३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुई तहका बिचौलियाले च्यांग्रा महँगो

दीपक परियार

पोखरा — दसैं मनाउने च्यांग्रा किन्न पोखराको याम्दी पुगेका सिर्जनाचोकका राजन कुँवर भाउ सुनेर खंग्रंङ भए । पोहोर २१ हजार रुपैयाँ हालेको उत्रै च्यांग्रालाई यस वर्ष व्यापारीले २५ हजारमा पनि दिएनन् । व्यापारीले २७ हजारभन्दा एक रुपैयाँ नघट्ने भनेपछि बुझाइसकेको पैसा फिर्ता मागेर उनी अर्को बथानमा हान्निए ।

दुई तहका बिचौलियाले च्यांग्रा महँगो

‘च्यांग्रा लगेमात्रै घरमा दसैं आएजस्तो हुन्छ,’ उनले भने, ‘मूल्य भने वर्षैपिच्छे बढेकोबढ्यै छ । किसानले कति पाउने हुन् ! यहाँ बिचौलियाले सके ।’


पहिले खसीबोकाले दसैं मनाउने पोखरा हिजोआज च्यांग्रा खान्छ । हिमाली भेगतिरबाट ओर्लिएका भेंडा–च्यांग्राको स्वाद लिन पोखराबासी अभ्यस्त भएका छन् । पोखराको हेम्जामा च्यांग्राको मेला लागेको छ । सिमपानी कटेपछि याम्दी हुँदै पोखरा–बागलुङ राजमार्गका छेउछेउमा बिक्रीका लागि राखिएका भेंडा–च्यांग्राका बथान भेटिन्छन् । पोहोरभन्दा यस वर्ष च्यांग्रा महँगो भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।


भेडा–च्यांग्रामा २ तहका बिचौलिया हुँदा महँगिएको हो । तिब्बत, मुस्ताङ, डोल्पा, मुगु, बझाङ, दार्चुलालगायत जिल्लाबाट भेडा–च्यांग्रा ल्याइएका छन् । उपल्लो मुस्ताङका व्यापारीले तिब्बतीसँग खरिदेर जोमसोमसम्म च्यांग्रा झार्छन् । च्यांग्रा किन्न पोखराबाट व्यापारी जोमसोम पुग्छन । उपल्लो मुस्ताङका व्यापारीले प्रतिगोटा ५ हजार रुपैयाँसम्म नाफा खाएर पोखराबाट पुगेका व्यापारीलाई च्यांग्रा बेच्छन् ।


व्यापारीले ती च्यांग्रा पोखरा ल्याउँदा भाउ छोइनसक्नु हुन्छ । तिब्बत, मुस्ताङ, डोल्पा र मुगुका भेंडा–च्यांग्रा म्याग्दी, पर्वत हुँदै पोखरा आइपुग्छन् । केहीले हिँडाएर र केहीले ट्रकमा हालेर ल्याउँछन् । बझाङ र दार्चुलाबाट धनगढी हुँदै ल्याइन्छ । मुस्ताङबाट ल्याइएको तुलनामा बझाङ र दार्चुलाबाट ल्याइएका च्यांग्रा केही सस्ता छन् । च्यांग्रा व्यापारी भीम बुढाका अनुसार मुस्ताङका च्यांग्रा २० देखि ३० हजार रुपैयाँ पर्छ । जबकि बझाङका च्यांग्रा रोजी रोजी २५ हजार मै पाइन्छ । तौल पनि धेरै हुन्छ । ‘मिठै खाउँ भन्नेले मुस्ताङका लैजान्छन्,’ उनले भने, ‘धेरै खाउँ भन्नले बझाङको लैजान्छन् ।’ च्यांग्राको तुलनामा भेंडा सस्तो पर्छ । खसीबोका व्यवसायी समितिका पूर्वअध्यक्ष गोकर्ण भण्डारीका अनुसार यस वर्ष २७ हजार भेंडा–च्यांग्रा मुस्ताङबाट बाहिरिएका छन् ।


तीमध्ये १५ हजारजति पोखरामा खपत हुन्छ । बाँकी म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, काठमाडौं र रूपन्देहीसम्म पुग्छन् । पहिलेपहिले मुस्ताङका पशुपालक किसान स्वयं च्यांग्रा लिएर पोखरा झर्ने गरेको उनलाई सम्झना छ । अलि पछि मुस्ताङका व्यापारीले किसानबाट खरिदेर पोखरा ल्याउन थाले ।


अहिले भने पोखरा, काठमाडौं, बुटवललगायत सहरबाट व्यापारी नै मुस्ताङ पुग्छन् । व्यापारी मुस्ताङ उक्लिएसँगै च्यांग्राको भाउ पनि उकालो लागिरहेको छ । व्यापारी बढेर प्रतिस्पर्धा बढ्नुलाई उनी च्यांग्रा महँगिनुको कारण मान्छन् । ‘पहिले मुस्ताङवासीले पोखरामा च्यांग्रा झारेपछि जसरी पनि बेचेर फर्किनुपर्ने भएकाले सस्तो पर्थ्यो,’ उनी भन्छन्, ‘अहिले पोखराबाट व्यापारी मुस्ताङ पुग्न थालेपछि उतै खोसाखोस हुन्छ । मुस्ताङका व्यापारी र किसानले महँगो भाउ लगाउँछन् ।’ उपल्लो मुस्ताङवासीले यस वर्ष ९ हजार भेंडा–च्यांग्रा बेचे । तीमध्ये ६ हजार तिब्बतबाट ल्याइएका हुन् ।


प्रकाशित : आश्विन १७, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?