तरकारीको मूल्य वृद्धिले उपभोक्ता मारमा

सुम्निमा चाम्लिङ

(इटहरी) — चाडपर्व सुरु भएपछि यहाँ तरकारीको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिले उपभोक्ता मारमा छन् । उनीहरूले चाडपर्वको मौका छोपी व्यापारीले आफूखुसी मूल्य बढाएको गुनासो गरेका छन् । 

कृषि उपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार तरकारीको माग उच्च र आपूर्ति कम भएकाले मूल्य बढेको हो । धरान र प्रदेश १ का मुख्य सहरहरूका लागि कृषि उपज बजार धरानमा दैनिक १५० टन तरकारी खपत हुन्छ । उक्त अनुपातमा तरकारी आयात हुन नसके महँगी बढ्ने गरेको छ । व्यवसायी रन्जित राईले मागअनुसार तरकारी आयात हुन नसकेकाले मूल्य वृद्धि भएको दाबी गरे ।


‘बजारमा तरकारी आयात रोकिने बितिकै एक्कासि मूल्य बढ्ने गर्छ,’ उनले भने, ‘मागअनुसार तरकारी उत्पादन हुन सकेकै छैन ।’ यस बजारको मुख्य स्रोत कोसी पहाडी जिल्लाहरू हुन् । धनकुटाबाट ५० प्रतिशत, तेह्रथुमबाट २०, भोजपुर र खोटाङबाट १०, संखुवासभा र पाँचथरबाट ७, सुनसरी मोरङ र उदयपुरबाट ८ र अन्य जिल्लाहरूबाट ५ प्रतिशत तरकारी भित्रने गर्छ ।


बाह्य स्रोतअन्तर्गत भारतबाट ८० प्रतिशत, चीनबाट १५, भुटान र बंगलादेशबाट ५ प्रतिशत तरकारी आयात हुने गर्छ । कृषि उपज बजारमा कोसी पहाडी क्षेत्रले अधिकांश हरियो तरकारीको माग धानेको छ । बाह्य देशबाट आलु, प्याज, लसुनजस्ता सुक्खा तरकारी मात्र भित्रने गरेका छन् । हाल सबैभन्दा बढी प्याजको मूल्य अकासिएको छ । दुई साताअघि ५० रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भएको प्याज अहिले ८५ रुपैयाँ पुगेको छ । भदौमा रातो भुटानी आलु ४५ रुपैयाँ प्रतिकेजी थियो भने हाल ६० रुपैयाँ पुगेको छ । काउलीको थोक मूल्य ५५ रुपैयाँ प्रतिकेजी रहेकामा अहिले ८५ रुपैयाँ पुगिसक्यो । हरियो खोर्सानी ८० रुपैयाँ प्रतिकेजी थियो । हाल ९० रुपैयाँ पुगेको छ ।


सबैजसो तरकारीजन्य वस्तुको मूल्य बढेको छ । उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि हुने गरे पनि बजार अनुगमन हुन सकेको छैन । हरियो तरकारीमा ५० प्रतिशत र सुक्खा तरकारीमा २० प्रतिशत मुनाफा आर्जन गर्न सकिने प्रावधान भए पनि व्यापारीहरूले आफूखुसी गर्ने गरेका छन् । मुनाफाका लागि निश्चित मापदण्ड नहुँदा व्यापारीले मनपरी मूल्य निर्धारण गर्ने गरेको कृषि उपज बजार धरानका व्यवस्थापक भट्टराईले बताए ।


अनुगमनको अभावमा पछिल्लो समय उपभोक्ता मूल्य वृद्धिको मारमा छन् । चाडपर्वको समयमा अत्यधिक माग र आपूर्ति निश्चित ठाउँबाट हुने भएकाले मूल्य बढेको कृषि उपज बजार धरानका व्यवस्थापक भट्टराईको भनाई छ । किसानले हरियो तरकारी उत्पादन गरे पनि यातायातको भरपर्दो व्यवस्था नहुँदा आयातमा कठिनाइ हुने गरेको छ । सामान्य वर्षाका कारणसमेत तरकारी आयात हुन सक्ने अवस्था छैन ।


सुक्खा तरकारी आलु तथा प्याजमा भने भारत परनिर्भर हुनुपर्दा मूल्य वृद्धि भएको हो । कृषि उपज बजार धरानअन्तर्गत गत वर्ष मात्र १ लाख २८ हजार ५ सय ४१ टन (५ अर्ब २० करोड ४६ लाख ३५ हजारको) कारोबार गरेको छ । आपूर्तिको व्यवस्था निश्चित नहुनु, यातायातको अभाव, मौसमी खेतीमा परनिर्भर हुनुजस्ता कारणले तरकारीको मूल्य स्थिर हुन नसकेको हो ।


पछिल्लो समय किसानहरूले व्यावसायिक खेती पनि गर्न छाडेको राजारानी धनकुटाकी जमुना लिम्बुले बताइन् । ‘समयमा मल पाइँदैन । पहाडमा तरकारी उत्पादन गरे पनि ढुवानीको समस्या छ,’ उनले भनिन् । कृषि उपजबाट औसतमा दैनिक औसत आलु ४१ टन, प्याज २० टन, टमाटर ३६ टन र बन्दा ३५ टन गरी ५८ लाख बराबरको कारोबार हुने गर्छ । हरियो तरकारीमा कोसी करिडोर सक्षम भए पनि सुक्खा तरकारीमा भने भारत निर्भर हुनुपरेको छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?