कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धराने व्यापारी निराश

प्रदीप मेन्याङ्बो

सुनसरी — दसैं–तिहार जस्ता मुख्य चाडपर्व नजिकिएका बेला धरानका व्यापारी भने निराश छन्  । चाडको पूर्वसन्ध्यामा स्थानीय बजारमा चहलपहल बढ्नुपर्नेमा झन् घटेपछि उनीहरू निराश भएका हुन्  ।

राजस्वसम्बन्धी सरकारी नीति नै गलत भएपछि सुनसरी, मोरङ र झापाका स्थानीय बजार चहलपहलविहीन भएको अर्थविद् कृष्ण अग्रवालले बताए । नेपाली चाडबाडको बेला हरेक वर्ष सीमापारिका बजारमा भने भीडभाड हुने उनको भनाइ छ । ‘राजस्व नीति परिवर्तन गरेर एकदुई थान लत्ताकपडा, दुई–चार किलो चिनी र मसला किन्न पारि नजाने वातावरण सरकारले बनाउने हो भने सुनसरी, मोरङ र झापाका स्थानीय बजारमा दसैंलगायतका चाडपर्वमा कम्तीमा सवा सय करोडको कारोबार हुन्थ्यो,’ उनले भने ।

अग्रवालले विश्वमै उच्च दरको कर नेपालमा भएको उल्लेख गरे । ‘सरकारले कुल गार्हस्थ्य उत्पादनको २८/२९ प्रतिशत राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको तथ्यबाटै करको दर वृद्धि गर्नमा सरकार उद्यत रहेको देखिन्छ । किनकि ३४ खर्ब रुपैयाँको कुल गार्हस्थ्य उत्पादनमा १० खर्बको राजस्व संकलन गर्ने सरकारको लक्ष्यले त यसै भन्छ,’ उनले भने ।
प्रत्येक वर्ष सरकारले तयार गर्ने बजेट नीतिमा पूर्वबाट नियमित रूपमा राय सल्लाह सुझाव दिँदै आएका अग्रवालले राजस्व र भन्सार नीतिकै कारण नेपाली उपभोक्ता सीमापार जान बाध्य भएको बताए । सीमापारिका बजारमा बिक्री हुने लत्ताकपडा, खाद्यान्न, किराना सामान, तयारी पोसाकको मूल्यमा पनि फरक भएपछि त्यसको असर नेपाली व्यवसायीले भोग्नुपरेको उनले बताए ।

‘अत्यावश्यक सामानको भ्याट दर कम वा छुट्टै हुने प्रावधान रहेको भए आज ५ किलो चिनीका लागि धरानका उपभोक्ता जोगबनी पुग्दैनथे । एकथान पेन्ट किन्न जाँदा चिनी, दाल वा जिरा मसला पनि बोकेर आइहाल्छन्,’ अग्रवालले भने ।

उनले नेपाली उपभोक्ताको घर गृहस्थी चलाउन राजस्व नीतिमा परिवर्तन नगरेसम्म धरान, इटहरी, इनरुवा, दमक, बिर्तामोड, विराटनगर, धुलाबारी, काँकडभिट्टाजस्ता स्थानीय बजारका उपभोक्ता सीमापारि नै धाइरहने र व्यापारी व्यवसायीहरू निराश भएर बस्नुपर्ने बताए । अग्रवालले भने जस्तै कपडा व्यवसायी संघ धरानका अध्यक्ष जीवन अग्रवालले पनि दसैं–तिहारको पूर्वसन्ध्यामा सीमापारको बजार नेपाली उपभोक्ताले भरिनुमा राजस्व नीतिमै खोट भएको बताए । उनले भने, ‘सबैलाई चाड लागेको छ । तर, नेपाली व्यापारी व्यवसायीहरूलाई चाड लागेको छैन । धेरै व्यापारी व्यवसायीले चाडको बेला आफ्नो व्यापार व्यवसाय चल्ने सपना देख्दै आएका छन् तर हरेक वर्ष सीमापारको बजारले खोसिदिन्छ ।’

उनले फलफूलमा समेत भन्सार मूल्यांकन उच्च राखिएको अवस्थामा चाडबाडको बेला उपभोक्ताले किन्ने लत्ताकपडा, किराना सामान, खाद्य सामग्रीमा भन्सार र राजस्व वृद्धि गरेकाले दसैं बजार चहलपहलविहीन भएको बताए ।
‘भन्सार र भ्याट गरी ३५ प्रतिशत पुगेपछि नेपाली बजारमा त महँगो हुने नै भयो । तर, उता सीमापारको बजारमा त्यही सामान सस्तोमा पाउने भएपछि उपभोक्ताहरू जाने गरेको हो,’ उनले भने, ‘उपभोक्ता, व्यापारी व्यवसायी र राज्यको हितमा राजस्व र भन्सार नीतिमा परिवर्तन नगरे जहिलै यस्तै भइरहनेछ ।’

उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरिधारी सापकोटाले विगत एक दशकदेखि पूर्वी तराईका मुख्य सहरी क्षेत्रका उपभोक्ताले दसैं तिहारको पूर्वसन्ध्यामा सीमापारिको बजारमा अर्बौं रुपैयाँको कारोबार गराउँदै आएको बताए । उनले यसपटकको दसैं बजार झन् निराशा लाग्दो रहेको गुनासो गरे । ‘खुला सिमाना छ । भन्सार र राजस्व नीतिले सस्तो पनि उतैको बजारमा छ । उपभोक्ता उतै लाग्दा यताका व्यापारी व्यवसायी चुपचाप बस्न बाध्य छन्,’ उनले भने ।

सुनसरी, मोरङ र झापासँग जोडिएका सीमापारिका नक्सलबाढी, गलगलिया, जोगबनीमा साना बजार भए पनि नेपाली उपभोक्ताको भरमा चलेको अध्यक्ष सापकोटाले बताए । उनले भने, ‘सीमापारि जाने ५० प्रतिशत उपभोक्तालाई मात्र रोक्ने वातावरण बनाउन सके पूर्वका स्थानीय बजार गुल्जार हुने थिए ।

तर, उनीहरूलाई रोक्न नसक्दा नेपाली व्यापारी व्यवसायीहरू चाडबाडको सिजनमा पनि टाउकोमा हात राखेर आफैंले आफैंलाई धिक्कार्दै बस्नुपरेको छ ।’

प्रकाशित : आश्विन १८, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?