हिमालय एयरलाइन्सले बेच्यो ६५ प्रतिशत सेयर

सुरज कुँवर

काठमाडौँ — नेपाली साझेदार कम्पनी यति वर्ल्ड इन्भेष्टमेन्टसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सबाट ल्हासाको तिब्बत एयरलाइन्सले आफ्नो शेयर झिकेको छ ।

हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।


उनका अनुसार, तिब्बत एयरलाइन्सले बिक्री गरेको शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले खरिद गरेको हो । कम्पनीमा नेपाली साझेदारतर्फका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, शेयर खरिद गर्ने तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड पूर्ण सरकारी स्वामित्वको कम्पनी हो । यसअघिको तिब्बत एयरलाइन्स भने अर्धसरकारी लगानीकर्ता कम्पनी थियो ।


‘शेयर किनबेचको सबै काम सकिसकेको छ,’ हिमालयसँग आबद्ध एक वरिष्ठ अधिकारीले भने, ‘केही थोरै कागजात मिलाउन र घोषणा गर्न मात्रै बाँकी छ ।’ उनका अनुसार, शेयर किनबेचको सबै काम नेपालको कानुन अनुसार, काठमाडौंमै भएको हो । ३ अर्ब रुपैयाँमा स्थापना भएको हिमालय एयरलाइन्समा भएको लगानीकर्ताको हेरफेरसँगै अब चिनियाँ लगानीकर्ता हाबी भएको छ ।


यसअघि भने नेपाली वायुसेवा कम्पनी यति एयर कम्पनी अर्न्तगतको यति वर्ल्ड इन्भेष्टमेन्टको शेयर बाहुल्यता थियो । यतिको हिमालयमा ५१ दशमलव ०१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४८ दशमलव ९९ प्रतिशत शेयर हिस्सा थियो । ‘अबको शेयर किनबेचपछि यतिको ३५ प्रतिशत हाराहारी र बाँकी ६५ प्रतिशत हाराहारी शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको हुनेछ । अर्थात् अब हिमालय एयरलायन्समा चिनियाँ लगानीकर्ता निर्णायक भूमिकामा रहने छ ।


हिमालयले ०७३ जेठदेखि काठमाडौंबाट दोहाकालागि (अन्तर्राष्ट्रिय) उडान थालेको थियो । तीन वर्षको अवधिमा यसले झन्डै ७ अर्ब हाराहारी घाटा ब्यहोरेको छ । ‘हिमालयको अघिल्लो आर्थिक वर्षसम्मको नोक्सान पौने ५ अर्ब हाराहारी पुगेको छ,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कान्तिपुरसँग भने, ‘भर्खर सकिएको आर्थिक वर्षको लेखा परीक्षण बाँकी छ । परीक्षणपछि ७ अर्ब हाराहारी घाटा पुग्ला ।’ हिमालयले हालसम्म २५ हजार उडान गरेर ६ लाख ५७ हजार यात्रुलाई सेवा दिइसकेको जनाएको छ ।


अध्यक्ष झो एन्योङका अनुसार, हिमालयले वार्षिक नेपाल सरकारलाई ३३ करोड हाराहारी कर तथा राजश्व बुझाउने गरेको छ ।


यसैबीच यस एयरलाइन्सले अक्टोबर महिनाको अत्यसम्म काठमाडौंदेखि चीनको राजधानी बेइजिङ सिधा उडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । ‘अनुमति प्रक्रिया करिब करिब टुंगिएको छ हाम्रो योजना काठमाडौं बेइजिङ सिधा उडान कार्त्तिक १० को लक्ष्य छ,’ हिमालयले सार्वजनिक गरेको नयाँ ब्रान्ड लोगो सार्वजनिक कार्यक्रममा एक वरिष्ठ कर्मचारीले भने ।


बेइजिङकालागि हिमालयले एयरबसको ए३१९ विमान ल्याउने तयारी गरेको छ । यो विमान उच्च हिमाली भेगबाट बनाइएको ट्रान्स हिमालयन रुटकालागि योग्य मानिन्छ । हाल यो कम्पनीसगँ तीनवटा एयरबसका ए ३२० विमान छन् ।

