खसीबोका खोज्दै घरघर

ठाकुरसिंह थारू

(बर्दिया) — चाडपर्व सुरु भएसँगै व्यवसायीहरू घरमै पुगेर खसीबोका किन्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । माग अधिक भएपछि व्यवसायीले पहिलेभन्दा बढी मूल्यमा खरिद गर्न थालेका हुन् । त्यसको प्रत्यक्ष फाइदा किसानलाई पुगेको छ ।

खसीबोका खोज्दै घरघर

जिउँदो खसी प्रतिकिलो ४८० रुपैयाँसम्म पुगेको छ । यसअघि जिउँदो खसी प्रतिकिलो ४३० रुपैयाँसम्म थियो । मूल्य बढ्ने क्रम अझै जारी छ ।


पूजाका लागि बोकाको मूल्य पनि किसानले मागेजस्तै पाएका छन् । तौलेरभन्दा पनि आफैंले तोकेरै बोका बिक्री गर्न पाएकामा किसान खुसी छन् । व्यवसायीहरू खसीबोका खोज्दै घरघर पुगिरहेका छन् । ‘दसैं सुरु भएपछि व्यापारी खसीबोका किन्न घरमै आउँछन् । हामीले मागेको पैसा दिन्छन्,’ किसान राजु चौधरीले भने, ‘चाडपर्व अघिपछि व्यापारीले मागेको मूल्यमा बिक्री गर्छौं । अहिले हामीले मूल्य तय गरिरहेका छौं ।’ सरकारले भारतबाट खसीबोका आयात गर्न रोक लगाएपछि माग बढेको हो ।


काठमाडौं, पोखरालगायत सहरको माग धान्नका लागि व्यवसायीहरू बर्दियाका किसानको घरमा पुगिरहेका छन् । बर्दियामा व्यावसायिक बाख्रापालनसँगै किसानले घरमै एक–दुईवटा पाल्ने गरेका छन् । बाख्रा बिक्रीले उनीहरूले आय आर्जनमा सहयोग पुुगेको छ । खासगरी एक–दुईवटा खसीबोका पाल्ने किसानले चाडपर्वका बेला बिक्री गर्छन् । ‘चाडपर्वका बेला राम्रो मूल्य पाइने भएकाले पालेरै राख्छौं । दसैं र तिहारका बेला बिक्री गरेर आम्दानी गर्छौं,’ किसान प्रेम चौधरीले भने, ‘दुई–तीनवटा खसीबोका पाल्नेले पनि राम्रो पैसा कमाउन सक्छन् ।’


बर्दियाको बाँसगढी, गुलरिया, बारबर्दिया, ठाकुरबाबा, राजापुर, मधुवन नगरपालिका एवं बढैयाताल र गेरुवा गाउँपालिकामा व्यावसायिक बाख्रापालन गरिएको छ । गुलरिया नगरपालिकामा मात्रै २५ हजारभन्दा बढी खसीबोका रहेका छन् । जिल्ला पशु सेवा समन्वय कार्यालय गुलरियाका प्राविधिक भरत देवकोटाले बर्दियाको कालिका र गुलरियाको तुलसीपुरमा खसीबोका खरिद केन्द्र रहेको बताए । किसानले उत्पादन गरेको सहकारीले खरिद गरेर एकमुष्ठ रूपमा काठमाडौं, पोखरालगायत सहरमा पठाउने गरिएको छ । दैनिक एक सयभन्दा बढी खसीबोका बर्दियाबाट बाहिरी जिल्लाका लागि पठाउने गरिएको उनले बताए । ‘बर्दियामा खसीबोका उत्पादन राम्रो छ । त्यसैले बाहिरी जिल्लाका लागि पनि पठाउन सहज छ,’ उनले भने, ‘तर, मुलुकका विभिन्न सहरबाट हुने माग भने धान्न सकिँदैन ।’


भारतबाट आयात हुँदा यहाँका किसानले उत्पादन गरेका खसीबोका व्यवसायीको नजरमा कमै पर्ने गरेका थिए । घरघरमै पुगेर संकलन गर्नुपर्ने बाध्यता र कम तौल भएका कारण व्यवसायीहरू नेपाली उत्पादन कमै खरिद गर्थे । चाडपर्वका बेला माग बढेपछि व्यवसायीले भारतको महाराष्ट्र, कानपुर, लखिमपुर, गोरखपुर र लखनउ क्षेत्रबाट जमुनापारी, तोतापरी र देशी जातका खसीबोका किनेर ल्याउने गरेका थिए । खसीबोकाको स्वास्थ्य परीक्षणका लागि पशु चिकित्सक नहुँदा किसानलाई समस्या भएको छ । स्वास्थ्य परीक्षण नगराएसम्म अर्को जिल्लामा खसीबोका लैजान रोक लगाइएको छ । जिल्लास्थित पशु सेवा समन्वय कार्यालयमा समेत चिकित्सक छैनन् । बाँसगढी नगरपालिकाका पशु रोग चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन टाढाबाट जानुपर्ने बाध्यता रहेको व्यवसायीले बताए ।


प्रकाशित : आश्विन १६, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?