१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

महँगीले खसीबोका कम आपूर्ति, कमै बिक्री

खाद्यको सस्तो खसी बिक्यो, च्यांग्रा बाँकी
राजु चौधरी

काठमाडौँ — बजार मूल्य बढेपछि खसीबोकाको बिक्री कम भएको छ । चौपाया व्यवसायी संघ कलंकीका अनुसार जिउँदो खसी किलोमै १ सय ५० रुपैयाँसम्म बढेको छ । जसले गर्दा कम बिक्री भएको संघका पूर्वअध्यक्ष दीपक थापाले बताए । उनका अनुसार गत वर्ष घटस्थानादेखि फूलपातीसम्म ७ दिनमा खसीबोका र च्यांग्रा गरी ३० हजारवटा बिक्री भएको थियो ।

महँगीले खसीबोका कम आपूर्ति, कमै बिक्री

अहिले कलंकी होलसेल बजारबाट २२ हजारवटा मात्रै बिक्री भएको पूर्वअध्यक्ष थापाले बताए ।


‘अहिले उपभोक्ताहरू पर्ख र हेरको अवस्थामा छन् । महँगो पनि भएको छ,’ सरंक्षकसमेत रहेका पूर्वअध्यक्ष थापाले भने, ‘गत वर्षको तुलनामा ८ हजार कम बिक्री भएको देखिन्छ ।’ थापाका अनुसार गत वर्ष दसैंमा प्रतिकिलो खसी ५४० रुपैयाँमा बिक्री भएको थियो । च्यांग्रा ७ सय रुपैयाँमा बिक्री भएको थियो । अहिलेको खसीबोका ६९० रुपैयाँसम्मा बिक्री भएको छ । च्यांग्रा ७७० रुपैयाँसम्म बिक्री भएको उनले बताए ।


संघले घटस्थापनादेखि करिब ४०–४५ हजार उपत्यका भित्रिने र बिक्ने आकलन गरिको थियो । अहिलेसम्म कलंकी बजारमा २२ हजार मात्रै भित्रिएको छ । कम परिमाणमा भित्रिए पनि अभाव भएको छैन । अहिलेसम्म १८ हजार बिक्री भएको छ । यस्तै च्यांग्रा ५ हजार ५ सय भित्रिएको छ । जसमध्ये ४ हजार बिक्री भइसकेको थापाले बताए ।


व्यवसायीले सल्यान, सुर्खेत, रुकुम, रोल्पा, लाहान, जनकपुर, धादिङ, नुवाकोटलगायत जिल्लाबाट भित्र्याएका छन् । यीबाहेक भारतबाट पनि भित्रिएको छ । भारतबाट तस्करीसँगै केही मात्रामा वैधानिक रूपबाट पनि भित्रिएको थापाले बताए । च्यांग्राको हकमा मुस्ताङ र तातोपानी नाकाबाट आयात गरेको संघले जनाएको छ ।


चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष जनक खड्काले पनि गत वर्षको तुलनमा केही कमी भए पनि खरिद गर्न आइरहेको बताए । आयातका क्रममा भन्सारमा सहज गरेपछि केही सजिलो भएको बताए । ‘खसीबोका र च्यांग्रा अब दुई दिन बिक्री हुन्छ । आपूर्ति सहज नै छ,’ उनले भने, ‘आयातअनुसार बिक्री भइरहेको छ ।’


पशु सेवा विभागले क्वारेन्टाइन ऐन फागुन ३ गतेदेखि कार्यान्वयन गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित मुलुकबाट पशु चौपाया स्वस्थ भएको प्रमाणित कागजपत्र बनाउनुपर्छ । कागजपत्रमा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ । यो व्यवस्थाला कडाइ गरेसँगै खसीबोका आयात कम भएको छ । तर, दसैंका लागि केही सहज बनाएपछि आपूर्तिमा राम्रो भएको खड्काले बताए । पशु सेवा विभागले हेफरबाट ५२ सय वटा खसीबोका दिने भने पनि १२ सय मात्रै उपलब्ध गराएको व्यवसायीहरू बताउँछन् । पूर्वअध्यक्ष थापाका अनुसार ती खसीबोका २२ देखि २४ किलोका मात्रै थिए ।


खाद्यको खसी बिक्यो, च्यांग्रा बाँकी

सरकारले निजी व्यापारीभन्दा सस्तोमा खसीबोका दिएपछि सबै बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक हजार खसी भित्र्याएको थियो । पहिलो लटमा ९९८ आयात भएको थियो । उक्त खसी बिक्री भएपछि शुक्रबार पुनः १ सय भित्र्याएको थियो । उक्त खसीबोका पनि बिक्री भइसकेको हो ।


सरकारले सहुलियत दरमा बिक्री गर्न खसी प्रतिकिलो ५५० रुपैयाँ छ । च्यांग्रा ७३० रुपैयाँमा बिक्री गरिरहेको छ । च्यांग्रा दुई हजार आयात गर्ने लक्ष्य भए पनि १९१५ भित्रिएको थियो । जसमध्ये करिब ५ सयवटा बाँकी रहेको कम्पनीका अञ्चल प्रमुख रणबहादुर बुढाथोकीले बताए ।


प्रकाशित : आश्विन १८, २०७६ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?