१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राजमार्गका होटलमा ठगी

राजु चौधरी

काठमाडौँ — दसैं आएसँगै राजमार्गमा चहलपहल बढ्दो छ । दैनिक एक लाखभन्दा बढी यात्रु उपत्यका बाहिरिएका छन् । राजमार्गमा चहलपहलको फाइदा उठाउँदै होटल व्यवसायीले पनि यात्रुहरूसँग चर्को असुली गर्दै आएका छन् ।
 ‘सादा खाना १ सय रुपैयाँभन्दा बढी पर्दैन ।

मलेखुमा २५५ रुपैयाँ तिर्न बाध्य भएँ,’ सोमबार चितवन पुगेकी सविना महतोले भनिन्, ‘खाना पनि बासी जस्तै थियो । यो त ज्यादै ठगी भयो ।’ उनले चना र अण्डाको १२० रुपैयाँ तिर्नुपरेको बताइन् । महतोजस्तै शनिबार बैतडी पुगेका राजेन्द्र चन्दको भनाइ पनि उस्तै छ । उनले नौबिसेमा चाउचाउ ५० रुपैयाँमा खरिद गरेको बताए । ‘मुग्लिनमा सादा खानाको २५५ रुपैयाँ तिरें । खाना पनि गुणस्तरीय थिएन,’ उनले भने ।

बालाजु बसपार्कबाट बुधबार गाडी चढेका उनी राजमार्गको होटल तथा पसलहरूले गुणस्तरहीन खाना र अन्य खाद्य वस्तुहरू पनि चर्को मूल्य असुल्दै आएको बताए । ‘व्यवसायीहरूले खुलमखुला यस्तो गरिहेका छन्, नियमन छैन,’ चन्दले भने । होटल सञ्चालकले खानाको सेट नै ल्याएर चर्को शुल्क असुल्दै आएको उनीहरूको दाबी छ । एकथरी अर्डर गर्दा होटलवालाहरूले पुरै सेट नै दिने गरेको यात्रुहरूको भनाइ छ । ‘मासु–चिउरा अर्डर गर्दा चना, आलु, अचारसहित जोडेर सेट दिएका छन्,’ मंगलबार नवलपरासी पुगेका विवेक बर्तौलाले भने, ‘खाजापश्चात् खाजा सेटको नाममा साढे ३ सय असुले ।’


यातायात व्यवसायीका अनुसार चाडबाडका लागि राजधानी छाड्नेको सख्या दैनिक बढ्दो छ । ती यात्रुहरू दैनिक ठगिँदै आएका छन् । नियमक निकाय मौन छन् । होटलहरूले बिक्री गर्ने खाना खाजाको गुणस्तर चेकजाँच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्नुपर्छ । मूल्य तथा म्याद नाघेको वस्तु/बिक्री वितरणको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्नुपर्छ । संघीय सरचनासँगै अहिले स्थानीय निकायलाई पनि अधिकार दिइएको छ । यी निकायबाट अनुगमन नै हुन सकेको छैन ।


आपूर्ति विभागले उपत्यकामा अनुगमन गरे पनि राजमार्गमा ध्यान नै दिएको छैन । खाद्य प्रविधिले कर्मचारीको अभाव भन्दै होटल व्यवसायीलाई सचेत गराइएको जनाउँदै आएको छ । यी जिम्मेवार निकायबाट लापरबाही हुँदा दैनिक लाखौं यात्रुहरू ठगिएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।


‘आपूर्तिलाई उपत्यकामा मात्रै उपभोक्ता, उपत्यकामा मात्रै दसैंको भान भएको देखिन्छ । खाद्य प्रविधि गैरजिम्मेवार र उपभोक्ताको हकहितबाट पन्छिन खोजेको देखिन्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यी निकायको गैरजिम्मेवारीले यात्रु ठगिएका छन् । गुणस्तरहीन खाद्य खान बाध्य छन् ।’


यात्रुहरू पनि हतारमा हुँदा गुनासो/उजुरी गर्दैनन् । चाडबाड सकिएपछि राजमार्गको कुरा त्यतिकै सेलाउँछ । यही बेला नियमनकारी निकायले राजमार्गमा अनुगमन तीव्र बनाउनुपर्छ । आफ्नो स्वार्थमा मात्रै अनुगमन गर्दै आएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । ‘व्यवसायीको अगाडि यात्रुहरू निरीह भए,’ उनले भने, ‘नियमन र कारबाही गर्न अधिकार पाएका नियमनकारी निकायले बेवास्ता गरेका छन् ।’ मूल्य र म्याद नाघेको सम्बन्धी अनुगमन गर्न जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षणले पनि अनुगमन उपत्यकामा केन्द्रित गरेको स्वीकार गरे । ‘चाडबाडका लागि बढी किनमेल हुने हुँदा अनुगमन उपत्यकामै केन्द्रित गरेका छौं । दैनिक ४ टोलीबाट अनुगमन भएको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘राजमार्गको अनुगमन खाद्य प्रविधिले हेर्नुपर्छ । मूल्यको सन्दर्भमा आपूर्तिले हेर्छ । हामी अनुगमन गर्छौं ।’


खाद्य प्रविधि प्रवक्ता मोहनकृष्ण मर्हजनले कर्मचारीको अभावमा प्रभावकारी हुन नसकेको बताए । होटल व्यवसायीलाई सचेतनासम्बन्धी तालिम, राजमार्गको होटलमा हरियो र रातो रङको स्टिकरसम्बन्धी गोष्ठी भएको बताए । ‘स्थानीय तहले तालिम/अनुगमनका लागि माग गरेपछि कर्मचारी त्यता पठाउनुपर्ने अवस्था छ । खाद्य निरीक्षक दुई/तीनजना मात्रै छन्, दैनिक कार्यमा अल्झिएका छन्,’ उनले भने, ‘मूल्यको सन्दर्भमा आपूर्तिले नै हेर्ने हो ।’

गुणस्तरको अनुगमनको हकमा होटल व्यवसाय एसोसिएसन, स्थानीय निकाय र प्रहरीसहितको समिति गठन भएको बताए ।


प्रकाशित : आश्विन १६, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?