महँगीले दसैं खल्लो

प्रदेश ब्युरो

(बुटवल) — घटस्थापनाको सुरुवात सँगै घरघरमा दसैं भित्रिएको छ । सबैतिर जमरा राख्ने, पूजापाठ गर्ने र दसैं कसरी मनाउने भन्ने योजना बुनिदैछ । प्रत्येक वर्षझैं यसपालि पनि पर्व सुरु भएसँगै खाद्यान्न, तरकारी र फलफूलको मूल्यवृद्धिले भने सर्वसाधारण मारमा छन् । बुटवलस्थित खयरघारीका श्यामबहादुर परियार कामविहीन भएका छन् ।

महँगीले दसैं खल्लो

दसैं लाग्यो भन्दै ठेकेदारले १५ दिन घर निर्माण रोके । त्यसपछि उनी काम र दामविहीन भए । साँझ–बिहान खाने खर्च सकिन थालेको छ । छोराछोरी नयाँ लुगा माग गरिरहेका छन् । माछामासु खाने रहर गर्छन् । ‘दिनभर काम गरेर दुई छाक खाने मान्छे । काम रोकियो,’ उनले भने, ‘काम नभएपछि दसैं कसरी मनाउने !’


पत्नी र छोराछोरीसहित पाँच जनाको परिवार छ, उनको । तिनाउ किनारमा झुप्रो छ । पत्नी चुमकला दमकी रोगी हुन् । मजदुरी गर्न सक्दिनन् । छोराछोरी सानै छन् । मजदुरी गरेर कमाएको दैनिक चार सय रुपैयाँ ज्याला जोगाएर किनेको खाद्यान्नले खान पुग्दैन । घरमा खाने खर्च जुटाउन दसैंभरिलाई बजारमा अरु काम खोज्नुपर्ने उनले बताए ।


दसैंका बेला निजी तथा सरकारी निर्माण तथा पूर्वाधारका काम रोकिन्छन् । त्यसैले मजदुरका लागि दसैं दशा बन्छ । स्थानीय तुलादेवी विकका पतिले दोस्रो बिहे गरेपछि उनीमाथि तीन छोराछोरी पाल्ने जिम्मेवारी छ । निर्माण मजदुरीबाट दैनिक ३ सय ५० कमाउने उनको पनि घटस्थापनासँगै काम रोकिएको छ । बचत गरेको २ हजार ५ सय रुपैयाँबाट दसैंभर खान भनेर १५ किलो चामल, तीन किलो दाल, पाँच किलो आलु र दुई लिटर तेल किनेकी छन् । ‘टीकाको दिनसम्म पनि पुग्दैन होला,’ उनले भनिन्, ‘दसैंमा अरूका घरमा माछामासु खान्छन् । आफ्ना छोराछोरीलाई दालभात पनि खुवाउन सक्दिनँ कि भन्ने चिन्ता छ ।’


तिनाउ पुलमुनि नदी किनारमै जोडिएको छ उनको बस्ती । त्यहाँ ६० घरधुरी छन् । धेरैजसो निर्माण मजदुर छन् । केहीले थोक बजारमा सामान लोड अनलोड गर्छन् । त्यसबापत दैनिक साढे चार सय रुपैयाँसम्म कमाउँछन् । दैनिक ज्यालादारीको रकमले गर्जो टार्छन् । सधैंभरि खानाकै पिरलो हुन्छ । टोलमा दसैंको रौनक छैन । किनमेल छैन । जमरा रोपेका छन् । तर, टीका लगाउने तयारी छैन । ‘बजारमा सामानको मूल्य बढेर छोइसक्नु छैन । ५० रुपैयाँ पर्ने चामल ६५ रुपैयाँ पुगेछ, आठ सय रुपैयाँ किलो पर्ने खसीको मासु एक हजार पुगेछ,’ स्थानीय मनप्रसाद सुवेदीले भने, ‘खाने खर्च जुटाउन नसक्ने बेला दसैंको रौनक भएन । चाडबाड निल्नु न ओकल्नु बनेको छ ।’


