१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

किनमेल गर्न भ्याइनभ्याई

नुमा थाम्सुहाङ

काठमाडौँ — राजधानीका टिकट बुकिङ काउन्टरहरूमा घर जानेहरूको भीड छ । न्युरोड, असन, मखन, सुन्धारा र खिचापोखरीलगायत ठाउँहरूमा किनमेल गर्नेहरूको उस्तै लर्को देखिन्छ । लगातारको झरीले किनमेल गर्नेहरूको उत्साह घटाएको छैन । झरीले निथ्रुक्कै बनाए पनि ओत लाग्दै सपिङ गर्नेहरू बग्रेल्ती देखिन्छन् । वर्षमा एक चोटि भए पनि घरका लागि सामान किन्न दसैं पर्खिनेहरूको घुइँचोले पैदल हिँड्न मुस्किल छ । 

किनमेल गर्न भ्याइनभ्याई

नक्साल बस्ने हेटौंडाकी पार्वती पोख्रेल घर जान आतुर छिन् । उनी मखनको एक कपडा पसलमा आफू र परिवारका लागि लुगा ‘चुज’ गर्दै थिइन् । घरका सदस्यहरूलाई के के लाने भन्नेमा अलमल थिइन् । फूलपातीको अघिल्लो दिनको बस टिकट लिएको उनले बताइन् । ‘वर्षमा एक पटक मात्र घर गइन्छ, निकै उत्साह जागेको छ,’ उनले भनिन् ।


परिवारबाट टाढा बस्दा घरको न्यास्रो लाग्ने र दसैंमा न्यास्रो मेटाउन पाउने भएपछि उनी दंग थिइन् । काठमाडौंको व्यस्त जागिरे जीवनले परिवारदेखि छुट्टिएर बस्दा आमाबुवालाई पनि आफ्नो सन्तानको मुख हेर्न दसैं नै कुर्नुपर्ने बाध्यता रहेको पोख्रेलले सुनाइन् ।

मखनटोलमा ९ वर्षदेखि न्यु सरोभर सेन्टर चलाउँदै आएका लक्ष्मण श्रेष्ठले अरू बेलाभन्दा दसैंमा कपडाको व्यापार राम्रो हुने गरेको बताए । दसैंमा काठमाडौंबाट बाहिर जानेले मात्र नभई यहाँकै रैथानेले पनि कपडा किनमेल गर्ने उनको भनाइ छ । ‘घटस्थापनादेखि व्यापारको चहलपहल अझ बढ्छ,’ उनले भने, ‘पानी परिरहेको छ, त्यसैले व्यापार अलिकति प्रभावित भएको छ ।’ दिनको १५ हजार रुपैयाँको व्यापार भइरहेको उनले बताए । दसैंमा सबैले नयाँ कपडा नै लगाउने भएकाले व्यापार राम्रो हुनेमा उनी ढुक्क छन् ।


नखीपोटका राजकुमार अछामी पनि मखनकै एक पसलमा सामान किन्दै थिए । उनी नयाँ सामानले घर सजाउँदा दसैंमा रौनक आउने बताउँछन् । ‘दसैंमा पाहुनाको ओइरो लाग्छ, तन्ना, सिरकको खोल घरमा नभई हुँदैन,’ उनले भने, ‘अरू बेलाभन्दा पनि दसैंमा किन्ने हो ।’ दसैंपछि जाडोयाम सुरु हुने भएकाले ओढ्ने/ओछ्याउने लुगा किन्नेको भीड छ ।


चाडबाडका समयमा पाहुना धेरै आउने भएकाले घरका लागि नयाँ तन्ना, सिरकको खोल, पर्दा लगायत सामानको कारोबार बढ्ने गरेको मखनस्थित डेकोर कलेक्सनकी रोहिनी बज्राचार्यले बताइन् । ‘अरू बेलाको भन्दा दसैंमा अलि बढी व्यापार हुन्छ,’ उनले भनिन् । दैनिक ३० हजार रुपैयाँ बराबरको कारोबार भइरहेको उनले जानकारी दिइन् ।


चाडबाडको अवसरमा खुद्रा व्यापार राम्रो भए थोकमा आफैं व्यापार बढ्ने आरबी कम्प्लेक्सका थोक व्यापारी पदमबहादुर क्षेत्रीले बताए । ‘रिटेलहरूमा व्यापार राम्रो भयो भने होलसेल राम्रो हुने हो । होलसेलमा भन्दा अहिले रिटेलमा व्यापार सुरु हुने समय हो,’ उनले भने, ‘भन्सार महसुल चर्को छ । चाइनाबाट सामान हाल्न पनि डर हुन्छ । होलसेलमा पनि अहिले खुद्रा नै बेच्नुपरेको छ ।’ उनले दिनको २० हजार रुपैयाँको मात्र कारोबार भइरहेको बताए ।


नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्रकुमार लोहियाले अघिल्लो वर्षको भन्दा व्यापार घटेको बताए । ‘नेपालको धेरै जनसंख्या तराईमा बसोबास गर्छ । तराईसँग जोडिएको भारतीय सीमावर्ती बजारले धेरै असर पारेको छ,’ उनले भने । भारतीय बजारमा पाइने कपडाको तुलनामा नेपाली कपडामा १३ प्रतिशत कर छ ।


यसले नेपाली कपडा बजार प्रभावित भएको उनको भनाइ छ । भारतीय सीमावर्ती बजारमा पाइनेभन्दा यहाँ केही महँगो पर्ने भएकाले व्यापारमा प्रभाव पर्नु स्वाभाविक भएको लोहियाले बताए । नेपाली बजार अहिले पनि आयातमा नै निर्भर छ । एक वर्षमा नेपालमा कपडा र कपडाजन्य वस्तु ४० अर्ब रुपैयाँको वैधानिक आयात हुने लोहियाले बताए ।

प्रकाशित : आश्विन १३, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?