२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

स्याउ ढुवानीमा सास्ती

तुलाराम पाण्डे

(कालीकोट) — तिलागुफा नगरपालिकाका टेकबहादुर शाहीको बगैंचामा एक हजार स्याउका बिरुवा हुर्किएका छन् । ०५७ मा कर्णाली अञ्चल विशेष कृषि विकास कार्यक्रम सुरु भएयता स्याउ रोप्न थालेका हुन । चार वटा बगैंचामा स्याउका बिरुवा फल्न थाले पनि उत्पादित स्याउ सडकसम्मै झार्न उनलाई सकस छ ।

स्याउ ढुवानीमा सास्ती

‘स्याउ त फले, सडकसम्मै पुर्‍याउन पो समस्या भयो,’ यस वर्ष मुख्यमन्त्री उत्कृष्ट पुरस्कार पाएका उनले भने, ‘महँगो ढुवानीले लागत उठाउनै मुस्किल छ ।’ गत वर्ष तीन सय २० क्विन्टल स्याउ उत्पादन गरेका उनको बारीमा असिनाले नष्ट गरेपछि यस वर्ष डेढ सय क्विन्टल मात्र उत्पादन भएको छ । उनको बारीका बाँकी एक हजार तीन सय बिरुवा अबको दुई वर्षभित्र फलिसक्छन् । उत्पादित स्याउ कर्णाली राजमार्गसम्म ढुवानी गर्न प्रतिकिलो १० रुपैयाँ तिर्नुपर्छ ।


नगरपालिकाको फोइमहादेव चिल्खाया, राचुली, जुविथा, छाप्रे, महावैको ओदानकु, गेला, सुभकालिकाको मुग्राहा, सुकाटिया र भर्ताका कृषकले केही वर्षयता व्यावसायिक स्याउ खेती गरेका छन् । असिनाले क्षति गरेकाले धेरै उत्पादन नभए पनि फलेको स्याउ बजारसम्म पुर्‍याउनै कठिनाइ भएको तिलागुफा–३, का कृषक बेगम शाहीले बताए । हिउँदको सिजनमा नाग्म र राचुली बजारबाट गाउँमा गाडी पुग्ने भए पनि स्याउ सिजनमा सडक अवरुद्ध हुने उनको गुनासो छ ।


गाउँमा सेलार स्टोरको अभाव, प्याकेजिङ र ग्रेडिङको समस्याले किसान काँचै स्याउ टिप्न बाध्य छन् । सडक नजिक राचुली, धनाडा र मेहेसेराका स्याउ कृषकले प्रतिकिलो ४५ रुपैयाँमा स्याउ बेच्ने गरेका छन् । कतिपय कृषकको स्याउ लिन सुर्खेत र नेपालगन्जका व्यापारी घरमै पुगेको तिलागुफा नगरपालिका–१० का वडाध्यक्ष मुनबहादुर थापाले बताए । ‘केही घण्टा हिँड्नुपरे पनि कर्णाली राजमार्गले स्याउ बजार पुर्‍याउन सहज बनाएको छ,’ उनले भने, ‘सडक नहुँदा गाईभैंसीलाई स्याउ खुवाउनुपर्ने बाध्यता थियो ।’


सुर्खेत र नेपालगन्जबाट खाद्य तथा निर्माण सामग्री बोकेर आएका ट्रक अहिले जुम्ला, मुगु र कालीकोटबाट स्याउ भरेर फर्किन थालेको तिलागुफा नगर प्रमुख रतनबहादुर शाहीले बताए । उनका अनुसार तिलागुफा कर्णालीकै सबैभन्दा बढी स्याउ उत्पादन हुने स्थानीय तह हो ।


स्याउ कृषक भक्तिराम पाण्डेका अनुसार फोइमहादेवमा रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियसलगायत विभिन्न जातका फलेका छन् । उनले असिनाले चोट लागेका स्याउ छुट्याएर जामजेली बनाउन सकिने बताए । ‘महँगो भनेपछि गाउँ पुगेका ठेकेदारले खरिद गर्दैनन्,’ उनले भने, ‘त्यसैले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार वर्षभरि दुःख गरेर बारीमा स्याउ फलाएका किसान बजार अभाव, भण्डारण र प्याकिङ समस्याले मर्कामा परेका छन् ।


