कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दसैंमा ज्याला नपाउँदा मजदुरको बिचल्ली

घनश्याम खडका,

म्याग्दी — सबैका घरमा दसैं आएको छ । दसैंको किनमेल र रमाइलो सुरु भए पनि बेनी–जोमसोम सडक निर्माणमा संलग्न मजदुरको भने बिचल्ली भएको छ  ।

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकअर्न्तगत पहिलो प्याकेज गलेश्वर–तातोपानी २० किलोमिटर खण्डमा कार्यरत ९५ मजदुरहरू ज्याला नपाएर बिचल्लीमा परेका हुन् । पहिलो खण्ड निर्माण ठेक्का लिएको शर्मा/युनाइटेड जेभी कम्पनीले चैतदेखि नै १ करोड ११ लाख ज्याला भुक्तानी नदिँदा मजदुरको दसैं बिथोलिएको छ । दसैंको सार्वजनिक बिदा सुरु हुने अन्तिम दिन शुक्रबार जिल्ला प्रशासनमा भेटिएका मदजुरले वर्षभरि मजदुरी गरेर ज्याला नपाएको बताए । उनीहरूले परिवारजनलाई एकजोर नयाँ कपडा र दुई छाक खुवाउन नसक्ने अवस्थासँगै यातना भोग्नुपरेको जनाए ।


‘काम गरेको ज्याला नपाएर मजदुरले कुटेर मारे भन्नुभन्दा सीडीओ कार्यालयको गेटमा आत्महत्या गर्छु,’ गुहार माग्न प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आएका मजदुर नाइके नोकबहादुर पुनले भने । ज्याला माग्दा भोलिभोलि भन्दै ठेकदार भागेको र फोन पनि उठाउन छोडेको मजदुरले गुनासो गरे । निर्माण क्षेत्रमा चर्चित ठेकदार कम्पनी शर्मा–युनाइटेडले भीरपहरा र खोलामा जोखिमपूर्ण काममा लगाएका मजदुरको १ करोड ११ लाख ज्याला नदिएको हो । ज्याला नपाउने अधिकांश मजदुर रुकुम, रोल्पा, सल्यान, जाजरकोट, बझाङका छन् ।


‘ठेकदार कम्पनीले रेस्पोन्स नै गरेको छैन । ठेकदारको ख्याति ठूलो तर कर्म सानो रहेछ । कम्पनीले पटकपटक प्रहरी/प्रशासनलाई पनि ढाँट्यो,’ मजदुरको गुनासो सुनेपछि प्रजिअ ज्ञाननाथ ढकालले भने, ‘सीडीओ र डीएसपी नै ठेकदारसँग मिलेर ज्याला नदिएको आरोप मजदुरले लगाएका छन् । मानवीय क्षतिको जोखिम रोक्न भरमजदुर प्रयासमा छौं ।’


निर्माण क्षेत्रका ठूला ठेकेदारले दुर्गम र टाढाबाट मजदुर ल्याए सस्तोमा काम लगाउने, काम गरेको पारिश्रमिक लामो समय नदिने, मजदुरलाई तड्पाउने, झुलाउने, गलाउने र अन्त्यमा थकाएर भोको पेट फर्कन बाध्य पर्ने गरेको जिफन्ट म्याग्दीकी अध्यक्ष बलदेवी बरुवाल राईले बताइन् । भनिन्, ‘यो चरम श्रम शोषण मात्र होइन मानवताविरोधी अपराध पनि हो । मजदुरमाथिको श्रम शोषणबारे नागरिक प्रशासन, राजनीतिक दलको मौनता खेदजनक छ ।’


गत असारमा यही ठेकेदार कम्पनीका अर्को मजदुर समूहलाई पनि ७६ लाख रकम भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिएका थिए । प्रहरी/प्रशासनले पक्राउ गरी मुद्दा चलाउने भन्दै दबाब दिएपछि आधा रकम दिएर बाँकी एक महिनामा भुक्तानी गर्छु भन्ने कबोल गरे पनि अहिलेसम्म आधा रकम नदिएपछि मजदुर रित्तै घर फर्किएका छन् । ठेकेदारसँग फोनमा सम्पर्क गर्न खोज्दा हुन सकेन ।

प्रकाशित : आश्विन १८, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?