मनलाग्दी भाडा

कान्तिपुर संवाददाता

बाँके — दसैं लागेसँगै यहाँ यात्रुको चाप बढेको छ । यातायात व्यवसायीले यात्रुसँग मनलाग्दी भाडा असुल्न थालेका छन् । लामो दूरी होस् या छोटो, सर्वसाधारण महँगो भाडा तिर्न बाध्य छन् । थोरै सिट क्षमताका गाडीमा पनि यात्रु कोचिएर यात्रा गरेका छन् ।

भारतबाट यहाँ आइपुगेका पूर्ण रोकायले दाङसम्म पुग्न पाँच सय रुपैयाँ तिरे । २ सय ५० रुपैयाँ भाडा लाग्ने यस रुटमा गाडी नपाउने डरले बढी भाडा तिरेर भए पनि जान लागेको उनले बताए । ‘नजाऊँ गाडी पाइँदैन कि भन्ने डर छ,’ उनले भने, ‘घर पुग्ने हतारोले महँगो भाडा तिर्न पनि राजी भएँ ।’


अरु बेला तीन सय रुपैयाँमा यात्रा गर्ने दूरीमा अहिले ६ सय रुपैयाँसम्म तिरेर यात्रा गर्न परेको छ । दोब्बर भाडा तिर्दा पनि सजिलै गाडी नपाउने गरेको यात्रुले गुनासो गरे । २० यात्रु क्षमता भएको गाडीमा अहिले ४० जनासम्म कोचिएका छन् । छोटो दूरीका गाडीले क्षमताभन्दा बढी बोकिरहेका हुन् । अझ कर्णालीतिर पुग्ने यात्रुलाई गाडी पाउनै मुस्किल छ ।


दसैं लागेकै दिनदेखि यातायात व्यवसायीले मनपरी भाडा लिइरहेका छन् । गाडी पाइँदैन भन्दै यात्रुलाई महँगो भाडा तिर्न लगाइरहेका छन् । यातायात व्यवसायीले भने यात्रुका चापका कारण धेरै मान्छे बोक्नुपर्ने बाध्यता भएको बताए । नमस्ते यातायात व्यवसायी समितिका कर्मचारी धनबहादुर बुढाथोकीले यात्रुको चाप बढेकाले सबैलाई मिलाएर यात्रा गराउनु पर्ने बाध्यता रहेको सुनाए । ‘दसैं हो, वर्षदिनको चाडमा सबैलाई घर पुग्न हतारो छ,’ उनले भने, ‘यात्रु ठगिएका छैनन् ।’


प्रहरीले भने यात्रु चापका कारण यो समस्या आएको बताएको छ । अरु बेलाभन्दा चाडपर्वका बेला यात्रामा समस्या छ । जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले यात्रुले नै बढी भाडा माग्ने गाडीवालाको विरोध नगरेको सुनाए । ‘धेरै मान्छे भएको गाडीमा नचढ्नूस् भन्छौं,’ उनले भने, ‘उल्टै अटेरी गर्दै बस्छन् ।’

प्रकाशित : आश्विन १८, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?