ढुवानी समस्याले कृषकले न राम्रो मूल्य पाएका छन्, न उपभोक्ताले सस्तोमा स्याउ खान पाएका छन् । फाइदा जति बिचौलियाले लिने गरेको तिलागुफा नगरस्तरीय नागरिक समाजका अगुवा विक्रमबहादुर शाहीले बताए । गाउँमा स्याउ बिक्री नभएर कुहिएको कृषकको गुनासो सुनिए पनि सदरमुकाम मान्मका बासिन्दाले भने महँगोमा किन्नुपरेको गुनासो गरेका छन् । कालीकोट र जुम्लाको स्याउ सुर्खेतमा खरिद गर्दा प्रतिकिलो ८० रुपैयाँमा बिक्री हुने गरेको छ । तर मान्ममा प्रतिकिलो एक सय रुपैयाँमा किन्नुपर्ने स्थानीयको गुनासो छ ।


‘गाउँमा कुहिए भनेर कृषक गुनासो गर्छन्,’ मान्म बजारका होटल व्यवसायी जनकबहादुर शाहीले भने, ‘न कृषकले उत्पादनको मूल्य पाएका छन्, न उपभोक्ताले सस्तो मूल्यमा किन्न पाएका छौं ।’ उनले बिचौलियालाई मालामाल भएको दाबी गरे ।


कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक पनि बेलाबेलामा अवरुद्ध हुने गरेकाले कर्णालीको उत्पादन बजार पुर्‍याउन कठिनाइ भएको खाडाचक्र नगर कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले बताए । उनका अनुसार बिक्री नभएका स्याउबाट कृषकले रक्सी, साइडर र चाना बनाउने गरेका छन् । केही किसानले जुस, जाम र जेली बनाउन थालेको उनको भनाइ छ ।


सडक नपुगेका महाबै, शुभकालिका, नरहरिनाथ गाउँपालिकाका र रास्कोटको सिप्टी क्षेत्रका स्याउ कृषकलाई स्याउ बजार पुर्‍याउन कठिन भएको रास्कोट स्याउ जोन कार्यक्रम प्रमुख गणेश अधिकारीले बताए । गत चैतको असिनाले स्याउमा ठूलै नोक्सानी पुर्‍याए पनि यस वर्ष जिल्लामा आठ हजार मेट्रिक टन स्याउ फलेको उनको अनुमान छ । असिना नपरेको भए कम्तीमा १४ हजार मेट्रिक टन स्याउ उत्पादन उनी बताउँछन् । उनका अनुसार फोइमहादेव मात्र ८० हजार स्याउका बिरुवा रोपिएका छन् । वार्षिक १४ सय मेट्रिक स्याउ फोइमहादेवमा मात्रै उत्पादन हुने उनले जानकारी दिए ।


जिल्लामा पहिलोपटक २०२७ सालमा भारतको कश्मीरबाट तीन हजार स्याउको बोट ल्याई फोइमहादेव, राचुली, चिल्खाया, जुविथालगायत गाविसका किसानलाई वितरण गरिएको थियो । विद्यालयको आम्दानी बन्यो स्याउ

तिलागुफा–३ स्थित महादेव माध्यमिक विद्यालयको बगैंचामा तीन हजार स्याउ बिरुवा छन् । तीमध्ये दुई हजार बिरुवा बर्सेनि फलिरहेका छन् । विद्यालयका प्रधानाध्यापक नरदीप शाहीका अनुसार स्याउ प्रतिकिलो ३५ देखि ४० रुपैयाँमा ठेक्कामा दिने गरिएको छ । विद्यालयले स्याउ बेचेर दुई लाखको सोलार, कम्प्युटर र भिडियो क्यामेरा खरिद गरेको छ । दुई निजी स्रोतका शिक्षक स्याउकै आम्दानीले भर्ना गरिएका छन् । विद्यालयको २७ बिघा जग्गा छ । विद्यालयले केही जमिनमा जडीबुटी खेती गरेको छ भने अधिकांश जमिन बाँझै छ । बाँझो जमिनको पनि घाँस ठेक्कामा लगाउने गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्रबहादुर शाहीले बताए ।


सिप्टी लेकको स्याउ बिकेन

स्याउ जोन क्षेत्र घोषणा गरिएको रास्कोटको सिप्टी लेकमा उत्पादित स्याउ बिक्न सकेको छैन । डोकोमा बोकेर आरसीपीबजार पुर्‍याउन प्रतिकिलो १० रुपैयाँ तिर्नुपर्ने भएकाले किसान समस्यामा परेका हुन् ।

