कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पर्यटक लोभ्याउँदै बबई भ्याली

कमल पन्थी

(बर्दिया) — बर्दिया निकुञ्जभित्रको रमणीय बबई उपत्यकामा पर्यटकीय आकर्षण बढेको छ । लामो समय ओझेलमा परेको उपत्यका अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । चुरे फेदमा रहेको उपत्यका पर्यटकका लागि खुला गरिएपछि अवलोकन गर्ने र रात बिताउने बढ्न थालेका हुन् । 

पर्यटक लोभ्याउँदै बबई भ्याली

चार दिनअघि बेलायतबाट यहाँ आएका जेक्सनसहित ७ जनाले उपत्यकामा दुई रात बिताए । उनीहरू अस्थायी टेन्टमा बसेका थिए । त्यहाँ बबई नदीको रमणीय तट, घना जंगल, ठूला घाँसे मैदान र दुर्लभ वन्यजन्तु अवलोकन गर्न पाइन्छ । यहाँका घाँसे मैदानमा हात्तीका बथान चरिरहेका देखिन्छन् । यहाँबाट ३५ वर्षअघि बस्ती स्थानान्तरण गरिएको थियो । त्यसैले कति ठाउँमा घरका अवशेष देख्न पाइन्छ ।


खण्डहर घर र स्थानीयले छाडेका सामान देखेको जेक्सनले बताए । पूर्व–पश्चिम राजमार्गबाट उत्तरपूर्वमा रहेको उपत्यका पुगेपछि थकान हराउँछ । दाङबाट आएका देवराज गौतम उपत्यकाको रातामाटे, कालीनारा र चित्तलेसम्म पुगे । जंगलबीचमा कलकल बबईको तटले लोभ्याएको उनले बताए । ‘कालीनारामा बाघ देखेपछि एकछिन त डर लाग्यो,’ उनले भने, ‘निकुञ्ज सुरक्षाका लागि तैनाथ सेनाको गस्ती टोली देखेपछि राहत मिल्यो ।’


उपत्याकाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ । एकान्त भएकाले साँझ र बिहानका दृश्य मनमोहक हुन्छन् । लामो द्वन्द्वका बेला यहाँ प्रवेशमा रोक लगाइएको थियो । शान्ति स्थापनापछि यसलाई खुला गरिएको हो । प्रवेश अनुमति भएपछि यहाँका पर्यटन व्यवसायीले पनि भ्रमण प्याकेजमा समेटेका छन् । निकुञ्ज कार्यालयले साइन बोर्ड, प्रचार सामग्री राख्ने तयारी भइरहेको जनाएको छ । निकुञ्जमा राजस्व तिरेर बबईमा माछा मार्ने व्यवस्था पनि गरिएको छ । तर, माछा मारेर खान पाइँदैन ।


पर्यटकको रमाइलाका लागि मात्र यो सुविधा प्रदान गरिएको छ । बल्छीमा परेका माछा नदीमै छाड्नुपर्छ । त्यहाँ सजिलै बाघ देखिने भएकाले आकर्षण बढ्दै गएको हो । अहिले त्यहाँ घुम्न जाने पर्यटकले दिनहुँ बाघ देखेको जानकारी दिने गरेको सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । उनका अनुसार निकुञ्ज मुख्यालय ठाकुरद्वाराबाट दिनभर पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । जिपबाट ४ घण्टा समथर पहाडमा यात्रा गर्नुपर्छ । निकुञ्जको पूर्व सेक्टर चेपाङबाट पनि पुग्न सकिन्छ । चेपाङबाट राफ्टिङमा जान सकिन्छ । जिल्लामा चेपाङ हुँदै बबई नदी भारतीय सीमासम्म बग्ने गर्छ ।


सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षलाई मध्यनजर राखेर निकुञ्ज प्रशासनले बबई उपत्यकालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने तयारी भइरहेको जनाएको छ । प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गाडीमार्फत सजिलै बबई उपत्यका पुग्न सकिने बताए । यात्रा सहज बनाउन दसैंलगत्तै बबई उपत्यकासम्म ५० किमि सडक ग्राभेल गरिने उनले बताए ।


‘भ्रमण वर्षमा बबई उपत्यकामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य छ,’ उनले भने, ‘यो निकुञ्जको प्रमुख पर्यटकीय गन्तव्य हो ।’ ०४० सालमा राजा वीरेन्द्रले निकुञ्ज विस्तार गर्न साविक सानोश्री पञ्चायतलाई स्थान्तरण गरेर ताराताल पुनर्वास क्षेत्रमा बस्ती बसालेका थिए । त्यस बेला सानोश्रीको जनसंख्या ५ हजार थियो । रातामाटे, बाँसपानी, शिवपुर, तेलपानी, कालीनारालगायत एक दर्जन गाउँका बासिन्दालाई तारातालमा ल्याइएको थियो । तिनै ठाउँलाई अहिले बबई उपत्यका भनिन्छ ।


बासस्थान सुरक्षित भएको निष्कर्षसहित ०४२ सालमा पहिलोपटक चितवन निकुञ्जबाट चारवटा गैंडा उपत्यकामा स्थान्तरण गरिएको थियो । त्यसयता लगातार करिब ८० वटा गैंडा यहाँ स्थान्तरण गरिएको छ । सशस्त्र द्वन्द्वका बेला यहाँबाट सेनाका पोस्ट हटाइयो । त्यसपछि ठूलो संख्यामा चोरी सिकारीले गैंडा मारेका थिए । पूर्व सहायक संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार बबई उपत्यका गैंडाको उचित बासस्थान हो । ‘त्यसैले यहाँ पर्यटक भित्र्याउन विदेशीलाई पनि हवाईजहाजमा नेपालीसरह भाडा लिनुपर्छ,’ उनले भने, ‘पर्यटकका लागि बबई उपत्यका प्रकृतिको बरदान हो ।’


निकुञ्जमा ५६ प्रजातिका स्तनधारीमध्ये १० वटा संरक्षित, ४३८ भन्दा बढी प्रजातिका चराचुरुंगी रहेका छन् । पर्यटकका लागि मात्रै होइन जैविक विविधता अध्ययनकर्ताका लागि बबई उपत्यका स्रोत केन्द्र बन्दै गएको राष्ट्रिय प्रकृति संरक्षण केन्द्रका संरक्षण अधिकृत श्याम थापाले बताए । बाघ हेर्न उद्देश्यका साथ गत वर्ष साउनदेखि असार मसान्तसम्म ६ हजार ५ सयभन्दा बढी विदेशी पर्यटक आएको जानकारी निकुञ्जले जनाएको छ । उक्त अवधिमा आन्तरिक पर्यटक उल्लेख्य रूपमा आएका थिए ।

प्रकाशित : आश्विन ७, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?