कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मेला–महोत्सवले दसैं माहोल

नुमा थाम्सुहाङ

काठमाडौँ — काठमाडौंको आकाश सफा छ । सडक र गल्लीहरूमा पनि पहिलाझैं धुवाँ–धुलो कम छ । विभिन्न ठाउँमा दसैं केन्द्रित मेला–महोत्सव लाग्न थालेका छन् । ठूला मल–मार्टहरूले छुटसहितका मूल्य सूचीहरू टाँस गरेका छन् । काठमाडौं आएर विभिन्न पेसा–व्यवसाय गरिरहेका मानिसहरू पुर्ख्यौली थलो फर्किन टिकटका लागि लाम बसेको दृश्यले बिस्तारै दसैं भित्रिएको संकेत गरेको छ ।

मेला–महोत्सवले दसैं माहोल

राजधानीको बृहत् प्रदर्शनीस्थल भृकुटी मण्डपमा अझ गजबको वातावरण छ । दसैं आउनु एक महिनाअघिदेखि नै यहाँ सस्तो मेला लाग्ने गरेको छ । चाडबाड नजिकिए सँगैस्वदेशी तथा विदेशी उत्पादनको प्रदर्शनी मेला लगाउने होडबाजीले यहाँको दृश्य नै फरक देखिन्छ । एउटा मेला सकिएकै भोलिपल्ट अर्को मेलाको आयोजनाले दसैं माहोल भित्र्याएको छ ।


‘नेपाली गुणस्तरलाई नेपालीमाझ चिनाउन’ भन्दै गत २ गतेदेखि सुरु भएको ‘नेपाली धागो तथा टेक्सटाइल एक्स्पो’ आइतबार सकिएको छ ।


शिक्षक पेसामा संलग्न स्वयम्भूका बलराम चापागाई दोस्रोपटक मेलामा सहभागी भएका थिए । धागो मेलाको अघिल्लो संस्करणमा किनेको सर्ट लगाएर आएका चापागाई नेपाली उत्पादन भन्ने बित्तिकै माया लाग्ने गरेकाले मेलामा आएको बताउँछन् । ‘अरू बेला बाहिर पनि लुगा किनिन्छ । यो सस्तो मेला भएकाले कपडा किन्न दसैं नै पर्खेर बसेको थिएँ,’ उनले मेलामा आउनुको उद्देश्य खुलाए, ‘यहाँ बाहिर पाउने मूल्यमा भन्दा होलसेल मूल्यमा नै कपडा पाइन्छ । यहाँ किनेका कपडा लगाउँदा निक्कै कर्म्फट लाग्छ ।’ दसैंको समयमा विभिन्न सस्तो मेला आयोजना हुने भए पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिएका उत्पादनको गुणस्तरमा पनि उपभोक्ताहरूले प्रश्न उठाउने गरेका छन् ।


नेपाल कपडा उद्योग संघको उपाध्यक्ष तथा प्रगति टेक्स्टाइल इन्डस्ट्रिज प्रालिका सञ्चालक जितेन्द्रकुमार लोहिया दसैंमा नेपालीहरूले नेपाली उत्पादनका कपडा सुपथ मूल्यमा खरिद गर्न सकुन् भनेर मेला आयोजना गरिएको दाबी गर्छन् । ‘चाडपर्व नजिकिँदै गर्दा यस्ता थुप्रै मेला आयोजना हुने गर्छन्, हाम्रो उद्देश्य भनेको नेपालीले नेपाली उत्पादनको गुणस्तरीय कपडा फ्याक्ट्रीकै मूल्यमा पाउन् भन्ने हो,’ उनले भने ।


नेपाली कपडा गार्मेन्टले वार्षिक ७ अर्ब रुपैयाँ बराबरको कपडा उत्पादन गर्ने उनले बताए । वर्षमा ४० अर्ब रुपैयाँको कपडा तथा कपडाजन्य वस्तु वैधानिक रूपमा आयात हुने गरेको उनको भनाइ छ । गएको वर्ष साढे ४ खर्ब रुपैयाँ बराबरको कारोबार हुनुपर्ने भए पनि खुला सिमानाको बजारले यसमा प्रभाव पारिरहेको उनको तर्क छ ।


‘ग्राहकहरूलाई नेपालमा गुणस्तरको सामान बन्छ र सरकारलाई हाम्रो देशमा पनि यस्ता उद्योग सञ्चालनमा छन् भनी चिनाउन मेला आयोजना गर्दै आएका हौं,’ उनले भने । नेपाल धागो उत्पादन संघका सचिव उत्तम गौतमले दसैंमा बाहिर कपडा किन्दा डिलरबाट रिटेलर हुँदै कमिसनसहित किन्न बाध्य हुनुपर्ने अवस्था रहेकाले ५० प्रतिशत छुटसहित यसपटक गुणस्तरीय सामान प्रदर्शनीमा राखिएको बताए । मेलामा कपडा उद्योगको १०, चाइनिज मेसिनरीको २ र धागो उद्योगको ३ लगायत ७४ स्टल रहेका थिए ।


नेपाली धागो भारत र युरोपमा ८० प्रतिशत निर्यात गर्ने गौतमले बताए । नेपालमा २० प्रतिशत मात्र खपत भइरहेको उनको भनाइ छ । सय प्रतिशत पोलिस्टर, भिस्कस, एक्रेलिक र मिक्स धागो उत्पादन भइरहेको जानकारी दिँदै उनले भने, ‘मेलामा १ सय रुपैयाँदेखि लिएर २ हजारसम्म पर्ने नेपाली उत्पादनका सामान रहेका छन् । वर्षमा ४० हजार टन धागो उत्पादन हुन्छ भने १५ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।’


प्रदर्शनीस्थलमा यसअघि पनि विभिन्न मेलाहरू आयोजना भइसकेका छन् । दसैंको समयमा पसलमा मात्र नभई प्रदर्शनी मेलामा समेत भीड बढ्न थालेको छ । अझ दसैंलाई नै लक्षित गरी राखिएका सस्तो मेलामा ग्राहक आकर्षित हुन्छन् । दसैंमा मानिसहरूले सकेसम्म सस्तो सामान किन्न चाहन्छन् । यही उद्देश्यका साथ ३ वर्षदेखि इभेन्ट सोलुसन प्रालिले ‘दसैं सस्तो मेला’ आयोजना गर्दै आएको छ ।


गौशालाका विक्रम महर्जनले सस्तो मेलामा ४ हजार रुपैयाँमा ६ थरी सामान खरिद गरे । मेलामा पहिलोपटक आएका उनी भन्दै थिए, ‘बाहिर पाइनेभन्दा निकै सस्तोमा सामान लिएँ । मूल्यअनुसार सामानको गुणस्तर पनि राम्रो लाग्यो ।’


गत असोज १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमै मेला लागेको थियो । सोलुसनका मार्केटिङ हेड अनिल श्रेष्ठले कपडा, जुत्ता, घरेलु सामग्री तथा हस्तकलालगायत सामान प्रदर्शनीमा राखिएको र हजारौं मानिस सहभागी भएको दाबी गरे ।

प्रकाशित : आश्विन ८, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?