हेटौंडामा अभाव

सुवास बिडारी

(मकवानपुर) — हेटौंडा बसपार्कस्थित खसीबोका बजार सुनसानजस्तै छ । नवरात्रि सुरु हुनै लाग्दासमेत खसी बजारमा गत वर्षको जस्तो चहलपहल छैन । 

हेटौंडामा अभाव

भारतबाट खसीबोका भित्र्याउन सरकारले क्वारेन्टाइन अनिवार्य गरेपछि त्यसको असर यहाँ परेको हो । बर्सेनि भारतबाट आउने खसीबोकाले बजार धान्ने गरेको थियो ।


भारतबाट क्वारेन्टाइन गराएर खसीबोका ल्याउन झन्झटिलो भएकाले व्यापारीले इच्छा नदेखाएपछि अभावको संकेत देखिएको हेटौंडा–१० स्थित खसीबोका बजारका ठेकेदार राजुकुमार महर्जनले बताए । ‘विभिन्न गाउँबाट हेटौंडामा खसीबोका बेच्न ल्याइन्छ तर त्यतिले मात्र बजारको माग धान्न सक्दैन,’ महर्जनले भने, ‘नाकामा केही ठाउँमा मात्रै क्वारेन्टाइन कार्यालय रहेको र त्यहाँबाट कागज लिनका लागि खसीसहित जानुपर्ने झन्झटले व्यापारी खसी किन्न भारत कमै पुगेका छन् ।’ गत वर्ष यसै समयमा चारदेखि पाँचसयसम्म खसीबोका बिक्री भइसक्थे । यस वर्ष एक–डेढ सयको हाराहारीमा मात्र बिक्री भएको महर्जनले बताए । ‘भनेजति खसीबोका नै आइरहेका छैनन्, अर्को कुरा मनलाग्दी भाउ लगाउने चलन छ, खसी बोकाको मूल्य जिल्ला प्रशासन कार्यालयले निर्धारण गर्दिनुपर्ने हो तर केही चासो देखाएको छैन । भारतबाट खसी नभित्रिँदा अभाव हुनुका साथै मूल्य पनि बढ्ने सम्भावना छ,’ उनले भने ।


महर्जनका अनुसार स्थानीय उत्पादनले मागको ५० प्रतिशत पनि परिपूर्ति हुँदैन । यद्यपि नौरथा सुरु भएपछि खसीको किनबेच बढ्ने हुनाले कति आवश्यक पर्छ र कति अभाव हुन्छ भने भन्न नसक्ने उनले बताए । मागअनुसारको खसी नभित्रिँदा बजारमा मनलाग्दी मूल्य कायम हुन थालेको उपभोक्ताको गुनासो छ ।

प्रकाशित : आश्विन १२, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?