३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काँचो किवी बजारमा

विप्लव भट्टराई

(इलाम) — सदरमुकामका नारायण भक्तराजले अघिल्लो वर्ष बजारबाट ल्याएर किवी फल चाखे । प्रतिकिलो ३ सय रुपैयाँमा किनेको किवीको स्वाद नमिठो भएपछि उनले त्यसयता किनेनन् । पहिलो पटक किवी चाखेर स्वादमा सन्तुष्टि नपाउनुको कारण कटमिरो (काँचो) भएको थाहा पाएपछि मात्र उनले फेरि खान थालेका छन् ।

काँचो किवी बजारमा

पहिलो पटक किवी चाख्ने उनीजस्ता धेरैले मिठो फलका रूपमा स्विकार्दैनन् । बोटमा नपाक्ने यो फल मंसिर लागेपछि मात्र टिप्नुपर्छ । केही दिन गुम्स्याएपछि मात्र यसको वास्तविक स्वाद र पौष्टिकतत्त्व पाइने विज्ञहरूको भनाइ छ । तर, भदौको पहिलो सातादेखि नै इलाम र झापाका विभिन्न बजारमा किवी निस्कन्छ । यतिबेला निस्किएको किवीको स्वाद पनि टर्रो हुन्छ । यस्तो किवी बजारमा जाँदा उपभोक्तामा नकारात्मक सन्देश जान थालेको सरोकारवालाले बताए ।


किवी खेती प्रवर्द्धनका लागि सक्रिय किवी जोन कार्यालयले अहिले खाने उपयुक्त समय नभएको भन्दै सूचना जारी गरिरहेको छ । तर पनि बजारमा यसको किनबेच रोकिएको छैन । उचित समयमा टिप्ने र जतनसाथ बजार पुर्‍याइएन भने अमिलो हुने, कोक्याउने तथा कुहिएर नष्ट हुने सम्भावना धेरै रहन्छ । लामो समयसम्म भण्डारणमा पनि कठिनाइ हुने गरेकाले कृषकले समयभन्दा छिटो टिपेर बिक्री गर्ने गरेका छन् । यसले समग्र बजारमा नै असर परिरहेको छ ।

लेकाली क्षेत्रमा मंसिरपछि मात्र किवी टिप्न उपयुक्त हुने प्राविधिकहरूले बताए । औल क्षेत्रमा कात्तिक १५ देखि टिप्न मिल्ने उनीहरूको भनाइ छ । मेची राजमार्गका हरेकजसो क्षेत्रमा भने भदौदेखि नै किवी बिक्रीका लागि राखिएको हुन्छ । पहिलो पटक खान लागेकाहरूले यति बेलाको किवी खाँदा नराम्रो प्रचार बढ्ने गरेको छ । ‘बिर्तामोडसम्म पुगेर दोकानेहरूलाई समेत सजग गराइरहेका छौं,’ किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राईले भने, ‘तर पनि कृषकले ल्याएर बिक्री गर्ने क्रम नघटेकाले उनीहरू नै सचेत हुनुको विकल्प छैन ।’


फूल फुलेको २२० दिनमा किवी फल टिप्न उपयुक्त हुने जोन कार्यालयको निष्कर्ष छ । किवीको बाहिरी झुस झरिसकेको अवस्थामा पनि टिप्न उपयुक्त भएको संकेत मिल्ने जोन कार्यालयका उमेश ढकालले बताए । समयअघि नै टिपेको किवी अमिलो र कोक्याउने हुँदा उपभोक्ताले दोहोर्‍याएर किन्दैनन् । ‘टाढाबाट घुम्न आएका पर्यटकहरूले यस्तो किवी खाएपछि धेरै गुनासो गर्छन्,’ किवी जोन सञ्चालक समितिकी उपाध्यक्ष तथा किवी उत्पादक कौशिला राईले भनिन्, ‘यसका लागि कृषकले छिटो टिपेर बजारमा ल्याउन बन्द गर्न र व्यवसायीलाई पनि नबेच्न आग्रह गरिरहेका छौं ।’ यो सिजनमा रेड किवी मात्र उपयुक्त हुने उनको भनाइ छ । तर, रेड किवीको उत्पादन न्यून छ ।


मौसममा सुधार आउनासाथ पूर्वका प्रमुख पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको भीड लाग्छ । उनीहरूले नौलो फल भन्दै किवी किनेर लाने गरेका छन् । तर, अपरिपक्व किवी खाएपछि बजारमा सिधा असर पुग्ने गरेको छ ।

कृषकले चोरी हुने, जंगली जनावारले खाने जस्ता कारणले चाँडो र सस्तो मूल्यमा भए पनि किवी बेच्ने गरेका हुन् । व्यावसायिक किवी खेती उत्पादन बढ्दै गए पनि भण्डारणको समस्या पनि उस्तै छ । एकै समयमा किवी पाक्ने र लामो समय राख्न नमिल्ने भएका कारण मुख्य सिजनमा सस्तोमा किवी बेच्नुपर्ने हुन्छ । तर, केही महिनापछि नै बजारमा किवी पाइँदैन । यो अवस्थामा विदेशबाट आयातित किवी महँगोमा किन्नुपर्ने बाध्यता छ । ठूला व्यवसायीले भण्डारणका लागि कोल्डस्टोर सञ्चालन गर्न माग गर्दै आएका छन् ।


सदरमुकाममा निर्माण भएको शीत भण्डार सञ्चालन नभएकाले पनि यहाँका कृषक र व्यवसायीलाई समस्या भएको हो । जिल्लामा उत्पादन हुने २ लाख किलोभन्दा धेरै किवी एकै पटक बजारमा निकालेर बेच्नुपर्ने बाध्यता भएको माईमझुवाका कृषक पुरण गुरुङको भनाइ छ ।


प्रकाशित : आश्विन १२, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?