कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गरिमा धान बीउले किसानलाई धोका, फौजी कीराको दु:ख थपियो 

अघिल्ला वर्षहरुमा फलेर काट्ने बेला हुने समयमा यो वर्ष धान पसाएको समेत छैन । भारतीय हाइब्रिड जातको गरिमा धानको बीउ बेच्नेलाई कारबाही र पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग किसानहरुको छ । सरकारी निकायले केही समय धैर्य गर्न अपिल गरेको छ ।
रमेशकुमार पौडेल

(चितवन) — चाँडै पाक्ने र धेरै फल्ने आशामा गरिमा नामको भारतीय हाइब्रिड जातको धान रोपेका चितवनका किसानहरू यो वर्ष नराम्ररी ठगिए । बोट राम्रो भए पनि अघिल्ला वर्षहरूमा फलेर काट्ने बेला हुने समयमा यो वर्ष धान पसाएको समेत छैन । गलत बीउ बेच्नेलाई कारबाही र पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग किसानको छ । तर सरकारी निकायले केही समय धैर्य गर्न किसानलाई अपिल गरेको छ ।

सरकारी निकाय कृषि ज्ञान केन्द्र भरतपुरले असोज १६ मा प्रेस विज्ञप्ति निकालेर धानमा बाला नलागेको विषयमा विचार गर्न १५/२० दिन लाग्ने जानकारी गराएको थियो । केन्द्रका प्रमुख राजन ढकालले निकालेको प्रेस विज्ञप्तिमा केही स्थानहरूमा बाला लाग्ने लक्षणहरू देखिएको उल्लेख छ । ‘बाला लागेमा धान के कति फल्छ भन्नेबारेमा निधो गर्न केही दिन कुर्नुपर्ने अवस्था छ,’ उनले भने ।


चितवनका किसानहरूले ०७२ सालदेखि गरिमा धान रोप्दै आएका थिए । चाँडै पाक्ने भएका कारण आलु खेती गर्न उपयुक्त हुने देखेर यो धान लगाउँदै आएको खैरहनी नगरपालिका–१० खरखुट्टे कठारका किसान कृष्ण अर्यालले बताए । ‘अघिल्ला वर्षहरूमा यो समयमा धान काट्न सुरु हुन्थ्यो । यो वर्ष अझै बाला निस्केको छैन । धानको बोट राम्रो भएर के गर्नु,’ उनले भने ।


ज्ञान केन्द्रको विज्ञप्तिमा चितवनका किसानहरूले रोपेको बाला नलागेको धानको बीउको गुण नेपालमा दर्ता भएको गरिमा धानसँग मेल नखाएको उल्लेख छ । त्यसैले कार्यालयले डीएनए परीक्षणका लागि बीउबिजन गुणस्तर केन्द्र हरिहर भवनमा नमुना पठाएको छ । असोज ६ गते नमुना पठाएको केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । परीक्षणको प्रतिवेदन आएपछि थप कारबाही प्रक्रिया अगाडि बढ्ने उनले बताए ।


गरिमा भारतीय कम्पनी रिनोभा सिड्स साइन्स इन्डिया प्रालिले उत्पादन गरेको धानको बीउ हो । नेपालमा दाङ लमहीको सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले यो धान भित्र्याएको हो । चितवनका लागि आधिकारिक बिक्रेता पर्सा खुरखुरेमा रहेको प्रशान्त एग्रोभेट हो । प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीप पाठक आफूले यो वर्ष गरिमा धानको १३ हजार ४ सय ४ केजी बीउ बिक्री गरेको बताउँछन् ।


‘यो धान काटेर कात्तिकको पहिलो हप्ता आलु रोप्ने योजना बनाएका थियौं । तर न धान फल्ने भयो न आलु लगाउन पाइयो, बर्बादै भयो,’ किसान कृष्ण अर्यालले भने । खरखुट्टे व्यावसायकि आलु खेतीका लागि प्रख्यात छ । किसानहरूले प्रदेश कृषि मन्त्री दावा दोर्जे लामालाई भेटेर समस्या अवगत गराएका छन् । गलत बीउ बेच्नेलाई कारबाही र किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् । तर सरकारले राम्रोसँग नसुनेको किसानको गुनासो छ ।


फौजी कीराको दु:ख थपियो

गरिमासँगै किसानहरूले सावित्री धान पनि रोपेका थिए । सावित्री धानमा बाला लागेको छ । तर ती बाला फौजी कीराले नोक्सान गरेको किसानहरूले बताए । ‘गरिमाबाहेक मेरो डेढ बिघा खेतमा सावित्री धान थियो । पसाएको सावित्री धानको बाला फौजी कीरा लागेर नोक्सान भएको छ,’ खैरहनी–१० का किसान कृष्ण अर्यालले भने । सावित्री धान रोपेको डेढ बिघामध्ये १४ कठ्ठा खेतको धान फौजी कीराले पूर्ण नोक्सान गरेको उनले बताए ।


‘धेरै किसानहरू कीराले खत्तम बनायो भनेर बिलौना गर्दै हिँड्नुभएको छ । कुनै धान पसाउँदै पसाएन । पसाएको धान पाक्ने बेलामा फौजी कीराले भ्यायो । यो वर्ष हामीलाई दु:खमाथि दु:ख थपिएको रहेछ,’ अर्यालले दु:खेसो पोखे । फौजी कीराको प्रकोप फैलन थालेपछि राम्ररी नपाक्दै किसानहरूले धान काट्न सुरु गरेका छन् । चार पाँच दिनपछि काट्दा ठीक हुने धान कीराको त्रासले अगाडि नै काट्न बाध्य भएको किसानहरूले बताए ।


प्रकाशित : आश्विन २६, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?