कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बैंक निक्षेप घट्यो, फेरि तरलता अभाव चर्किन थाल्यो 

यज्ञ बञ्जाडे

काठमाडौँ — गत असारमा २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको कुल निक्षेप भदौसम्म २८ खर्ब ६५ अर्ब रुपैयाँमा सीमित भएको छ । दुई महिनामा बैंकको कुल निक्षेप करिब १३ अर्ब रुपैयाँले घटेको हो ।

बैंक निक्षेप घट्यो, फेरि तरलता अभाव चर्किन थाल्यो 

बढ्दो आयात, कम सरकारी खर्च, ग्राहकले पैसा आफैंसँग राख्ने प्रवृत्ति, पुँजी पलायनलगायतका कारण बैंकको निक्षेप घटेको जानकार बताउँछन् ।


निक्षेप घटेपछि बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) अभाव फेरि चर्किन थालेको छ । तीन महिनाको अवधिमा २८ वटा वाणिज्य बैंकले करिब ५० अर्ब रुपैयाँ थप कर्जा लगानी गरेका छन् । तथ्यांकले गएको तीन महिनामा निक्षेप १३ अर्बले घट्दा बैंकले ५० अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेको देखिन्छ । निक्षेप घटिरहँदा पनि बैंकले आक्रामक रूपमा कर्जा विस्तार गरेकाले वित्तीय क्षेत्रमा सम्पत्ति तथा दायित्वबीचको सन्तुलन नमिलेको विज्ञहरूको विश्लेषण छ ।


वित्तीय क्षेत्रले विगत तीन वर्षदेखि निरन्तर रूपमा लगानीयोग्य रकम कम हुने समस्या भोग्दै आएको छ । अहिले पनि त्यही अवस्था दोहोरिएको छ । बैंकले निक्षेपकर्ताबाट निक्षेप संकलन गर्ने र त्यही निक्षेपको निश्चित प्रतिशत कर्जा लगानी गरेर नाफा कमाउने हो । यसकारण बैंकले सर्वसाधारणबाट कम ब्याजदरमा निक्षेप संकलन गर्छ र सोही निक्षेप केही महँगो ब्याजमा लगानी गर्छ । निक्षेप र कर्जाकोबीचको फरक ब्याजदर नै बैंकको नाफा हो ।


राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारमा वाणिज्य बैंकको कुल कर्जा २४ खर्ब ९८ अर्ब रुपैयाँ थियो । भदौसम्म आइपुग्दा यो बढेर २५ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।


बैंकमा निक्षेप संकलन घटेको र ऋण प्रवाह बढेकाले लगानीयोग्य रकम अभाव भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘धेरै बैकहरूसँग अहिले लगानीयोग्य रकम कम छ,’ उनले भने, ‘निक्षेप संकलनमा सुधार नआए कर्जा प्रवाह रोक्नुपर्ने अवस्था आउन सक्छ ।’


करिब तीन साताअघिसम्म बैंक तथा वित्तीय संस्थामा करिब ३० अर्ब रुपैयाँ अधिक तरलता थियो । बैंकहरूले बोलाएरै ऋण लगानी गरिरहेका थिए । तीन सातामै बैंकहरू हाहाकारको अवस्थामा पुगेका छन् । बैंकहरूले छोटो समयको पनि पूर्वानुमान गर्न नसक्दा यस्तो अवस्था आएको विज्ञहरूले बताएका छन् । ‘मुलुकको संरचनागत कारणले लगानीयोग्य रकम घटिरहेको छ,’ राष्ट्र बैंकका एक पूर्वनिर्देशकले भने, ‘बैंकहरूले त्यत्ति पनि पूर्वानुमान गर्न सकेनन् । निरन्तर ऋण प्रवाहमा लागिरहे ।’ बैंकहरूले विगतका वर्षको अनुभवबाट पनि पाठ नसिकेको उनको आरोप छ । ‘गएका दुई वर्ष बैंक तथा वित्तीय संस्थाले यही समस्या खेपिरहेका छन्,’ उनले थपे, ‘विगतबाट पाठ सिक्नुपर्ने हो, त्यो देखिएन ।’


