कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपाली चाड भारतमा व्यापार

नेपालका व्यापारी संकटमा परेका बेला भारतीय बजारमा भने पाइला राख्ने ठाउँ छैन, चाडपर्व र बिहेवारीमा नेपाली उपभोक्ता भारतीय बजारमा जाने प्रवृत्ति बढ्दै गएको छ ।

रूपन्देही/नेपालगन्ज — सुनौली बजारका सबै व्यापारी भारतीय छन् । उपभोक्ता भने नेपाली । नेपाली उपभोक्ताका कारण बजारमा पाइला टेक्ने ठाउँ छैन । ग्राहक आकर्षित गर्न पसलको नेपाली नामकरण सुरु भएको छ ।

नेपाली चाड भारतमा व्यापार

सोमबार सुनौलीस्थित बूढो बाजेको पसलमा ठूलो भीड थियो । छिर्ने ठाउँ थिएन । त्यही गल्लीको सुन्दर साडी पसलमा मोलमोलाई गर्ने र लुगा किन्नेको घुइँचो थियो । यहाँ रहेका प्रत्येक गल्ली, पसल र सडकमा नेपाली मात्र थिए ।

दसैं सुरु भएपछि सधैं यस्तै चहलपहल हुने व्यापारीले बताए । बुटवल, भैरहवा र आसपासका बस्तीबाट अरू समयमा पनि सामान खरिद गर्न यहीँ आउँछन् । चाडबाडका बेला साविक लुम्बिनी अञ्चलका पहाडी जिल्लाबाट सर्वसाधारण ओइरिने गरेका छन् । काठमाडौंबाट भर्खरै बुटवलस्थित प्रादेशिक अस्पतालमा सरुवा भएकी मीना शाहले संघीय राजधानीमा रहुन्जेल सुनौली बजारमा राम्रो र सस्तो लुगा पाइन्छ भन्ने सुनेको बताइन् ।

‘धेरै बखान सुनेकाले आएँ,’ उनले भनिन्, ‘पसल धेरै भएकाले कुनै न कुनै लुगा मन पर्ने रहेछ, नेपाली बजारमा भन्दा केही सस्तो पनि लाग्यो ।’

उनीजस्तै देवदहबाट आएकी संगीता श्रेष्ठले घरका लागि आवश्यक खाद्यान्न र केही लुगा किनेर फर्किइन् । ‘धेरै बोक्न सकिँदैन,’ उनले भनिन्, ‘चाडबाडका बेला अलि सस्तो लागेर यहाँ आएकी हुँ ।’ मुलुकमै सस्तो मूल्यमा सामान पाए पनि ग्राहक यहाँ आउन छाड्दैनन् । सीमापारि आएर किनमेल गर्नु संस्कृति नै बनिसकेको उपभोक्ताले बताए । फुर्सद मिलाएर साथीहरू मिली यहाँ आउँछन् । अधिकांश परिवारै आउने गरेका छन् । चाडपर्व, बिहे, पूजाका बेला यहाँ आउने धेरै हुन्छन् ।

तिलोत्तमा–१२ की लक्ष्मी बस्यालले बिहेका लागि आवश्यक खाद्यान्न र लत्ताकपडा किन्न सुनौली आएको बताइन् । ‘पहिलेको तुलनामा सस्तोजस्तो लागेन,’ उनले भनिन्, ‘भन्सारले खोजतलास गर्‍यो भने घरायसी भने पनि हैरान पार्ने रहेछ ।’ छली गरेर सामान पैठारी गर्नेलाई भन्दा सर्वसाधारणलाई भन्सार हैरानी पार्ने गरेको उनले बताइन् ।

नेपाली ग्राहकका कारण आफ्नो पसल चम्किएको स्थानीय व्यापारी सुधामा चाईंले बताए । ‘भारतीय उत्पादन भएकाले ५० प्रतिशत सस्तो पर्छ,’ उनले दाबी गरे, ‘चाडबाडमा यस्तै भीड हुन्छ ।’

यहाँ रहर, जिरा, मास, चना र चिनीको मूल्य नेपाली बजारमा भन्दा सस्तो रहेको ग्राहकले बताए । यहाँ चिनी ६३, रहर १२०, जिरा ३६० रुपैयाँ प्रतिकिलो पाइन्छ । नेपाली बजारमा चिनी ८५, रहर १५०, जिरा प्रतिकिलो ५ सय रुपैयाँसम्म छ । चना र मासको दाल यहाँ प्रतिकिलो २० रुपैयाँ सस्तो रहेको छ ।

