कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मूल्य अन्तरले उपभोक्ता सीमापारि

विनोद भण्डारी

(विराटनगर) — एक उपभोक्ताले एकपटकमा कम्तीमा ५ हजार मूल्य बराबरका सामान सहजै ल्याउन पाउने सुविधा र स्थानीय र सीमावर्ती बजारमा वस्तुको मूल्यमा रहेको ठूलो अन्तरले दसैं नजिकिँदै गर्दा नेपाली उपभोक्ताको भीड सीमापारिको जोगबनी बजारमा बढ्दो छ  । दसैंमा विशेषगरी भान्सामा प्रयोग हुने सामान र लत्ता कपडाको बढी कारोबार हुन्छ  ।

यी सामान विराटनगरको तुलनामा सीमापारि निकै सस्तो पर्छ । दसैंका लागि सामान किन्न जोगबनी पुगेकी विराटनगर ४ गोकुल टोलकी गृहणी इन्दिरा खड्काले भनिन्, ‘एक किलो जिरामा झन्डै सय रुपैयाँको फरक पर्छ । चिनी खुद्रा किन्दा किलोमा झन्डै २० रुपैयाँ फरक छ । खाने तेलमा लिटरमा ५० पैयाँभन्दा बढी फरक पर्छ । कपडातर्फ एक जोर कुर्था–सुरुवालमा दुई/तीन सय, तन्नामा दुई सयसम्म फरक छ ।’

कपडा व्यवसायी संघ विराटनगरमा उपाध्यक्ष नन्दकिशोर जाजु पनि मूल्य फरक पर्दा उपभोक्ता जोगबनी पुग्दा स्थानीय बजार सुनसान भएको स्विर्काछन् । दैनिक उपभोग्य वस्तु र लत्ता कपडामा सरकारले लगाएको करका कारण जोगबनीमा मूल्य निकै फरक पर्ने उनले बताए । कपडामा १५ देखि २५ प्रतिशतसम्म भन्सार महसुल र १३ प्रतिशत भ्याटका कारण ४० प्रतिशतसम्म मूल्य फरक पर्छ । जाजुले भने सरकारले हरेक वस्तुमा कर लगाएर उपभोक्तालाई सीमावर्ती बजारमा जान बाध्य पारेपछि स्थानीय बजार सुकेको हो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारलाई कर मात्र चाहिएको छ व्यवसायी मरुन् वा बाँचुन् वास्ता नभएको बताए । मूल्य अन्तरका कारण सीमावर्ती जोगबनी बजारमा यसबेला दैनिक करोडौंको व्यापार छ । उनले भने, ‘स्थानीय बजारमा व्यापार नै छैन ।’ उपभोक्ताको दिमागमै जोगबनीमा सस्तोमा सामान पाइन्छ भन्ने प्रभाव परेको छ । ‘यहाँका व्यापारिक मलले पर्वमा सामान किन्दा छुट र बम्पर उपहारको व्यवस्था गर्दा पनि उपभोक्ता सीमापारि नै पुग्नु व्यवसायीका लागि दुर्भाग्य हो,’ मुन्दडाले भने ।

विराटनगर भन्सार कार्यालयले उपभोक्ताले पाँच हजार रुपैयाँसम्मको सामान ल्याउँदा समदरमा ४० प्रतिशत भन्सार राजस्व लिएर पारि जाने उपभोक्तालाई कडाइ गरेको दाबी गरेको छ । पछिल्लो समय यात्रु शाखामा समदर भन्सार महसुल बुझाउने उपभोक्ता निकै घटेको भन्सार प्रवक्ता मणिराम पौडेलको भनाइ छ । यात्रु शाखामा महसुल तिर्ने उपभोक्ता घट्नु भनेको पारि सामान किन्न जाने पनि घटेको उनको बुझाइ छ ।

तर ५–७ हजार मूल्य बराबरका सामान बोकेर सहज रूपमा आउँदै गरेका उपभोक्ता विराटनगर–जोगबनी सडक खण्डमा दैनिक सयौं भेटिन्छन् । भन्सार महसुल र अन्तःशुल्कका कारण व्यवसायीले सामान नै आयात नगरेका कारण पनि उपभोक्ता सीमापारि पुगेको एक भन्सार एजेन्टको बुझाइ छ । हरेक सामानमा भन्सार महसुल र अन्तःशुल्क लागेको छ । आयात गरिएका सामान भन्सार छुटाउन पनि एक सातासम्म लाग्छ ।

प्रकाशित : आश्विन ९, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?