कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एउटा रुट परमिट लिएर चाडवाडमा देशैभर सार्वजनिक बस चलाउन पाइने

विमल खतिवडा

काठमाडौँ — सार्वजनिक सवारी साधनलाई आइतबारबाट देशभर इजाजत पत्र (रुट परमिट) खुला गरिएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै रुट परमिट खुला गरेको हो । त्यस्तै १० चक्केभन्दा ठूला सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ । विभागले असोज ७ गते सूचना जारी गर्दै रुट परमिट खुला र मालवाहक ठूला साधनलाई राजधानी प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

एउटा रुट परमिट लिएर चाडवाडमा देशैभर सार्वजनिक बस चलाउन पाइने

रुट परमिट खुला भएपछि पूर्वमा चल्ने गाडीले पश्चिम वा जुनसुकै ठाउँमा पनि यात्रु बोकेर जान पाउनेछन् । रुटमा रोकतोक हुने छैन । ‘यसरी चल्ने गाडीले कुनै एउटा रुटको परमिट भने पहिल्यै लिएको हुनुपर्नेछ, रुट नलिई गाडी चलाउन पाइँदैन,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘१० चक्के र योभन्दा ठूला ट्रक, ट्र्रेलर, लरी सबैलाई चितवनबाटै रोकेका छौं ।’ उनका अनुसार पहिल्यै सूचना जारी गरिएकाले चाप कम छ । चितवनमा रोकिने मालवाहक गाडी कम भएको ट्राफिक प्रहरीले जनाएको छ ।


खाद्यान्न, औषधि, कुहिने सामान, खसीबोका बोकेर आउने साधनलाई रोकिने छैन । निर्माण सामग्री बोकेर आउने १० चक्केभन्दा ठूला सवारी साधनलाई मात्र रोकिनेछ । ‘चाडबाडको समयमा जाम हुन नदिन यस्तो निर्णय गरेका हौं,’ उनले भने । जामको समस्या नागढुंगा-नौबिसे खण्डमा बढी छ । अरूतिर ठूलो समस्या छैन । जाम बढी हुने यो खण्डबाट भित्रिने मालवाहक साधनलाई मात्र प्रवेश निषेध गरिएको हो ।


सबैभन्दा बढी जाम यही खण्डमा हुन्छ । सडक उकालो छ । क्षमताभन्दा बढी सामान बोकेर आउने साधनले गर्दा जाम हुँदै आएको छ । यो खण्ड भएर दैनिक ८ हजारभन्दा बढी सवारी साधन ओहोर-दोहोर गर्छन् । दसैंमा यो संख्या दोब्बर हुन्छ ।

‘व्यावहारिक पक्षलाई मध्यनजर गर्दै रातको समयमा जाम नहुने अवस्था आयो भने छाडिनेछ,’ उनले भने, ‘जाम हुने अवस्था आए रोकिनेछ ।’ नागढुंगा-नौबिसे सडक शनिबारबाट सहज भएको छ । ‘अहिलेलाई १९ गतेसम्म यो नियम लागू हुनेछ,’ उनले भने, ‘यसको दुरुपयोग हुन्छ भनेर समय निर्धारण गरेका हौं, माग आएमा समय थप्न तयार छौं ।’


उनले नागढुंगादेखि नौबिसेमा दसैंसम्ममा सडक राम्रो बन्ने दाबी गरे । ‘ठूलो समस्या नागढुंगा खण्डमै देखिएको हो, यो समस्या समाधान हुँदै जानेछ,’ उनले भने, ‘अर्को समस्या भनेको ग्रामीण क्षेत्रका सडकमा देखिएको छ, त्यहाँ पनि स्थानीय तहले मर्मतको काम गरिरहेका छन् ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार असोज ५ गते टिकट बुकिङ खुला भएयता ८० हजार ३ सय ४१ सवारी साधन राजधानी भित्रिए भने ८८ हजार ८० सवारी साधन बाहिरिएका छन् ।


त्यस्तै अहिलेसम्म ५ लाख ९७ हजार ९ सय ८६ भित्रिए राजधानी भित्रिए भने ६ लाख ८९ हजार ५ सय ७१ यात्रु बाहिरिएका छन् । ‘१० चक्केभन्दा माथिका मालवाहक सवारी साधनलाई ११ गते रातिबाट चितवनमै रोकेका छौं,’ उनले भने, ‘अत्यावश्यक सामान बोकेर आएका साधनलाई मात्र खुला गरेका छौं ।’


बीचमा आएकालाई राति कटाउने गरिएको छ । उनका अनुसार जामको समस्या रहेको नागढुंगामा शनिबारबाट यातायात सहज भएको छ । त्यस्तै यो खण्डमा फसेका, बिग्रिएका सवारी साधन तान्ने दुईवटा र्‍याकर सडकमा राखिएको छ । १/१ सय मिटरको फरकमा प्रहरी राखिएको प्रमु एसएसपी ढकालले बताए । सार्वजनिक गरिएको सुरक्षा योजनाअनुसार १४ स्थानमा नागरिक सहायता कक्ष राखिएको छ । ‘यो कक्षले यात्रुका गुनासा सुन्ने गर्छ,’ उनले भने, ‘गुनासा सुनेर आठजनालाई कारबाहीसमेत गरिसकिएको छ ।’ उनका अनुसार चाडबाडमा मादक पदार्थ सेवन गर्ने बढी हुन्छन् । यसरी मापसे गर्ने ६८० जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


‘दुईवटा चालक राख्नुपर्ने भनेका छौं,’ उनले भने, ‘नागढुंगामा राखिएको ट्राफिक कम्युनिकेसन एप्स हेरेर चालक नराख्ने नौजनालाई कारबाही गरेका छौं ।’ एउटै चालकको भरमा गाडी चलाएकालाई कारबाही गरिएको उनले बताए । तीव्र गतीमा गाडी चलाउने १२ जना र यात्रुबाट बढी भाडा लिने १५२ जना कारबाहीमा परेका छन् । ‘सिटभन्दा बढी यात्रु बोक्ने ३६ जनालाई कारबाही गरेका छौं,’ उनले भने, ‘नगाढुंगामा र्‍याकर राखिसकेपछि ६८ वटा सवारी साधनलाई तानेर पन्छाई सवारी आवागमन सहज बनाएका छौं ।’


उनले टिकट काउन्टरमा बस्ने कर्मचारीलाई पोसाक र परिचय पत्र अनिवार्य गरिएको बताए । नयाँ बसपार्कबाट बाहिरिने सवारी साधनको यान्त्रिक परीक्षण गरेर मात्र पठाउने गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलका अनुसार १९ गतेसम्म करिब २० लाख यात्रु बाहिरिनेछन् । यात्रु जाने क्रम सुरु भइसकेको छ ।


‘नागढुंगा-नौबिसे सडकले समस्या पारिरहेको छ,’ उनले भने, ‘नुवाकोट जाने टोखा-छहरे सडक पनि बिग्रिएको छ, त्यसैले अग्रिम टिकट दिन सक्ने अवस्था छैन ।’ यसबारे पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कसैले नसुनेको गुनासो गरे । अन्यत्रका पनि सडक बिग्रिएका छन् ।

प्रकाशित : आश्विन १३, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?