उनकी पत्नी खिमा निर्माण मजदुर हुन् । दुवैले दसैंका लागि ५ हजार ५ सय रुपैयाँ बचाएका छन् । काम रोकिएकाले यसबाटै तीन छोराछोरीसहितको खाने खर्च र नानाचाचा किन्न पुर्‍याउनुपर्ने बाध्यता छ । ‘केटाकेटी स्कुल जान्छन् । साथीहरूले नयाँ लुगा किनेको सुनाउँछन् रे,’ मनप्रसादले भने, ‘आफूले टालेको लगाए पनि तीनवटै छोराछोरीलाई नयाँ लुगा किनिदिनु पर्नेछ ।’


नजिकै विनापाते बस्ती छ । धेरैजसो निर्माण मजदुरी गर्छन् । स्थानीय कृष्ण नेपाली कृषि उपज तथा थोक बजारमा सामान गाडीमा उठाउने र राख्ने काम गर्छन् । त्यसबापत दैनिक पाँच सय रुपैयाँसम्म कमाउँछन् । यही ज्यालाले गुजारा चलाउँछन् । ‘यो बस्तीमा दसैंको रौनक आउँदैन,’ स्थानीय रोमबहादुर सुनारले भने, ‘काम पाउँदाको दिन काममा जान्छन् । त्यस दिन रक्सी र मासु टन्न खान्छन् । नत्र नदी किनारमा बसेर टहलिन्छन् ।’


बढ्दो सहरीकरणले प्रदेश ५ को अस्थायी मुकाममा विकास निर्माणका काम धेरै हुन्छन् । यहाँ करिब पाँच हजार निर्माण मजदुर बस्छन् । दिनभर कमाएर साँझ–बिहानको गुजारा चलाउने धेरै छन् । काम रोकिंदा भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । यही क्षेत्रका बासिन्दा तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमले निर्माण मजदुरको अवस्था दयनीय हुने भएकै कारण पछिल्लो समय दसैंका बेला लामो समय काम नरोक्न आग्रह गरेको बताए ।


तरकारी चर्को

पानी छम्किँदै राखिएको हरियो धनिया देखेर बाँकेको खजुराकी कुलदेवी बोहराले ‘चट्नी’ सम्झिन् । उनको भान्सामा धनियाले प्रवेश नपाएको धेरै भयो । त्यसैले हरियो तरकारी खरिद गर्न २० रुपैयाँ भाडा तिरेर नेपालगञ्जको रानीतलाउस्थित सब्जीमण्डी पुगिन् । पसलेले धनियाको प्रतिकिलो ४ सय रुपैयाँ बताएपछि ‘रुनु न हाँस्नु’ भइन् । ‘भो हजुर फोटो हेरेर चित्त बुझाउँला,’ उनले भनिन्, ‘खान लेखेको रहेनछ ।’ यहाँ दिन प्रतिदिन तरकारीको मूल्य अकासिँदै छ । चाडबाडका बेला तरकारीको फोटो हेरेरै मन भर्न बाध्य भएको गृहिणीले बताए ।


दुई दिनअघि ६० रुपैयाँ प्रतिकिलोमा गोलभेंडा खरिद गरेकी स्थानीय शान्ता कार्कीले आइतबार एक सय रुपैयाँ तिर्नु पर्‍यो । सस्तो पाइयो भन्दैमा तरकारी धेरै लगेर राख्न मिल्दैन । आवश्यक परेर बजारमा आउँदा मूल्य दोब्बर भइसक्छ । यसरी बढ्दै गए दसैंसम्म प्याज र गोलभेडा छोइनसक्नु हुने उनले सुनाइन् । उनका अनुसार आठ सय प्रतिकिलो पाइने खसीको मासुका परिकार तयार गर्न झन्डै एक हजार रुपैयाँका अन्य सामान जुटाउनु पर्छ । ‘प्याज र गोलभेडाको भाउ चर्को छ,’ उनले भनिन्, ‘यी बिना मासु स्वादिलो हुन्न ।’


धम्बोजीका पुनीत श्रेष्ठ पहिलोपटक पत्नीका साथ तरकारी किन्न बजार आए । रायोको साग उनलाई मन पर्छ । पहिले १० रुपैयाँ मुठा थियो, अहिले ५० रुपैयाँ पुगेको छ । व्यापारीले मुठामा घाटा लागेको भन्दै किलोको एक सय रुपैयाँका दरले बेचिरहेका छन् । ‘साग महँगो छ,’ व्यापारी वीरबहादुर भण्डारीले भने, ‘अरुको कुरा के गर्नु !’ वर्षाका कारण सल्यान, सुर्खेतलगायत पहाडी जिल्लाबाट यहाँ ल्याइने तरकारी नष्ट भएका छन् । ढुवानी बेलैमा नहुँदा बजारसम्म पुर्‍याउन पाएका छैनन् ।


