कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भाउ सुन्दा तर्किन्छन् गृहिणी

नुमा थाम्सुहाङ

काठमाडौँ — काठमाडौं रातोपुलकी कल्पना सिंह तरकारी किन्न बिहीबार बिहानै असन पुगिन् । पाँचजनाको परिवारका लागि उनले डेढ किलो प्याज किन्न २/३ वटा पसल चहारिन् । प्याजको भाउ सुनेर उनको सातो गयो । 

भाउ सुन्दा तर्किन्छन् गृहिणी

अघिल्लो सातासम्म प्रतिकिलो ४० रुपैयाँमा प्याज किन्दै आएकी सिंहले १ सय १० रुपैयाँ तिर्नुपर्दा सातो गएको बताइन् । ‘व्यापारीहरूको आफ्नै भाउ छ, ढुक्कले एक ठाउँमा किन्न सकिन्न,’ उनले भनिन्, ‘विदेशमा कता हो एक झोला तरकारी किन्न एक झोलै पैसा बोकेर जानुपर्ने सुनेकी थिएँ, यहाँ पनि त्यस्तै होला जस्तो छ ।’


सिंहजस्तै त्यही बिहान असनको गल्लीमा तरकारी किन्दै गरेकी मरुगणेस्थानकी सहना ताम्राकार व्यापारीसँग काँक्रा मोलमोलाइ गरिरहेको अवस्थामा भेटिइन् । ‘२ केजी काँक्रा किन्नलाई पनि बार्गेनिङ गर्नुपर्छ । कहीँ ८० रुपैयाँ कहीँ ७० रुपैयाँमा भेटें । यहाँ ६० रुपैयाँमा किन्दै छु,’ उनले सुनाइन् ।


प्याज र आलुको मूल्यले उनलाई तरकारी किनेर खान नसकिने जस्तो लागेको छ । १५ रुपैयाँमा किनेर खाने गरेको सागको मूल्य ५० रुपैयाँ पुगेको देख्दा उनी चकित भइन् । ‘करेलाको मूल्य १ सय रुपैयाँ भएको सुन्दा डर लाग्यो,’ ताम्राकारले भनिन्, ‘अब ५ जनाको जहान पाल्न धौ–धौ पर्ने भयो ।’ व्यापारीले मनमर्जी मूल्य राखेकामा उनले गुनासो गरिन् । ‘अनुगमन पनि हुँदैन । सास्ती जनताले खेप्नुपर्छ,’ ताम्राकारले भनिन् ।


साना व्यापारी पनि आफ्ना समस्या कम्ती नभएको बताउँछन् । असनकै गल्लीमा २० वर्षदेखि तरकारी पसल चलाउँदै आएकी माइली तामाङले भनिन्, ‘हामीले पनि आफ्नो गोजीको पैसा लगाएर ल्याउनुपर्छ । थोरै नाफा राखेर बेच्छौं । बिग्रेको तरकारी पनि आउँछ । त्यसको घाटा आफैंले बेहोर्नुपर्छ ।’ तरकारीको मूल्यमा कुनै ठेगान नहुने उनको अनुभव छ । कालीमाटीदेखि तरकारी ल्याएर बेच्ने गरेकी उनले थपिन्, ‘तरकारी बाहिरबाट आएन भने महँगो भइहाल्छ ।’


१४ वर्षदेखि इन्द्रचोकमै तरकारी पसल चलाउँदै आएकी मञ्जु रायमाझीको पनि त्यस्तै गुनासो छ । ‘तरकारी लिन जाँदा हामीलाई नै महँगोमा पर्छ । बारीमा तरकारी केही छैन । किसानसँग मोलमोलाइ गर्‍यो किसान रिसाउने, बेच्दा महँगो भो भनेर ग्राहक रिसाउने,’ उनले भनिन् । रायमाझी दक्षिणकालीबाट तरकारी ल्याएर बिक्री गर्छिन् ।


अहिलेको सिजनमा किसानले पानीमा तरकारी टिप्ने र ल्याउँदा आधा बिग्रिसकेको उनले सुनाइन् । ‘बचेको तरकारी भागमा लगाएर बेच्नुपर्छ । हामीले सयमा ल्याएर सयमा बेच्दा पनि सुख छैन,’ उनले थपिन् ।

प्रकाशित : आश्विन १२, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?