कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

हराउँदै पाल्पाली करुवा

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिकाको टक्सारस्थित पाल्पाली करुवा उद्योगलाई परिवारका सातजनाले धानिरहेका छन् । यहाँ एक जना मात्र ज्यालादारी मजदुर कार्यरत छन् । अहिले पाल्पाका अधिकांश करुवा उद्योगले कच्चा पदार्थ र दक्ष कामदार अभाव झेलिरहेका छन् । समयमा सीप र प्रविधि हस्तान्तरण नहुँदा व्यावसायिक बाटोमा थुप्रै तगारा 
आएका छन् ।

हराउँदै पाल्पाली करुवा

स्थानीयका अनुसार २० वर्षअघिसम्म टक्सारमा २० वटाभन्दा बढी उद्योग थिए । तीमध्ये अधिकांश हराइसके । न्यू तानसेन र पाल्पाली उद्योगले मात्र पाल्पाली करुवा बनाउँछन् । धातुकला उद्योगले बनाउन छाडिसकेको छ । कच्चा पदार्थ र दक्ष कामदार अभावले व्यावसायिक बाटोमा अल्झन छ । ‘कामदार पाइँदैन,’ पाल्पाली करुवा उद्योगका सञ्चालक उत्तमकुमार बज्राचार्यले भने, ‘भएका पनि हिँडेपछि संकटमा छौं ।’


उनका अनुसार बर्सेनि करुवा उद्योग बन्द भइरहेका छन् । नयाँ पुस्तामा यस्तो सीप हस्तान्तरण भएन । घरेलु तथा साना उद्योग कार्यालयले यसको तालिम आह्वान गर्दा दुई जनाले मात्र फर्म भरे । ‘ती दुई जनालाई पनि मैले काममा लगाउँछु र सीप सिकाउँछु भनेको हुँ,’ बज्राचार्यले भने, ‘भनेजस्तो भएन । उनीहरू पनि हिँडे ।’


पाल्पाली करुवा अन्य स्थानको भन्दा फरक छ । त्यसैले यसको लोकप्रियता बढेको हो । बज्राचार्यका बाबु सूर्यमानले अहिलेको डिजाइन निकालेका हुन् । नेपालगन्ज र पोखरामा बन्ने करुवा यहाँको भन्दा धेरै फरक हुन्छ । अहिलेको डिजाइनमा उत्पादन गर्दा खर्चिलो हुन्छ । धातु, काँच, राङ, तामा, मैन, कोइलाको अभाव छ ।


पहिला तानसेनका घरघरमा करुवा उत्पादन हुन्थ्यो । पछिल्लो वर्षमा दुईवटा मात्रै उद्योगमा सीमित भएको पाल्पाली करुवा उद्योगका अर्का सञ्चालक प्रदीपकुमार बज्राचार्यले बताए । करुवाको माग बढी भए पनि उद्योग बन्द हुँदै गएकाले आपूर्ति गर्न नसकिएको उनले बताए । ‘करुवाको मूल्य न्यूनतम २ हजार ३ सय रुपैयाँ पर्छ,’ प्रदीपले भने, ‘त्यसपछि बाहिरको सस्तो र ठूलो पाइन्छ भनेर लिन पनि आउँदैनन् ।’


यहाँ राङ र तामा मिसाएको धातुबाट करुवा बनाइन्छ । अन्त मेसिनले ढलोटको बनाइन्छ । यसको जानकारी ग्राहकलाई हुँदैन । ‘हामीले बनाउने करुवामा शुद्ध काँस हुन्छ,’ उनले भने, ‘अन्य करुवाको यस्तो हुँदैन ।’ बजारमा ढलोटको करुवा बढी बिक्री हुने भएकाले खोज्न कम आउने गर्छन् । ‘यसको महत्त्व बुझेका र जानेका मात्रै आउने हुन्,’ उनले भने, ‘नत्र मेसिनबाट बनेका किन्छन् ।’ स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, जिल्ला समन्वय समितिले यसमा चासो नदिएको उद्यमीको गुनासो छ ।


प्रकाशित : आश्विन ११, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?