कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

व्यापारीको मनपरी

गुणस्तर नापतौल विभागको टोलीले गरेको २५ पसलको अनुगमनबाट २२ थान तराजु र २१ थान ढक बरामद
चाँदनी कठायत

वीरेन्द्रनगर — गत सोमबार बजार अनुगमन टोलीले वीरेन्द्रनगर हटियास्थित मासु पसलमा ढक तथा तराजुको अनुगमन गर्‍यो । अनुगमनमा मासु पसलमा राखिएका ढकमा चुम्बकसमेत टाँसेर ठगी गरिरहेको पाइयो । हेमराज, भरत, सञ्जीव, विष्णु मासु पसल, स्वस्थ फ्रेस हाउस, सफा मासु पसल, दाजुभाइ राँगा मासु पसललगायतबाट अनुगमन टोलीले ढक तराजु बरामद गरेको छ ।

व्यापारीको मनपरी

स्थानीय प्रशासनसहित गुणस्तर नापतौल विभागको टोलीले गरेको २५ पसलको अनुगमनबाट २२ थान तराजु र २१ थान ढक बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माका अनुसार १२ पसलका तराजु बरामद गरिएको हो । ‘व्यापारीले मनपरी रुपमा ठगिरहेको पाइयो,’ उनले भने, ‘उपभोक्ता ठग्न विभिन्न उपाय अपनाईरहेका रहेछन् ।’ अनुगमनका क्रममा तराजुमा चुम्बक राखी ढकको तौल घटाइएको, एक किलोको ढकमा ५० ग्राम कम भएको, ढकको सट्टामा साबुन र ढुंगा प्रयोग गरिएको पाइएको हो ।


‘साङ्लाको प्रयोग गर्ने ठाउँमा प्लास्टिक झुन्ड्याएका छन्,’ प्रशासकीय अधिकृत शर्माले भने, ‘मासु तौल गर्दा प्लास्टिकमै किरासमेत भेटियो ।’ अनुगमन टोलीले बजार नियन्त्रण तथा नियमन गर्न भन्दै पूर्वी सुर्खेतको बोटेचौर, मेहलकुना र छिन्चुमा पनि ढक तथा तराजुको अनुगमन गरेको छ । त्यहाँका खाद्यान्न, भाँडा, हार्डवेयर, मन्डीलगायत ३५ वटा र फुटपाथका ५० पसलमा गरेको अनुगमन गरिएको थियो । अनुगमनबाट १८ थान डिजिटल तराजु, १० काउन्टर तराजु र ३१ थान ढक बरामद गरिएको छ । पसलमा अधिकांश तराजु र ढक मापदण्डविपरीत, दर्ता नगरिएका, अत्यन्तै फोहोर, खिया लागेका, प्वाल परेका र प्लास्टिकको डोरी प्रयोग भएका भेटिएको उनको भनाइ छ ।


नापतौलमा उपभोक्ता ठगी गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ । गुर्भाकोट नगरपालिकाकी सुशीला विकले ढुंगे ढकका कारण आफूहरू दैनिक ठगिने गरेको बताइन् । ‘नकिनौं भने पनि नहुने,’ उनले भनिन्, ‘एक किलो तरकारीमा कहिलेकाहीँ सय ग्रामसम्म कम हुन्छ ।’


व्यवसायी नै अनभिज्ञ

व्यापारीले प्रयोग गर्ने ढक तथा तराजु गुणस्तर तथा नापतौल कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । तर, यसबारे व्यापारी नै अनभिज्ञ रहेको पाइएको छ । सुर्खेत उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर कार्यालयसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि व्यापारी सम्पर्कमा नआएको जनाएको छ । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएको संघका महासचिव लक्ष्मण कँडेलले बताए । व्यापारी भने प्रामाणिक ढक, तराजु निकै महँगो पर्ने भएकाले किन्न नसकिएको गुनासो गर्छन् ।


मौसमी अनुगमन

मौसमी रूपमा मात्रै गरिने अनुगमनले उपभोक्ताले गुणस्तर र सुपथ मूल्यमा सामग्री नपाउने स्थानीय पूर्ण रिजाल बताउँछन् । ‘अनुगमन त अन्य समयमा पनि भइरहन्छ,’ उनले भने, ‘चाडपर्वको समयमा धेरै बिक्री हुने भनेर अनुगमन गरिएको होला, अन्य समयमा पनि व्यापारीले उपभोक्ताको आँखामा छारो हालिरहेका छन् ।’


नियमित अनुगमन नहुँदा बजारमा म्याद नाघेका खाद्य वस्तु बिक्री भइरहेको उनको भनाइ छ । किराना पसलमा मूल्यसूची नराखी उपभोक्तालाई ठग्ने काम भइरहेको भन्दै उनले सबै पसलमा समान मूल्य कायम गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने जनाए । प्रशासकीय अधिकृत शर्मा यस वर्ष प्रत्येक महिना नै अनुगमन गरेको दाबी गर्छन् । हामीले यसपटक औषधिदेखि खाद्यान्नसम्मको अनुगमन तीव्र बनाएका छौं,’ उनले भने, ‘मासुको र अन्य खाद्य सामग्रीको गुणस्तरीयताबारे अनुगमन भइरहेको हो ।’ सबै पसलमा मूल्यसूची राख्नका व्यापारीलाई सचेत गराइरहेको उनको भनाइ छ ।

प्रकाशित : आश्विन १३, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?