कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

‘हावापानीले धानमा दाना लागेन’

सीमावर्ती गाउँका किसान बढी उत्पादन हुने आसमा भारतबाट बीउ ल्याउँछन् । कतिपय बीउलाई सरकारले अनुमति दिएको छैन । सूचीकृत नभएका बीउ प्रयोग गर्दा किसान जहिल्यै मर्कामा परिरहेका छन् । 
ठाकुरसिंह थारु

(बर्दिया) — बढैयाताल गाउँपालिकाका किसानले लगाएको भारतीय सौरभ प्रजातिको धान यहाँको वातावरण सुहाउँदो नभएका कारण दाना लाग्न नसकेको कृषि वैज्ञनिकहरूले बताएका छन् । उनीहरूले किसानको खेतमै पुगेर गरेको स्थलगत अध्ययनपछि उक्त निष्कर्ष निकालेका हुन् । 

‘हावापानीले धानमा दाना लागेन’

सौरभ धानको बीउ नेपालमा हालसम्म सिफारिस भएको छैन । धेरै उत्पादन हुने भन्दै किसानले नजिकैको एग्रोभेट र भारतबाट किनेर बीउ राखी रोपाइँ गरेका थिए ।


सौरभ धान सयौं बिघामा लगाइएको छ । दाना नलागेपछि किसान मारमा परेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले फरक हावापानीकै कारण बाला नलागेको बताए । ‘गाँज मजाले लागेको छ । राम्रै पसाएको छ । तर, बाला बाहिर निस्केपछि भित्र गुदी लागेन,’ उनले भने, ‘बीउमा खराबी भएको भए नउम्रिन सक्थ्यो । सबैथोक भयो तर हावापानी नमिलेपछि तयार हुनै लागेको धानमा दाना लागेन ।’


धान थन्क्याउन किसानले भकारीको जोहो गरिरहेका बेला धानमा आएको समस्याले हाहाकार मच्चिएको छ । श्रम र लगानी खेर गएपछि उनीहरू छटपटिएका छन् । वर्षभरिको कमाइ चौपट भएको छ । ‘हामी त बर्बादै भयौं । वर्षभरिको कमाइ लुटियो,’ किसान झगरु थारूले भने, ‘भारतबाट धानको बीउ किनेर नमज्जाले फसियो ।’ क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क) का बाली वैज्ञानिक वशिष्ठ आचार्यले धानमा कुनै किसिमको किरा नलागेको बताए । उनले खेतमा पानीको राम्रो व्यवस्था भएकाले बाला निस्केको तर दाना नलागेकाले बीउमै समस्या भएको सुनाए । ‘भारतको कुनै क्षेत्रको धान होला । यताको वातावरण सुट नगरेको हुन सक्छ,’ उनले भने, ‘वर्षाका कारण भएको भए वर्षापछि पसाएको बालामा दाना लाग्नु पर्थ्यो । तर, त्यस्तो भएको पनि देखिएन ।’


खजुरास्थित बाली संरक्षण प्रयोगशालाका प्रमुख पुष्पराज बेलवासेले नेपालमा सूचीकृत नभएको धानको बीउ प्रयोग गरेका कारण यस्तो समस्या आएको बताए । उनले धानको गाँज मजाले फस्टाएको तर दाना नलाग्नुमा वातावरणको प्रभाव हुनसक्ने जानकारी दिए । ‘एउटा किरा पनि बालामा देखिएन । बाला पनि मजाले लागेकै छ । तर, गुदी भर्ने बेला सुक्न थालेको देखियो,’ उनले भने, ‘किरा लागेको समस्या भए कन्ट्रोल गर्न सकिन्थ्यो । तर, यो हाम्रो बसमा रहेन ।’


उनले भकारीमा धान राख्ने बेला बढैयाताल गाउँपालिकाका किसानले निकै ठूलो क्षति बेहोरेको बताए । ‘बीउ नउम्रेको भए अर्को छर्थे होला । तर, फल लाग्ने बेला देखिएको समस्याले किसानले निकै ठूलो मूल्य चुकाउनुपरेको छ,’ उनले भने, ‘समयमै किसानले ध्यान दिन नसक्दा यति ठूलो क्षति बेहोर्नुपरेको हो ।’ कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सकिल अहमदले भारतीय बीउका कारण किसानलाई क्षतिपूर्ति दिलाउन समस्या भएको बताए । ‘नेपालको बीउ भएको भए क्षतिपूर्तिका लागि पहल गर्न सकिन्थ्यो । भारतीय भएकाले समस्या भयो,’ उनले भने, ‘किसानले कृषि प्राविधिकसँग सल्लाह नगर्दा समस्या आयो ।’


प्रकाशित : आश्विन १४, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?