कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘ललितपुरमा हस्तकला औद्योगिक क्षेत्र’

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको हस्तकला प्रवर्द्धन गर्न छुट्टै औद्योगिक क्षेत्र खोल्न पहल गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उनले हस्तकलामा परम्परागत कौशल गुम्दै गएको भन्दै यसको प्रवर्द्धन गर्न सरकारले योजना ल्याउने तयारी गरेको जानकारी दिए ।

‘ललितपुरमा हस्तकला औद्योगिक क्षेत्र’

‘जग्गा उपलब्ध भए तत्काल प्रक्रिया अगाडि बढाउन सकिन्छ,’ उनले भने, ‘प्राचीनकालदेखि मध्य हुँदै आधुनिकसम्मको इतिहास बोकेको सहरको मौलिकता जोगाउन तयार छु ।’


काष्ठकला, धातुकला, मूर्तिकला, प्रस्थरकला, ताम्रकला, चित्रकलाका लागि ललितपुर प्रख्यात मानिन्छ । विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई गत वर्ष नेपालकै पहिलो विश्व हस्तकला सहर घोषणा गरेको थियो । परिषद्को सूचीमा अहिलेसम्म संसारका ३५ वटा सहर मात्र पर्न सफल भएका छन् ।


ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले पाटनलाई हस्तकलाको सहरको रूपमा विकसित गर्ने अभियानमा जुटिरहेको बताए । ‘आगामी दिनमा पनि हस्तकलाको सहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास जारी रहनेछ,’ उनले भने ।


नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षमा देशमा भित्रिने मुद्राभन्दा बाहिरिने बढी भएकाले शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको देखाएको छ । व्यापार घाटा १३ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ पुगेको देखिन्छ । संघका अध्यक्ष महर्जनले हस्तकला निर्यात बढाएरै मुलुकको व्यापार घाटा नियन्त्रणमा उल्लेख्य योगदान पुर्‍याउन सकिने बताए । ‘लुभुका कपडा उद्योग एकीकृत गरेर अघि बढ्न सकियो भने यसबाट पनि मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले विश्व कला परिषद्ले मात्र नभई सरकारले ललितपुरलाई हस्तकलाको नगरी घोषणा गर्नुपर्नेमा जोड दिइन् । ‘यसका लागि नेपाल भ्रमण वर्ष राम्रो मौका हो,’ उनले भनिन्, ‘भारत र चीनको व्यापार प्रतिस्पर्धाका कारणले नेपालमा कपडा निर्यातमा नराम्रो प्रभाव परेको छ ।’ उनले पनि हस्तकलाको छुट्टै औद्योगिक क्षेत्र चाँडै खोल्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् । अर्थमन्त्री खतिवडाले हस्तकलाको सहरको मौलिकता झल्काउन प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्न तयार रहेको बताए ।


कपास खेती गर्न प्रोत्साहन गरिने

लुभु, बाडेगाउँ, ठैव कपडा उद्योगका लागि प्रख्यात मानिन्छन । ललितपुरका सांसद नवराज सिलवालले कपडा उद्योग प्रवर्द्धन गर्न व्यवसायीलाई सहुलियत दिन अर्थमन्त्रीको ध्यानमर्कषण गराउदै आएको बताए । ‘नेपालमा उत्पादित कपडा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालका छन्,’ उनले भने, ‘तर, निजी क्षेत्र, ब्युरोक्र्याट्स र पोलिटिकल पार्टी मिलेर भष्टाचार गरिरहेकाले ओझेलमा परेको छ ।’ अर्थमन्त्री खतिवडाले कपडा उद्योग प्रवर्द्धन गर्न कपास खेती गर्न प्रोत्साहन गर्ने बताए ।

प्रकाशित : आश्विन ११, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?