाउन विमान कम्पनीका कर्मचारीलाई भ्याइनभ्याई छ । एउटा जहाज उडान गर्न नपाउँदै अर्को अवतरण गर्दा विमानस्थलको व्यवस्तता सहजै बुझ्न सकिन्छ । उडान र अवतरण गरी दैनिक सरदर ७० पटक विमानस्थल प्रयोग भएको रामेछाप नागरिक उड्डयन कार्यालयका एटीसी नोर्बु शेर्पाले बताए ।


असोज १४ गतेदेखि रामेछाप विमानस्थलमै जहाज राखेर ३ वटा निजी वायु सेवा कम्पनीले लुक्लाको उडान थालेका हुन् । तारा, समिट र सीता एयरले रामेछापबाट लुक्लाका लागि यात्रु बोक्छन् । यो सिजनमा लुक्ला जाने पर्यटक खचाखच छन् भने फर्कने न्यून छन् । थोरै अवधिका लागि पदमार्गमा जाने पर्यटक अब फर्कने बेला भएकाले लुक्काबाट फर्कंदा पनि विमानले केही पर्यटक पाउँछन् । लुक्लाबाट सिधै काठमाडौं जाने केही उडानसमेत छन् । लुक्लाको मौसम बिग्रेर जहाज उड्न नसक्दा हेलिकप्टरको उडानसमेत हुने गर्छ । सके लुक्ला नसके नजिकैको सुर्केमा लगेर हेलिकप्टरले यात्रु झार्ने गर्छन् ।


काठमाडौं विमानस्थलबाट लुक्ला उडान र अवतरणका लागि पालो कुर्नुपर्ने भएकाले पर्यटकलाई निर्धारित समयमा ओसार्न विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट धेरै सेवा सञ्चालनमा ल्याएका छन् । रामेछापबाट लुक्ला जानका लागि काठमाडौंभन्दा आधा समय कम हुने, उडान र अवतरणका लागि पालो कुर्नु नपर्ने र मौसममा आउने फेरबदलमा समेत उडान भ्याउने कारण लुक्ला उडानका लागि रामेछाप आकर्षणमा परेको हो । जाडो मौसममा काठमाडौं विमानस्थलमा हुस्सुले ढाक्दा लुक्ला खुलेको हुने र बिहान अबेर काठमाडौं खुल्दा लुक्लामा बादलले छोपिसक्ने भएकाले पनि निर्धारित उडान हुन सक्दैनन् । त्यसका लागि रामेछाप विमानस्थलबाट उडान गर्नु उत्तम विकल्प हो ।


विमान चढनका लागि टिकट काटेका पर्यटकलाई काठमाडौंबाट गाडीमा रामेछापसम्म ल्याउने गरिएको छ । विभिन्न ट्राभल एजेन्सी र होटलहरूले पर्यटकलाई हाइस र मिनी बसमा रामेछापसम्म ल्याउँछन् । काठमाडौंबाट बीपी राजमार्ग हुँदै रामेछाप पुग्न करिब ४ घण्टा लाग्छ । सडक मार्गबाट आएका पर्यटक सिधै विमानस्थल पुग्छन् र लुक्लाको उडान समाउँछन् । केही यात्रु मुलकोट, खुर्कोट मन्थली बसेर जाने पनि छन् । त्यसबाहेक विमानस्थल नजिकै रहेको मन्थली बजारका होटल तथा लजमा बस्ने पर्यटक पनि उत्तिकै छन् । लुक्लाको मौसम बिग्रेर निर्धारित समयमा उडान भएन भने मन्थलीमा पर्यटकले बास पाउन मुस्किल हुन्छ । सामान्य खाना खुवाउने होटलमा बास बसेर भोलिपल्टको उडानमा उनीहरू जाने गरेका छन् । विमान चालक, कर्मचारी र ट्राभल एजेन्सीका कर्मचारीले मन्थलीका केही होटल लामो समयसम्मका लागि बुकिङ गरेकाले एक रातका लागि हम्मेसी होटल पाउन सकिँदैन ।


स्थानीय वीरेन्द्र श्रेष्ठका अनुसार विमानस्थल सञ्चालनमा आएपछि आसपासको व्यापार व्यवसाय चम्केको छ । पर्यटकहरूले खाना र खाजा खाँदा मात्र विमानस्थल वरिपरिको व्यापार राम्रो भएको छ । यातायात, होटल र लजले राम्रो कमाएका छन् । रामेछापबाट लुक्लाका लागि तयारी मासु, तरकारी, बिस्कुट, चाउचाउजस्ता तयारी खानासमेत उल्लेख्य मात्रामा जान थालेको छ ।


काठमाडौंभन्दा पूर्वतर्फको सबैभन्दा नजिकको विमानस्थल रामेछापलाई विस्तार गरी आन्तरिक उडान गर्ने योजना सरकारले अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले अघि सारेका वार्षिक योजनामा उक्त बुँदा उल्लेख छ । हाल १९ जना अट्ने साना जहाज मात्र अवतरण गर्ने विमास्थललाई क्षेत्र विस्तार गरेर पूर्वतर्फका सबै आन्तरिक उडान रामेछापबाटै गर्ने योजना सरकारले अघिसारेको हो ।


जिल्लाको विमानस्थलमा दैनिक ७० उडान र अवतरण हुँदा पनि रामेछापेलीले हवाई सेवाबाट वञ्चित हुनुपरेको छ । रामेछाप–काठमाडौंका लागि सातामा कम्तीमा एउटा उडान राख्न विमान कम्पनीहरूलाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयले गरेको आग्रहप्रति बेवास्ता गरिएको छ ।


रामेछापबाट काठमाडौंका लागि यात्रु थोरै हुने तर्क गर्दै कम्पनीहरूले रामेछापेलीलाई हवाई सेवा उपलब्ध गराएका छैनन् । ‘हामीलाई विमानस्थल चले र नचलेको केही चासो छैन,’ स्थानीय गणेशबहादुर माझी भन्छन्, ‘विमान चढेर काठमाडौं आउजाउ गर्न पाइयो भने बल्ल यसको महत्त्व होला ।’ रामेछाप–काठमाडौं सातामा एक उडान गर्दै आएको तारा एयरले कालोपत्रेका लागि विमानस्थल बन्द भएको बेलादेखि फेरि उडान थालेको छैन । विमानस्थल कालोपत्रे भएको ४ वर्ष पूरा भइसकेको छ ।

प्रकाशित : आश्विन २६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?