च्याङ्ग्रा खोज्न हिमाली जिल्ला

चाँदनी कठायत

(सुर्खेत) — दसैँ नजिकिएसँगै भेडाच्याङ्ग्रा खरिदका लागि व्यापारी हिमाली जिल्लातिर उक्लिन थालेका छन् । दसैं–तिहारमा मासुको खपत बढी हुने भएकाले भेंडाच्याङ्ग्रा खरिद गर्न व्यापारीहरू कर्णालीका मुगु, हुम्ला र डोल्पा तथा सुदूरपश्चिमको बाजुरा, डडेल्धुरासम्म पनि पुग्न थालेका हुन् ।

च्याङ्ग्रा खोज्न हिमाली जिल्ला

सुर्खेतका मासु व्यवसायी जनक थापाले भेडा–च्याङ्ग्रा खरिदका लागि आफ्ना कर्मचारीलाई कर्णालीका हिमाली जिल्लामा पठाइसकिएको बताए । ‘दसैं–तिहारका बेला खसीसँगै भेडा–च्याङ्ग्राको मासुको माग बढ्छ,’ उनले भने, ‘सबै मासु व्यवसायीले भेडाच्याङ्ग्रा खरिदका लागि व्यापारीलाई हिमाली जिल्लातिर पठाइसकेका छन् ।’ पोखरा र काठमाडौंका व्यापारीले पनि कर्णालीकै व्यापारीसँग सम्पर्क गरेर भेडाच्याङ्ग्रा खरिद गर्ने उनले बताए ।

मासु व्यवसायी संघका पूर्वजिल्ला अध्यक्षसमेत रहेका थापाले अबको एक साताभित्र सुर्खेतमा भेडा–च्याङ्ग्रा भित्रिने जानकारी दिए । उनका अनुसार सुर्खेतमा पहिलो लटमा करिब ३ सयसम्म भेडा–च्याङ्ग्रा आउनेछन् ।

दसैं–तिहारको समयमा खपत हुने मासुका लागि खसी भने पश्चिम सुर्खेतको लगाम बेतान, दैलेख, जाजरकोटलगायत जिल्लाबाट आउने गरेका छन् । कालीकोटका व्यापारी कौशल शाहीले आफूहरू भेडाच्याङ्ग्रा लिनका लागि मुगु, डोल्पा मात्र नभई बाजुरासम्म पुग्ने गरेको बताए । एउटा भेंडा वा च्याङ्ग्राको मूल्य १० हजारदेखि २० हजारसम्म पर्ने उनको भनाइ छ । ‘खसी र च्याङ्ग्रा हेरेर मूल्य फरकफरक हुन्छ,’ उनले भने, ‘पोहोरभन्दा अहिले भाउ बढेको छ ।’


चेकपोस्टमा सास्ती

व्यवसायीले खरिद गरेका भेंडा– च्याङ्ग्रा सुर्खेत ल्याउँदा चेकपोस्टमा सास्ती खेप्नुपरेको बताएका छन् । मासु व्यवसायी थापाले हरेक चेकपोस्टमा पुलिसले आफूहरूसँग पैसा माग्ने गरेको गुनासो गरे । ‘पुलिसले हैरान गर्छ,’ उनले भने, ‘सुर्खेतमै पनि बाबियाचौरबाट वीरेन्द्रनगर ल्याउँदा पनि चेकपोस्टमा पुलिसले सताउँछन् ।’


कर्णालीभित्रै ढुवानी गर्दा बीच बाटोमा पशु क्वारेन्टाइनको व्यवस्था छैन । प्रत्येक स्थानीय तहमा रहेका पशु सेवा क्लिनिकमार्फत सिफारिस दिने व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ । अर्का व्यवसायी कौशल शाहीले सिफारिस बनाएर लैजाँदा पनि पुलिसले पैसा माग्ने गरेको बताए । उनले ट्रकमा भेंडाच्याङ्ग्रा ढुवानी गर्न नदिँदा पनि समस्या भएको उल्लेख गरे ।


खसी–बोकाको नयाँ मूल्य

भारतीय खसी आयातमा रोक लगाएपछि स्थानीयस्तरमा खसीबोकाको मूल्य बढेको छ । खसीबोका बिक्री वितरण गर्दै आएका सहकारी र व्यापारीबीच काठमाडौंमा भएको छलफलले जिउँदो खसी बोकाको नयाँ मूल्य निर्धारण गरेको हो । छलफलपछि २० देखि ३० केजीका जिउँदो खसीको मूल्य प्रतिकेजी ४ सय ५० र ३० केजीदेखि माथिसम्मकालाई ४ सय ६० प्रतिकेजी मूल्य निर्धारण गरिएको थापाले बताए । बोकाको हकमा पनि सल्यानमा एउटै मूल्य कायम गर्ने सहमति भएको छ ।

प्रकाशित : आश्विन ७, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?