कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खाद्य गोदाम रित्तै,दसैंमा कसरी छाक टार्ने ?

राजबहादुर शाही

मुगु — दसैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदामा रित्तै छन् । चाडपर्बको मुखमा सरकारी अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन् । यसपटक पनि उनीहरुको दसैंतिहार खल्लो हुने भएको छ ।

खाद्य गोदाम रित्तै,दसैंमा कसरी छाक टार्ने ?

जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादन न्यून हुन्छ । हिउँदे अन्न सकिएको र वर्षै अन्न पाकि नसकेकाले किसानलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको हो । सोरुकोट, पूलु, श्रीकोट, कालै, रातापानीलगायत खाद्य डिपो गत साउनदेखि रित्तै छन् । गमगढीस्थित संस्थानको शाखा कार्यालयमा करिव डेढ सय क्विन्टल खाद्यान्न मात्र मौज्जात छ । उक्त चामल जन्म र मृत्यु संस्कारका लागि बचत राखिएको हो ।


गत आर्थिक वर्षको चामल सकिए पनि यो वर्षको ढुवानी नहुँदा खाद्य गोदाम रित्तै छन् । सोरुकोट खाद्य डिपोमा चामल नहुँदा कर्मचारीसमेत स्थानीय बजारबाट ३० किलो चामलको २ हजार ३ सय रुपैयाँ तिरेर उपभोग गर्न बाध्य छन् । ‘डिपोमा एक दाना चामल पनि छैन,’ सोरुकोटका पदमबहादुर शाहीले भने, ‘स्थानीय बजारबाट महँगो मूल्यमा चामल खरिद गर्नुपर्ने बाध्यता छ ।’

दसैंमा कसरी छाक टार्ने भन्ने चिन्ताले सताएको उनको गुनासो छ । डिपोमा चामल सकिएपछि त्यहाँ कार्यरत कर्मचारी पनि सदरमुकाम आएका छन् । सोरुकोटमा गाउँपालिकाको कार्यालय, बैंक, प्रहरी चौकीलगायतमा कार्यरत कर्मचारीले समेत चामल नहुँदा सास्ती भोग्नुपरेको छ ।


बढी खाद्यान्न खपत हुने मुगमकार्मारोङ गाउँपालिकाको पूलु डिपोमा पनि चामल सकिएपछि स्थानीयबासी बजारको र चिनियाँ खाद्यान्न उपभोग गर्न बाध्य छन् । स्थानीयलाई एक दिन टाढाको छाइल बजारमा पुगेर खाद्यान्न बोकेर ल्याउनुपर्ने बाध्यता भएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार मुगु, डोल्फू, कार्ति, किम्री, चितै, ताखा, खारी, रिउस, पुवा, माग्रीलगायत गाउँका बासिन्दा खाद्यान्न किन्न छाइल बजार पुग्ने गरेका छन् ।


डिपोमा चामल नहुँदा व्यापारीले चामल बिक्रीमा कालोबजारी गर्न थालेको स्थानीयको भनाइ छ । डिपोमा चामल नभएपछि स्थानीयबासी खेतको नपाकेको धान काटेर चामल निकाल्ने तयारीमा जुट्न थालेका छन । श्रीकोट डिपोमा रहेको डेढ सय क्विन्टल चामल सकिन थालेको खाद्य संस्थानले जनाएको छ । खत्याड गाउँपालिकाको औंल क्षेत्रतिर धान पाकेको छैन । ग्रामीण भेगका डिपोमा चामल नहुँदा जन्म र मृत्यु संस्कारमा पाउने चामल सुविधाबाट स्थानीयबासी वञ्चित भएका छन् । जन्म र मृत्युको प्रमाणपत्र लिएर खाद्य गोदाममा जाँदा पनि २० किलो चामल पाउन मुस्किल भएको स्थानीयको गुनासो छ ।


खाद्य संस्थानको शाखा कार्यालय प्रमुख रणबहादुर रावलले ठेक्का स्वीकृती प्रक्रियामा ढिलाइ हुँदा चामल ढुवानीमा समस्या भएको बताए । उनले शाखा कार्यालयमा दसैंअगाडि नै चामल ढुवानी गर्ने तयारी थालिएको जनाए । बजार क्षेत्रमा भन्दा खाद्य संस्थानमा प्रतिबोरा दुई सय ५० रुपैयाँ सस्तो चामल पाइन्छ ।


संस्थानले गमगढीमा १० हजार, कालैमा एक हजार आठ सय, सोरुकोटमा दुई हजार, श्रीकोटमा एक हजार दुई सय र रातापानीमा एक हजार आठ सय क्विन्टल वार्षिक कोटा तोकेको छ ।


छिमेकी जिल्ला हुम्लाका ग्रामीण क्षेत्रका खाद्य डिपोहरु पनि साउनयता रित्तै छन् । सर्केगाड, श्रीनगर, छप्रेला, ब्यहुली, याङचुलगायत खाद्य डिपो ढुवानी प्रक्रिया सुरु नहुँदा रित्तै बनेका हुन् । डिपोमा चामल नभएपछि हुम्लाको तल्लो क्षेत्रका बासिन्दा एक साता हिडेर गमगढी बजारमा आइ बजारबाट चामल खरिद गरेर जान थालेका छन् ।

प्रकाशित : आश्विन ११, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?