१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खसीबोका बेच्न भ्याइनभ्याई

दाङ/नेपालगन्ज — दसैं सुरु भएपछि किसानलाई खसीबोका बेच्न भ्याइनभ्याई छ । गाउँगाउँमा सहकारीमार्फत पालिएका खसीबोका काठमाडौंसम्मै गइरहेका छन् । आइतबार मात्रै देउखुरीबाट २५० खसीबोका काठमाडौं पठाइए । सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँबाट संकलित खसीबोका काठमाडौं पठाउने गरेको छ ।

खसीबोका बेच्न भ्याइनभ्याई

व्यवसायीहरू ट्रक लिएर गाउँसम्मै आउने गरेको लमहीस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवीमाया थापाले बताइन् । ‘किसानले व्यावसायिक रूपमा बाख्रापालन गरेका छन् । दसैंका लागि घरघरबाट खसीबोका जम्मा भएका छन्,’ उनले भनिन्, ‘एक ठाउँमा जम्मा गरेर काठमाडौं पठाइरहेका छौं । यहीँ पनि विभिन्न ठाउँमा गइरहेका छन् ।’


लमहीको रिहारमा दसैंका लागि खसीबोका बजारीकरण केन्द्र राखिएको छ । विभिन्न सहकारीका सदस्यहरू रिहारमा जम्मा भएर खसीबोका बिक्री गर्छन् । खाद्य संस्थानले २५ किलोभन्दा माथि जिउँदो खसी ५३५ र २० देखि २५ किलोसम्मको ५१० रुपैयाँ प्रतिकिलो मूल्य तोकेको छ । यसैगरी बोका २० किलोमाथिको ५१० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।


सहकारीमार्फत खसीबोका पालनमा प्रोत्साहन गर्न प्रदेश सरकारले समेत लगानी गरिरहेको छ । प्रदेश सरकारले कोहलपुर र बुटवलमा आधुनिक बधशाला निर्माणका लागि १४ करोड बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए । अहिले अधिकांश सहकारी खसीबोका पालनमा जुटेका छन् । दाङ, प्यूठान, सल्यान, सुर्खेत, बाँके र बर्दियामा ५८ सहकारीका २७ हजार सदस्य बाख्रापालनमा संलग्न रहेको बजारीकरणमा सहयोग गरिरहेको हेफर इन्टरनेसनलका बजार विकास अधिकृत महेश आचार्यले बताए । यसै वर्ष मात्रै ६ जिल्लाका सहकारीबाट २६ हजार खसीबोका काठमाडौं पठाउन थालिएको हेफरका क्षेत्रीय प्रमुख कृष्ण कट्टेलले बताए ।


‘सहकारीले बाख्रापालनमा जोड दिएका छन् । यसबाट राम्रो आम्दानी पनि गरिरहेका छन्,’ उनले भने, ‘किसानलाई दसैं उत्साहजनक भइरहेको छ । बजारीकरणमा समस्या नभएकाले उत्पादनले राम्रो मूल्य पाइरहेको छ ।’ गाउँगाउँका महिला बाख्रापालनमार्फत आत्मनिर्भर भइरहेको लमही नगरपालिका उपप्रमुख देवका बेल्बासेले बताइन् । ‘पहिलेपहिले महिला घरको शोभा बढाउन मात्रै केही बाख्रा पाल्थे । पैसा कमाउने हिसाबले सोच्दैनथे,’ उनले भनिन्, ‘अहिले सहकारीमा एकजुट हुने र विभिन्न व्यवसायमूलक काम गर्ने गरिरहेका छन् । दसैंमा महिलाले नै खर्च जुटाइरहेका छन् ।’


बाँके र बर्दियाका किसान महिलाले पाँच हजार खसीबोका काठमाडौं र अन्य सहरमा पठाइरहेका छन् । दसैं र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले यतिको संख्यामा खसीबोका बजारमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघकी अध्यक्ष गंगाचन्द ठकुरीले बताइन् । उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध १५ वटा सहकारीका सात हजार सदस्य महिलाले उत्पादन गरेका चार हजार काठमाडौं र एक हजार नेपालगन्जलगायत सहरमा पठाउन लागिएको सुनाइन् । उनले बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसीबोका पठाएर काठमाडौंमा खसीबोका अभाव हुन नदिने बताइन् । खसीबोका खरिद बिक्री गर्न काठमाडौंको कलंकीस्थित खसी बजारसँग सम्झौता भएको छ । उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौंलगायत सहरमा पठाउने गरेका हुन् ।


महिलाले उत्पादन गरेका खसी सरकारी दररेटअनुसार खरिद गर्दै आएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था फत्तेपुरकी व्यवस्थापक विद्या गुरुङले बताइन् । उनले जिउँदो खसी प्रतिकिलो ४५० देखि ५१५ रुपैयाँका दरले खरिद गर्दै आएको जानकारी दिइन् । ‘खसीको शारीरिक बनोट हेरेर मूल्य निर्धारण गर्छौं,’ उनले भनिन् । गत वर्षको दसैंमा १५० खसीबोका काठमाडौं पठाएको बताउँदै उनले यस वर्ष त्यसको दोब्बर पठाउन लागेको बताइन् । ‘सोह्रश्राद्ध लागेदेखि १५० खसीबोका पठाइसकेका छौं,’ उनले भनिन्, ‘दसैंसम्म थप १५० खसी पठाउँछौं ।’

प्रकाशित : आश्विन १७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?