१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कर्णालीवासीलाई दसैंमा जहाजको चिन्ता

मधु शाही

बाँके — दसैंमा घर जाने आशमा रहेका डोल्पाका प्रेम बुढा दिनहुँ यहाँस्थित विभिन्न विमानस्थलका कार्यालय धाउँछन्  । टिकट नपाएपछि यसपालिको दसैं परिवारसँग मनाउन पाउने हो/होइन भन्ने कुराले उनलाई पिरोलेको छ  ।

कर्णालीवासीलाई दसैंमा जहाजको चिन्ता

गत आइतबार आफूसहित चारजनाको टिकट बोकेर यहाँस्थित वायु सेवा निगमको कार्यालयमा पुगेका थिए । १० दिनअघि काटेको टिकट देखाउँदै उनले भने, ‘निगमको जहाज औंशीपूर्णे पारेर आउँछ । त्यो पनि उड्ने हो कि होइन, भगवान् भरोसा बस्नुपर्छ ।’

डोल्पा र सिमिकोटसम्म सडक नपुगेकाले दुर्गमका बासिन्दा महँगो टिकट काटेर जहाज चढ्न बाध्य छन् । कहिले खराब मौसमका कारण रद्द हुनु, समयमै नउड्नु, टिकट नपाउनु र व्यवस्थित उडान नहुँदा यात्रुले कष्ट भोग्नु परेको छ ।

दुर्गम क्षेत्रका जनताका लागि आशाको केन्द्र रहेको नेपाल वायु सेवा निगमले समेत आफ्नो नियमित उडान गर्न नसक्दा दसैंको मुखमा यात्रुले दुःख पाएका हुन् । निगमका स्टेसन म्यानेजर शंकरबहादुर केसीले विद्यार्थी र जागिरेहरू गन्तव्यमा पुग्न नसक्दा झगडा नै गर्ने गरेको सुनाए । उनीहरूलाई फ्लाइट रद्द हुनाको कारण सम्झाउन हम्मेहम्मे परेको पनि उनले बताए ।

निगमको जहाजले सातामा दुईपटक उडान भर्ने भए पनि प्रायः उडान रद्द हुने गरेको छ । काठमाडौंको एयर ट्राफिक, मौसम र रुकुम, नेपालगन्ज र दुर्गम क्षेत्रको मौसम हेर्दा हेर्दै जहाज रद्द हुने गरेको छ ।

कार्यालयको अभिलेखअनुसार ०७६ साउन महिनाभरि दुवैतर्फ गरी ६४ उडानको कार्यक्रम रहे पनि जम्मा ३२ पटक मात्रै उडान सफल भएको छ । इन्जिनियरिङ बेस बनाउने र थप जनशक्ति व्यवस्थापन गरी निगमको एउटा जहाजलाई नेपालगन्जमा राख्ने हो भने समस्या समाधान हुन सक्ने निगमका क्षेत्रीय कार्यालय प्रमुख प्रशान्तकुमार विकले बताए ।

उनका अनुसार काठमाडौं–नेपालगन्ज–काठमाडौं सेक्टरमा हप्तामा बुधबार र शनिबार गरी दुईपटक एमए–६० जहाज आउने जाने गर्छ । दसैं र तिहारमा यात्रुको चाप बढेकाले यो पर्याप्त छैन । हप्तामा तीनपटक उडान भएमा यात्रुलाई राहत हुने उनले बताए । एमए–६० (एकेक्यू) ग्राउन्डेड भएको र मर्मतसम्भार भइरहेकाले निजी विमान सेवा कम्पनीले मनपरी भाडा असुल्ने गरेको पाइएको छ, जसबाट यात्रुलाई सास्ती खेप्नुपरेको छ । एमए–६० (एकेक्यू) लाई दसैं लक्षित गरी उडाउन सकियो भने सहज हुनेछ ।

अनुकूल मौसमका कारण अहिले पूर्वतर्फ (लुक्ला) आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो छ । निजी वायुसेवाहरू बढी नाफामुखी हुने भएकाले त्यतातर्फ आकर्षित भएकाले सडक नपुगेका डोल्पा र सिमीकोटका जनताले भने सास्ती खेप्नुपरेको छ । यहाँबाट तारा, सीता र समिट एयरलाइन्सले आफ्ना अधिकांश उडान पूर्वतर्फ केन्द्रित गरेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका निमित्त प्रमुख योगेन्द्रनाथ कुँवरले बताए । यात्रुहरू जसरी भए पनि काठमाडौंबाट नेपालगन्ज आउने तर यहाँबाट आफ्नो थातथलोमा जान भने धौ–धौ परेको छ ।

काठमाडौंबाट नेपालगन्ज आउने यात्रुको चाप बढेसँगै निजी विमान सेवा कम्पनीले उडान थप गर्नुको सट्टा निगमको भन्दा दुई गुणा बढी भाडा लिने गरेका छन् । बुद्ध एयरले दैनिक तीन उडान गर्दै आएको छ । ‘दसैंमा वन वे प्रेसर हुन्छ,’ स्टेसन म्यानेजर विनित शाहले भने, ‘त्यसैले बाध्यताले भाडादरमा वृद्धि गर्नुपरेको छ ।’

प्रकाशित : आश्विन १८, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?