१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कृषिमा आकर्षण बढाउन गाउँपालिकाको अभियान

प्रकाश बराल

(बागलुङ) — ताराखोला गाउँपालिकाले व्यावसायिक कृषिमा आकर्षण बढाउन एकीकृत सामुदायिक कृषि नमुना फार्म अभियान थालेको छ । जग्गाको खण्डीकरण रोक्ने, सामूहिक, व्यक्तिगत कृषि फर्म सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने र हाइटेक प्रविधि भित्र्याउन गाउँपालिकाले २ करोड रुपैयाँ विनियोजन गरेको छ । यसका लागि कार्यविधि पनि बनाएको छ ।

ताराखोलाले कृषितर्फ तरकारी र आलु खेती, बोटविरुवातर्फ ओखर, पशुपालनमा भेडाबाख्रा फर्म सञ्चालन गर्नेलाई लगानीको आधारमा अनुदान दिने व्यवस्था मिलाइएको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘भेडाबाख्रा पाल्नेले २ सय रोपनीमा घाँस लगाउनुपर्नेछ,’ घर्तीले भने, ‘आठदेखि दश जनाको टिम बनाएर आएपछि मूल्यांकनको आधारमा अनुदान लगानी गरिन्छ ।’ ओखर खेतीका लागि ५ सय रोपनी जमिन व्यावसायिक रूपमा लगाउने गाउँपालिकाको योजना छ । यहाँको धेरै भूगोल घाँसे मैदान र चरन क्षेत्रका रूपमा छ । आलु जोनबाहेक लसुन र किवीको पकेट बनाउन पूर्वाधार, उत्पादन र प्रविधिको जोहो गरेको छ । किसान पनि त्यस्ता उत्पादनमा आकर्षित छन् । मुला, साग, भटमास र अन्य गेडागुडीको उत्पादनमा पनि ताराखोला अब्बल छ । सिञ्चाइका लागि पानीको उपलब्धता प्रशस्त छ । केही आयोजना सञ्चालन गरेर खेतबारीमा पानी लैजाने काम गाउँपालिकाले बनाउँदै छ ।


ताराखोलाको अधिकांस भूगोल चिसो छ । त्यसैले यहाँ आलु उत्पादन हुन्छ । यो क्षेत्र आलु जोनमा पनि सूचीकृत छ । सबै वडामा किसानको समूह बनाएर प्रारम्भिक तालिम समेत दिइएको उनले बताए । बागलुङमा ४० हजार टन आलु उत्पादन हुने र त्यसको ३० प्रतिशत ताराखोलामा मात्र फलेको रेकर्ड छ । गाउँपालिकाले भने यो क्रम बढाउने लक्ष्य राखेको छ । हाल काठेखोलाको धम्जासहित ताराखोलालाई आलुजोनमा सूचीकृत गरिएको हो । यी स्थानमा आलु भण्डारण केन्द्र र चिस्यान केन्द्र निर्माणको काम भइरहेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । गाउँपालिकाले दुईजना कृषि र एकजना पशु प्राविधिक करारमा राखेको छ । करारका कर्मचारीले भने गाउँपालिकाको योजना तर्फको काम गरिरहेका हुन् । समूहमा व्यावसायिक कृषि, पशुपालन र अन्य फसल उत्पादन सम्बन्धी तालिम दिने गरिएको छ । तालिममा सहभागी किसानबाट उनीहरूको रोजाइको क्षेत्र निर्धारण गरिन्छ । कृषि र पशुपालनमध्येको क्षेत्र रोजेपछि सोही अनुसारको जग्गा र समूह निर्धारणका लागि गाउँपालिकाले सहजीकरण गरिदिने व्यवस्था मिलाएको घर्तीले बताए ।


गाउँपालिकाले दर्जन बढी कृषि तथा पशु फार्म सञ्चालन गर्ने लक्ष राखेको छ । त्यसका लागि विनियोजित २ करोड रुपैयाँ लगानी गर्दा कम्तीमा थप २ करोड किसानबाट लगानी गर्ने वातावरण बनाइदिने उनले बताए । अहिले यहाँका किसानले आलु र अलैचीको व्यावसायिक उत्पादन गरिरहेका छन । त्यसबाहेक अदुवा उत्पादनमा पनि लगानी गर्ने तयारी गरिएको हो । ‘काम गरिरहेका किसानलाई समूहमा आबद्ध बनाउने, गर्न चाहेर पुँजी नपाएकालाई अनुदान दिन्छौं,’ घर्तीले भने, ‘बजारीकरण र नियमित ढुवानीको काम सामूहिक रूपमा सञ्चालन गरिन्छ ।’ हरेक दिन किसानले उत्पादन संकलन गरेपछि बजार पठाउन सवारी साधनको व्यवस्थापनमा गाउँपालिकाले साथ दिने उनले बताए । परम्परागत पेसामा मात्र रहेकालाई कृषिको व्यवसायिकीकरणमा लगाउने योजना यो अनुदानले पूरा गर्ने वडा १ का अध्यक्ष यामबहादुर श्रीषले बताए । उक्त वडामा अलैंचीको व्यावसायिक उत्पादन भइरहेको छ । त्यसबाहेक मुला, आलु र तरकारी खेती गर्ने धेरै किसान छन् । ‘गत वर्ष १५ किसानलाई व्यावसायिक पशुपालनको काममा लगाएका थियौं,’ घर्तीले भने, ‘अहिले कार्यक्रम बनाएर एक सय बढी युवा रोजगार बनाउने लक्ष्य बनाइएको छ ।’


गाउँपालिकाले कृषि तथा गैरकाष्ठ व्यवसाय सञ्चालन गर्न चाहने किसानलाई समेत लगानी गर्ने योजना बनाएको छ । यहाँ अल्लो, नेपाली कागज, जडिबुटी, सिस्नो पाउडर लगायतका घरेलु प्रकृतिका उद्योग सञ्चालनमा स्थानीय कच्चा पदार्थ उपलब्ध गराइएको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । ‘सानो सानो लगानीले महिलाहरू घरघरमै रोजगारी बन्ने अवस्था बनेको छ,’ पुनले भनिन्, ‘वनको काठ नहुने साना बिरुवा र लोकताबाट धेरैको रोजगारी चलेको छ ।’ हाते कागजमा भने पुरुष पनि रोजगार छन् । धागो खरिद गरेर ल्याएपछि ढाका र भाँग्रो बुन्ने काममा पनि धेरै महिलाले कमाइ गरिरहेका छन् । ‘घरधन्दा सकेर बर्षेनी तीन लाख रुपैयाँसम्म कमाइ गर्न सकेका छौं,’ वडा सदस्य सपनादेवी बुढाले भनिन् । अल्लो संकलन गर्ने, प्रशोधन र धागो बुन्ने सबै खर्च कटाएर कमाइसमेत गर्न सकेको उनले बताइन् ।


गाउँपालिकामा ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम पनि सञ्चालनमा छ । यो कार्यक्रमले विपन्न परिवारमा पशुपालन र कृषि उत्पादनका लागि लगानी गरिएको छ ।

प्रकाशित : आश्विन २५, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?