भैरहवा-लुम्बिनी सडक खण्ड : डिभाइडर निर्माणमा कमसल सामग्री

माधव ढुंगाना

भैरहवा — निर्माणाधीन भैरहवा-लुम्बिनी सडक खण्डमा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको छ । ठेकेदार कम्पनीले सडकको बीच भाग छुट्याउनका लागि डिभाइडरका रूपमा प्रयोग गरेको निर्माण सामग्री ‘मिडियन कर्ब’ गुणस्तरहीन भएकाले बीचबीचमा फुटेको छ । प्रभावकारी अनुगमनको अभावमा निर्माण निरन्तर छ । गौतम बुद्ध विमानस्थलदेखि लुम्बिनीसम्मको चार लेनको सडक खण्डअन्तर्गत बेथरीदेखि लुम्बिनीसम्म प्रयोग गरिएको मिडियन कर्ब चर्केर फुट्न थालेको हो । 

निर्माण व्यवसायीले फुटेको ढाक्न बाहिरबाट सिमेन्टको घोलले पोत्ने र माटो, ढुंगा, गिट्टी लगायतका निर्माण सामग्री थुपारेर माथिबाट रोलिङ गर्दै पिचको तयारी गरेको छ । आयोजनामा मेसिनबाट उत्पादन भई न्यूनतम २८ दिनसम्म पानीको मात्रा पूरा गरिएको (प्रिकास्ट) ससाना कर्बस्टोनको प्रयोग गर्नुपर्ने सुरुको डिजाइनलाई ठेकेदारकै दबाबमा परिमार्जन गरेर मिडियनको प्रयोग गर्ने बनाइएको हो । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म ६ लेन र विमानस्थलदेखि लुम्बिनीसम्मको चार लेन सडकको बीचमा विभाजन गरिने डिजाइनमा छ । लुम्बिनीदेखि तौलिहवासम्म दुई लेनको सडक संरचना निर्माण हुनेछ । लुम्बिनीदेखि तौलिहवा सडक खण्डमा भने डिभाइडरको प्रयोग गरिएको छैन ।


भैरहवा-लुम्बिनी-तौलिहवा सडक निर्माणका लागि आउँदो पुस महिनासम्ममा निर्माण सम्पन्न हुने गरी भारतीय निर्माण कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव हरियाणासँग ०७३ असार ३० मा ठेक्का सम्झौता गरिएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण थालिएको यस आयोजनाको सुरुको ठेक्का रकम १ अर्ब ९३ करोड रुपैयाँ हो । सम्झौता मितिमै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीले मेसिनमा उत्पादित एउटा कर्बस्टोनको टुक्रा लगाउँदा धेरै दिन लाग्ने भन्दै निर्माण स्थलमै मेसिनले कंक्रिटको प्रयोग गरी कास्ट इन्सिटु प्रविधिबाट मिडियनको प्रयोग गर्ने गरी सडकको डिजाइनमा परिवर्तन गरिएको थियो ।


डिजाइन परिवर्तनपछि आयोजनाको लागत बढेर २ अर्ब ९ करोड ८ लाख रुपैयाँ पुगेको छ । म्याद थप हुने तयारीमा छ । भैरहवा-तौलिहवा सडक निर्माण आयोजनाका अनुसार हालसम्म आयोजनाको निर्माण प्रगति ५० प्रतिशत छ । यस आयोजनाको परामर्शदाता कोरियन इन्जिनियरिङ कन्सल्टेन्ट, एमईएच कन्सल्टेन्ट, मल्टी डीसी प्रिन्नरी कसल्टेन्ट एन्ड सोयल टेस्ट छन् । डिजाइनअनुरूप डिभाइडरका लागि मात्रै छुट्याइएको लागत रकम २ करोड ५० लाख रुपैयाँ हो ।


आयोजनाले भने निर्माण सामग्रीमा प्रयोग गरिएका सामग्रीको गुणस्तरलगायत सडक निर्माणको अनुगमन गर्ने जिम्मा परामर्शदाता कम्पनीको भएको जनाएको छ । आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी सागर पोखरेलले मेसिनमा बनेको कर्ब स्टोन एउटा पिस राख्दा धेरै समय लाग्ने भएकाले निर्माण स्थलमै मेसिनले तीन/तीन मिटरको टुक्रा बनाएर मिडियन कर्बको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिएको बताए ।


‘मिडियन कर्बमा कतै क्र्याक आएको छ, त्यसलाई पुन: निर्माण गर्न लगाउनेछौं,’ उनले भने, ‘ठेकेदारले प्रयोग गरेको निर्माण सामग्रीको नमुना परीक्षण गरेका छौं ।’ निर्माणस्थलमा भने उनले भनेजस्तो छैन । तीन-तीन मिटर टुक्राको सट्टा मेसिनबाट बिनासपोर्ट र डन्डीबिना १५/२० मिटरसम्म लामो बनाएर प्रयोग गरिएको छ । तीन-तीन मिटरको टुक्रा बनाएर प्रयोग गरिएको देखाउन मिडियनको लामो पर्खालको डिभाइडरलाई बीचबीचमा माथिबाट काटेको आकृति दिइएको छ ।


सामान्यत: डिभाइटर छुट्याउन कर्बस्टोन प्रयोग गरिने भए पनि यो सडकमा ठेकेदारले टीएम मिक्स्चर मेसिन प्रयोग गरेर मिडियन कर्ब प्रयोग गरिरहेको छ । प्रिकास्ट गरेको मेट्रियल प्रयोग गर्नुको सट्टा रोडमा कास्टिङ गरेर क्युरिन गरेको छैन । उद्योगमा निर्माण गरिएको प्रिकास्ट कर्बस्टोन ३० देखि १ सय ३० टन गह्रुँगो मेसिनले च्यापेर तीन हप्ता बढी पानी राखेर तयार गरिने भएकाले धेरै बलियो हुने प्राविधक बताउँछन् । तर, सडकमा प्रयोग गरिएको मिडियनमा बिना चाप सिधै मेसिनबाट लामो पर्खाल बनाउने गरिएको छ । पानी हालिएको छैन ।


‘चर्केको र फुटेको मिडियन कर्बलाई ठेकेदारले धमाधम टालटुल गर्दै पिच गर्ने निर्माण सामग्री थुपारेर चर्केको र फुटेको भाग लुकाएको छ,’ भैरहवाको बुद्धचोकका विष्णु मरासिनीले भने, ‘आयोजना, परामर्शदाता, स्थानीय र प्रदेश सरकार कसैले पनि यस बारेमा चासो देखाएका छैनन् । सबै निकाय मौन छन् ।’ परामर्शदाताको काम गरिरहेको कोरियन इन्जिनियरिङ कन्सल्टेन्टका गुणस्तर कन्ट्रोल प्रमुख इन्जिनियर नारायणप्रसाद ढकालले आफूहरूले गुणस्तरमा कमी आउन नदिएको दाबी गरे । ‘केही-केही ठाउँमा मिडियन कर्ब चर्किएको छ, यसलाई तुरुन्त सुधार गर्छौं,’ उनले भने, ‘गुणस्तरमा कमी आउन दिँदैनौं ।’


प्रकाशित : आश्विन १३, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?