यी विमान ट्रान्स हिमालयन रुटबाट उडान गर्न पाउँदैनन् । काठमाडौं–बेइजिङ उडानको छोटो रुट सगरमाथा नाघेर तिब्बत हुँदै गर्नुपर्ने ट्रान्स हिमालय रुट नै हो । हाल उडानमा रहेका ए३२० जहाजले यो रुटबाट सिधा उडान गर्न नसकक्ने भएपछि घुमेर लामोबाटो समात्नुपर्छ । हाल सञ्चालनमा रहेका यी विमानबाट हिमालयले मध्यपूर्वी क्षेत्रको अबुदाबी, दमाम, दोहो तथा पूर्वी क्षेत्र अर्न्तगतको ढाका र क्वालालमपुरमा उडान गर्दै आएका छन् ।


हिमालयसँग भएका यी सबै विमान भाडाका हुन् । यी विमान चाइना डेभलपमेन्ट बैंकसँग १२ वर्षकालागि ड्राई लिजमा ल्याइएका हुन् । यो एयरलाइन्ससँग आफ्नै विमान भने छैनन् । हिमालयले ड्राई लिजमा ल्याएको अर्को विमान भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ । प्रकाशित : आश्विन १२, २०७६ २१:११

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चिनियाँ विदेशमन्त्री सवार जेट आकाशमा १५ मिनेट होल्ड

सुरज कुँवर

काठमाडौँ — चिनियाँ विदेश मन्त्री वाङ यी सवार डियर जेट काठमाडौं अवतरणका क्रममा १५ मिनेट होल्डमा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, मन्त्री वाङको बी–८१३५ उडान नम्बर भएको जेट विमान काठमाडौंमा अवतरण गर्ने तरखर गर्नु केही समय अघि मौसममा खराबी आएपछि आइतबार साँझ ५ बजेर ३२ मिनेटमा विमानस्थल बन्द गरिएको थियो । 

त्यस समयमा विमानस्थलको भिजिबिलिटी २ हजार मिटरमा खुम्चिएको थियो। विमानस्थल बन्द भए लगत्तै काठमाडौंदेखि २७ किलोमिटर पर उक्त जेट विमान होल्ड (आकासमै फन्‍काे लगाउनु)मा परेको थियो। उक्त विमान होल्डमा परेको आकाशको विन्दुलाई उड्डयनकर्मीले गुँरास नामले चिन्दछन्। उक्त जेट विमानले गुराँसमाथि तीन फन्‍को लगाएको थियो।

मौसममा सुधार भएपछि ५ बजेर ४२ मिनेटमा धावनमार्ग खुला गरिएको थियो। विमानस्थलको भिजिबिलिटी ४ हजार मिटर भएपछि खुला गरिएको थियो। विदेशमन्त्रीको विमान ५ बजेर ५७ मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण भएको थियो।

यस विमानमा विदेशमन्त्री वाङसहित १६ जना प्रतिनिधिमण्डल आएका छन्। क्याबिन र ककपिट क्रू गरी थप ६ जना छन्। चालक दलको टोलीयाक एण्ड यतिहोटलमा बसेको छ। यो विमान मंगलबार काठमाडौंबाट बेइजिङ फर्किंदै छ। काठमाडौंमा यसको व्यवस्थापन लगायतको जिम्मा ट्रान्स हिमालयन चार्टर नामको नेपाली कम्पनीले गरेको छ।

यो विमान आइतबार पाकिस्तानबाट भारतको लखनउको रुट हुँदै काठमाडौं आइपुगेको हो। यसअघि शुक्रबार यो विमान बेइजिङबाट सियान, छेन्दु, ल्हासाको रुट समातेर काठमाडौं माथीको आकास हुँदै भारतको लखनउ हुँदै पाकिस्तानस्थित इस्लामावाद पुगेको थियो।

प्रकाशित : भाद्र २२, २०७६ १९:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×