पर्व नजिकिँदै छ । माग ह्वात्तै बढेपछि थोरै सामान ल्याएर बिक्री गर्न बाध्य भएको भण्डारीले बताए । अचाक्ली मूल्य चाड सुरु भएपछि बजारमा चहलपहल बढिरहेको छ । ग्राहकको चापसँगै सामानको मूल्य अकासिँदै छ । खाद्यान्न महँगो भए पनि चाडपर्वमा घरमा रोटीका परिकार बनाउने चलन कम हुँदै गएको छ । बजारबाट मिठाई र फलफूल किनेर दसैं र तिहार मान्ने प्रचलन बढेको छ । खाद्यान्न खरिद गरेर घरमा परिकार बनाउँदा धेरै खर्च हुन्छ । दसैंमा घरमा जमघट हुने भएकाले दैनिक उपभोग्य बस्तु बढी खपत हुन्छन् ।


खाद्य पदार्थ महँगो भएपछि खानपिन खल्लो भएको सर्वसाधारण बताउँछन् । पसलैपिच्छे फरक मूल्य रहेको उपभोक्ता हित संरक्षण मञ्च, दाङका जिल्ला अध्यक्ष केशवकुमार शर्माले बताए । मापदण्ड नतोकिएकाले समस्या भएकाको उनले बताए । ‘मूल्यसूचीबिना सामान बिक्री भइरहेका छन् । कुन सामानको कति भन्ने यकिन छैन,’ उनले भने, ‘पसल अनुसार फरकफरक मूल्य छ । उपभोक्ता ठगिएका छन् । चाडपर्वमा कालोबजारी रोक्न पर्याप्त तयारी भएको छैन ।’


सरकारी निकायले मूल्यमा एकरूपता कायम नगर्दासम्म बजारमा मनपरी मूल्य वृद्धि भइरहने उनले बताए । मिठाईलगायतका खाद्य पदार्थमा अखाद्य रंग लगाएका वस्तु मिसाउने, सडेका फलफूल बेच्नेजस्ता प्रचलन पनि बढिरहेको उनले बताए । मासु, प्याज, दुध, दहीमा मूल्य बढेको गुनासो आइरहेको उनले बताए । ‘बढी प्रयोग हुने खाद्य पदार्थमा मूल्य घटाउन माग गरेका छौं,’ उनले भने ।


व्यवसायीले प्रतिस्पर्धाको बजारमा फरकफरक मूल्यमा नै खाद्य पदार्थ बिक्री गरिरहेका छन् । कतिपय पसलमा मूल्यसूची नै राखिएको छैन । मूल्यसूची नभएपछि मनपरी भाउमा सामान बिक्री गर्ने गरिएको छ । उद्योग वाणिज्य संघ, दाङले भने मूल्यवृद्धि नभएको दाबी गरेको छ । ‘मूल्यवृद्धि भएको छैन । सबै सामानको नियमित मूल्य नै हो । दूधदहीको मूल्य भने बढेको छ,’ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले भने, ‘यो देशभरि बढेकाले यहाँ पनि बढेको हो । अन्य सामानमा समस्या छैन । अनावश्यक उपभोक्तालाई दुःख दिने या ठगी गर्ने गरेको पाइएमा कारबाही हुन्छ ।’


बजारमा अनुगमन गरेर उपभोक्तालाई ठगिनबाट बचाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, विषयगत कार्यालय र सरोकारवालाहरूलाई प्रशासनमा बोलाएर पटकपटक छलफल गरिरहेको रिजालको भनाइ छ । कतै ठगिएको पाइए कारबाही गर्ने रिजालले बताए ।


(बुटवलबाट अमृता अनमोल, बाँकेबाट मधु शाही, कपिलवस्तुबाट मनोज पौडेल र दाङबाट दुर्गालाल केसी)


प्रकाशित : आश्विन १४, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?