‘ससानो रकम ऋण दिन समस्या छैन,’ सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले भने, ‘ठूला ऋणमा केही समस्या भएको हो ।’ अघिल्ला दुई वर्ष पनि बैंकले तरलता अभावको समस्या भोगेको स्मरण गर्दै उनले भने, ‘यसपालि अलि छिटो लिक्विडिटी टाइट देखियो ।’


निरन्तर चुलिँदो आयातले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न नसकेको र अझै एक/दुई वर्ष यही अवस्था रहने पूर्वसचिव रामेश्वर खनालले बताए । ‘उच्च आयातले मुलुकको पैसा निरन्तर बाहिरिएको छ,’ उनले भने, ‘रेमिट्यान्समार्फत केही रकम आए पनि त्योभन्दा बढी बाहिरिन्छ ।’


बैंकको कारणले भन्दा पनि अर्थतन्त्रको संरचनात्मक कारणले बैंकमा निक्षेप बढ्न नसकेको उनको बुझाइ छ । ‘यो संरचनात्क समस्या हो, समाधानका लागि संरचना नै परिवर्तन गर्नुपर्छ, उत्पादनमूलकको सट्टा आयात (व्यापार) मुखी अर्थतन्त्र भएकाले समस्या बल्झिरहेको छ,’ उनले भने, ‘समाधानका लागि उपभोगलाई आन्तरिक उत्पादनसँग जोड्नुपर्छ ।’


अहिलेलाई यो समस्या समाधानको एक मात्र उपाय जलविद्युत् क्षेत्रको विकास रहेको पूर्वसचिव खनालले बताए । ‘ठूलो परिमाणमा बिजुली उत्पादन गर्न सके त्यसले आयात प्रतिस्थापन र निर्यात वृद्धि दुवै गर्छ,’ उनले भने, ‘आउँदा एक/दुई वर्ष पर्यटन र उत्पादनमूलक क्षेत्रमा पनि लगानी बढाउनुपर्छ ।’


वित्तीय क्षेत्रमा निक्षेप वृद्धिका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशी मुद्रामा ऋण लिन पाउने सुविधा दिएको छ । स्थानीय तहमा गएको पैसाको ५० प्रतिशत बैंककै खातामा राख्न पाउने व्यवस्था गरेको छ । ऋण पत्र निष्कासनका लागि बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गरेको छ । यति गर्दा पनि समस्या समाधान हुन सकेको छैन ।


यो वर्ष विगतमा भन्दा पनि जटिल तरलता अभाव हुने बैंकरहरूको अनुमान छ । ‘गत शुक्रबारसम्म कम्तीमा एक दर्जनभन्दा बढी बैंकको सीसीडी अनुपात ८० प्रतिशत पुगेको छ,’ एक बैंकरले भने, ‘बैंकले लगानी गर्ने बेला भर्खर सुरु भएको छ, हेर्दै जानुस्, यो वर्ष अवस्था कति नाजुक हुन्छ ।’ निक्षेप वृद्धिका लागि राज्य तहबाटै पहल नभए लगानीयोग्य रकम अभावको समस्या घट्नुको साटो जटिल बन्दै जाने उनले दाबी गरे ।


बैंक तथा वित्तीय संस्थाले संकलन गरेको सबै निक्षेप लगानी गर्न पाइँदैन । कुल निक्षेपको बढीमा ८० प्रतिशत मात्र ऋण लगानी गर्न पाइन्छ । यसको अर्थ कुनै बैंकले सय रुपैयाँ निक्षेप संकलन गर्‍यो भने बढीमा ८० रुपैयाँ मात्र लगानी गर्न पाइन्छ । बाँकी २० रुपैयाँ तरलताका लागि नगद नै राख्नुपर्छ । सबै निक्षेप लगानी गर्न नपाइने भएकाले बैंकले धेरै निक्षेप संकलन गर्नुपर्छ । ताकि त्यही निक्षेपको ८० प्रतिशत ऋण लगानी गर्न पाइन्छ । पछिल्ला वर्षहरूमा परिस्थिति बदलिएको छ । बैंकले आक्रामक रूपमा कर्जा विस्तार गरेका छन् । निक्षेप भने बढ्न सकेको छैन ।


प्रकाशित : आश्विन ६, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?