फुकोटका स्याउ किसान गोकर्ण न्यौपानेले सडक नहुँदा ढुवानी महँगो भएको बताए । उनका अनुसार स्याउ बोकेर ल्याउँदा अधिकांश स्याउ दाग लागेर कुहिने समस्या रहेको सुनाए ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गत वर्ष जिल्लालाई स्याउ जोन घोषणा गरिएको थियो । बढी स्याउ फल्ने तिलागुफा नगरपालिकालाई उछिनेर रास्कोटले कार्यक्रम हात पार्न सफल भए पनि मन्त्रालयबाटै बिरुवा आएनन् ।


‘नयाँ बिरुवा आउँछ भनेर ढुक्क भयौं, रोप्ने बेला बिरुवा नै आएनन्,’ रास्कोटका कृषक लालबहादुर शाहीले भने, ‘अन्तिममा बिरुवा आएन, खनेका खाल्डा त्यत्तिकै भए ।’ उनको बारीमा पाँच सय स्याउका बिरुवा छन् ।

तीमध्ये १ सय ५० रूखमा स्याउ फल्ने गर्छ । ‘डेढ सय क्विन्टल स्याउ प्रत्येक वर्ष फल्छ,’ शाहीले भने, ‘बजार पुर्‍याउन नसक्दा अधिकांश स्याउ कुहिएर जाने गरेको छ ।’ उनले बारीको स्याउ गत वर्ष रास्कोट मेलामा पाँच रुपैयाँमा दुई दानाका दरले बेचेको सुनाए ।


‘सिप्टीबाट रास्कोटको आरसीपी बजारसम्म एक भारी स्याउ पिठ्युँमा बोकाएर ल्याउँदा ९ सय ज्याला तिर्नुपर्छ,’ स्थानीय कल रोकायाले भने, ‘न भण्डारण गर्ने व्यवस्था छ, न सडक सुविधा ।’ उनले माटोमा खाल्डो खनेर स्याउ राख्दा पनि स्याउ जोगाउन नसकिएको गुनासो गरे । उनका पाँच सय स्याउ बोट फलिरहेका छन् ।


ढुवानी गर्न रोपवे

तिलागुफा–९, भात्तडीमा उत्पादित स्याउ कर्णाली राजमार्गसम्म पुर्‍याउन ग्राभिटी रोपवे सञ्चालनमा ल्याइएको छ । गाउँमा फलेको स्याउ, ओखर, आलुलगायतका कृषि उपज सडकमार्गसम्म पुर्‍याउन भात्तडी र गाल्जेमा ग्राभिटी रोपवे निर्माण गरिएको हो ।


तिला नदीको तीरैतीर जुम्ला–सुर्खेत जोड्ने कर्णाली राजमार्गसम्म सामान ढुवानी गर्न रोपवे सहयोगी भएको किसानको भनाइ छ । ‘रोपवेमार्फत गाउँबाट दाग नलागेको स्याउ सुर्खेत र नेपालगन्ज पुर्‍याउन सकिन्छ,’ स्थानीय कृषक लक्ष्मीप्रसाद कोइरालाले भने, ‘पिठ्युँमा बोकेर लैजानुपर्ने सडकसम्म स्याउ लैजानुपर्ने बाध्यता हटेको छ ।’ बाह्य शक्तिको प्रयोग नगरी घ्रिनीको सहायताले रोपवे सञ्चालनमा ल्याइएको हो ।


गाउँबाट सडकसम्म जोड्ने रोपवे निर्माण भएपछि तीन घण्टा पैदल पिठ्युँमा बोकेर कर्णाली राजमार्गसम्म स्याउ, ओखर, जडीबुटीलगायत सामान ढुवानी गर्नुपर्ने बाध्यता टरेको स्थानीय भक्तिप्रसाद कोइरालाले बताए । ‘बिक्री नहुँदा कुहिएर खेर जाने स्याउले पनि बजार पाउन थालेको छ,’ उनले भने, ‘ढुवानी समस्याले गाउँमा दुई रुपैयाँ दाना बेच्नुपर्थ्यो, अब सडकसम्म रोपवेमा ढुवानी गर्न सहज हुँदा झार्नेबित्तिकै प्रतिकेजी ६० रुपैयाँ बिक्री भएको छ ।’


राचुलीको भात्तडीडाँडादेखि धनाडासम्म करिव १२ सय मिटरको रोपवेमा सामान ढुवानी गर्दा कृषकले प्रतिकिलो दुई रुपैयाँ तिर्नुपर्ने रोपवे अपरेटर विष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार रोपवेमा एकपटकमा माथिबाट ९० र तलबाट ३० किलो सामान पठाउन सकिन्छ ।

प्रकाशित : आश्विन १४, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?