कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेक नकाटी कारोबार गर्ने व्यवस्था तिहारपछि

यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) तिहारपछि मात्र सञ्चालनमा ल्याउने भएको छ । 

चेक नकाटी कारोबार गर्ने व्यवस्था तिहारपछि

चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधा सहितको आरटीजीएस प्रणाली भदौ २९ मा औपचारिक रूपमा सुरु भएको थियो । पर्याप्त गृहकार्य नगरी सञ्चालनमा ल्याउँदा समस्या आएपछि बन्द गरिएको थियो । अब सबै गृहकार्यपछि मात्र सञ्चालनमा ल्याउने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । ‘नोभेम्बर १ (कात्तिक १५) देखि सञ्चालनमा ल्याउने तयारी गरेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘अहिले आरटीजीएसमार्फत कारोबार परीक्षण गर्ने काम भइरहेको छ ।’


यसअघि अनौपचारिक रूपमा राष्ट्र बैंकले भदौ २६ देखि आरटीजीएस प्रणालीमार्फत कारोबार सुरु गरेको थियो । औपचारिक रूपमा उद्घाटन भएको २ दिनमै आरटीजीएसले काम गर्न सकेन र राष्ट्र बैंकले त्यसलाई बन्द गरेको थियो । आरटीजीएस प्रणाली तयार भए पनि राष्ट्र बैंक र वाणिज्य बैंकहरूको प्रणालीमा पूर्ण रूपमा एकीकृत भइनसकेकाले केही समयका लागि स्थगित गर्नु परेको राष्ट्र बैंकले बताएको थियो ।


आरटीजीएस आधुनिक भुक्तानी प्रणाली हो । यो प्रणालीमार्फत कारोबार गर्दा नागरिकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् । हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ । आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुटकारा पाइने छ । चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ । आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उतिबेलै रकम स्थानान्तरण हुनेछ । खासगरी ठूला कारोबारका लागि यो आरटीजीएस उपयुक्त हुने जानकारहरू बताउँछन् ।


सुरुमा राष्ट्र बैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो । २० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रूपमा आरटीजीएसमार्फत गर्नुपर्ने बताएको थियो । सुरुको अवस्था भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको छ । यो प्रणाली संस्थागत भएपछि अर्को सूचना जारी गरी २० लाखभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा आरटीजीएसमार्फत गरिने राष्ट्र बैंकको योजना थियो ।


यो प्रणाली लागू भए पनि तत्काल ग्राहकको खातामा पैसा आउने भएकाले बजारमा तरलताको गति बढ्ने जानकारहरू बताउँछन् । राष्ट्र बैंकले पहिलो चरणमा वाणिज्य बैंकमार्फत आरटीजीएस लागू गरेको थियो । वाणिज्य बैंकहरू आरटीजीएसका मुख्य (प्रिन्सिपल) सदस्य हुन् । विकास बैंक र फाइनान्स कम्पनी एसोसिएट सदस्य छन् ।


आउँदो पुसदेखि विकास बैंक र वित्त कम्पनीमा पनि आरटीजीएस प्रणाली लागू गरिने राष्ट्र बैंकले जनाएको छ । त्यसपछि सदस्य बैंक तथा वित्तीय संस्थाको खातामा तत्काल रकम जम्मा गर्न मिल्ने सुविधा ग्राहकले पाउनेछन् । यो प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले करिब ३० मिनेटमा (२ देखि २० मिनेटमा) राफसाफ भइसक्ने र ग्राहकले बिहान साढे १० बजेदेखि साढे ३ बजेसम्म मात्र यो प्रणालीमार्फत कारोबार पाउने बताइएको थियो । आरटीजीएस प्रणाली प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले शुल्क भने तिर्नुपर्छ । यस्तो शुल्क बैंक अनुसार फरकफरक हुन सक्छ ।


प्रकाशित : आश्विन २५, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?