नेपाली उपभोक्ताको मानसिकता भारतीय बजारमा सस्तो पाइन्छ भन्ने भइसकेकाले चाडपर्वमा सुनौलीमा धेरै भीड हुने सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । सरकारले भन्सार नियम कार्यान्वयनमा कडाइ नगर्दासम्म यो समस्या समाधान नहुने उनले बताए । ‘१ हजार रुपैयाँभन्दा बढी मूल्यका सामानमा बिल काटेर कर लागू गरिएमा ५० प्रतिशत मान्छे भारतमा किनमेल गर्न नजाने उनले बताए । चाडपर्व, बिहेवारी, पूजाका बेला भारतीय बजारको व्यापार बढ्दै गएको उनले बताए । यताका लगानीकर्ता संकटमा परेका बेला भारतीय व्यापारी मालामाल भइरहेको उनले सुनाए ।

रूपैडिहा भरिभराउ
प्रदेश ५ को अर्को प्रमुख नाका नेपालगन्जको सीमावर्ती भारतीय बजार रूपैडिहामा अहिले किनमेल गर्नेको भीड छ । नेपाली बजार भने सुनसान छन् । मध्य तथा सुदूरपश्चिमको व्यापारिक केन्द्र भए पनि नेपालगन्जको व्यापार ओरालो लागेको छ । चाडबाडका बेला लत्ताकपडा तथा दैनिक उपभोग्य वस्तु खरिद गर्नेले रूपैडिहा भरिभराउ छ ।

नेपालगन्जस्थित नाकाको मूल गेट काट्यो कि भीड सुरु हुन्छ । पसलमा सामान किन्न व्यस्त देखिन्छन् । रूपैडिहा बजार नै नेपाली ग्राहकमाथि निर्भर छ । नेपाली नआए बजार चल्दैन । नेपालगन्ज–४ की सुमित्रा सुनारले दसैंका लागि किनमेल गर्न रूपैडिया आएको बताइन् । बाँकेलगायत पहाडी जिल्लाबाट यहाँ खरिद गर्न आउँछन् ।

नेपालगन्ज–१० की सुनिता गिरीले मूल्यमा एकरूपताका कारण सधैं रूपैडिहा आउने गरेको बताइन् । ‘सबै सामान एउटै स्थानमा किन्न पाइन्छ । सामानको मूल्य घटाउन सकिन्छ,’ उनले भनिन्, ‘नेपालगन्जमा भन्दा सस्तो पर्छ ।’ कपडामा बार्गेनिङ गर्न सकिने र सस्तो पर्ने विश्वासले रूपैडिहाप्रतिको आकर्षण बढ्दो छ ।

अधिकांश उपभोक्ताले रूपैडिहाबाट घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्छन् । त्यसले स्वदेशी व्यापारीलाई पिरोल्ने गरेको छ । दैनिक कति नेपाली सीमापारि किनमेलमा जान्छन् भन्ने तथ्यांक छैन । रूपैडिहास्थित राष्ट्रिय व्यापार मण्डलका अनुसार त्यहाँ करिब एक हजार पसल छन् ।

अधिकांश खाद्यान्न, फेन्सी र थान कपडाका पसल हुन् । व्यापार मण्डलका अनुसार एउटा पसलले दैनिक ५ लाख रुपैयाँसम्मको सामान बिक्री गर्दै आएका छन् ।

थोक कपडा बिक्रेताका सञ्चालक भारतीय व्यापारी नरेन्द्रकुमार कुँवरले ९० प्रतिशत नेपाली ग्राहक आउने गरेको बताए । ‘बाँके मात्र होइन, दाङ, सुर्खेत, सल्यान, जाजरकोटबाट सामान किन्न ग्राहक आउँछन्,’ उनले भने, ‘मेरो पसलमा दैनिक ५ लाख रुपैयाँको हाराहारीमा कारोबार हुन्छ ।’ नेपालगन्जबाट रिक्सा, टाँगा, साइकल र मोटरसाइकलमा ६ किलोमिटर दूरी पार गरेर रूपैडिहा बजारमा किनमेल गर्न पुग्ने धेरै छन् ।

नेपालगन्जस्थित बाँके गाउँकी गीता शाहले सस्तो अनि राम्रो कपडा पाइने भएकाले दसैंका लागि कपडा किन्न सधैं रूपैडिहा आउने गरेको बताइन् । नेपालगन्जमा मान्छे हेरेर फरक मूल्य तोकिने भएका कारण रूपैडिहा जाने गरेको उनले बताइन् ।

इलाका प्रहरी चौकी जमुनाहका इन्चार्ज माधवप्रसाद रिजालले अन्य समयभन्दा चाडबाडका बेला नेपालीको आवतजावत बढेको बताए । नेपालगन्ज बजारमा साना–ठूला गरेर ६ हजारभन्दा बढी सामानले भरिएका पसल छन् । उपभोक्ता नभएपछि सुनसान छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?