जापानी गाउँमा भुजुङ चिया
(लमजुङ) — स्थानीयले हातैले माडेर डेढ दशकसम्म चिया बनाए । कोसेलीका रूपमा बेलायत, अमेरिका र हङकङसम्म पठाए । गाउँमा आउने पर्यटकले पनि लग्न थाले । पछिल्लो समय भने यहाँको चिया जापान निर्यात हुन थालेको छ । त्यहाँ कोसेलीका रूपमा नभई बिक्रीका लागि पठाउन थालिएको हो ।
करीब ३ सय रोपनीमा भुजुङबासीले चिया खेती गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले यसको थालनी गरेसँगै स्थानीयले अपनत्व लिएर सामूहिक चिया खेती गरेका हुन् ।
पछिल्लो समय व्यक्तिगत रूपमा पनि खेती थालिएको छ । चिया खेतीमा भुजुङका करिब ४ सय घरधुरी लागेका छन् । भुजुङ सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङले उत्पादित चिया विदेशीले १ हजार ५ सय रुपैयाँमा लाने गरेको बताए । चिया लिन वर्षमा दुईपटक जापानबाट पर्यटक आउने उनले बताए । प्रत्येकपटक ६० देखि ७० किलोसम्म लान्छन् । कहिलेकाहीँ १ क्विन्टल नै लिएर जान्छन् । उनका अनुसार भुजुङ र जापानको टोकुसीमा गाउँबीच मितेरी सम्बन्ध छ । मितेरी गाउँका नागरिक आएर चिया लाने गरेका हुन् । चिया ‘भुजुङ टी’ नामबाट बिक्री हुन्छ ।
२०४९ मा एक्यापको कार्यालय स्थापनापछि लघु जलविद्युत्को योजना अघि बढेको थियो । लघु जलविद्युत् निर्माण गर्न जापानी नागरिकले सहयोग गरेका थिए । तिनै जापानी भुजुङका बासिन्दासँग नजिक भए । उनीहरूकै प्रस्तावमा भुजुङ गाउँ जापानको टोकुसिमासँग मितेरी हुन पुग्यो ।
युम्बो विकास आमा समूहकी निवर्तमान अध्यक्ष मबिना गुरुङका अनुसार सुरुमा आफूले प्रयोग गरेर बाँकी रहेको चियालाई कोसेलीका रूपमा पठाइन्थ्यो । ‘आफन्तलाई चिया पठाउने गरेका छौं । हाम्रो गाउँमा बाहिरको चिया नै आउँदैन,’ उनले भनिन्, ‘विदेशी पर्यटकले पैसा दिएर गाउँको चिया किनेर लैजान्छन् । हाम्रो चिया देशविदेश जहाँतहीँ पुगेको छ ।’
चिया खेतीले स्थानीयको आयआर्जनमा टेवा पुगेको उनले बताइन् । करीब डेढ दशकअघि इलामबाट बेर्ना ल्याएर त्रिभुवन विद्याश्रम मावि नजिकैको डाँडामा चिया खेती गरिएको थियो । १० रोपनीमा परीक्षण गरिएको चिया फस्टाएपछि खेती विस्तार गरिएको थियो ।
३ वर्षको परीक्षण सफल भएपछि स्थानीय चिया खेतीतर्फ आकर्षित भएको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङका अध्यक्ष खिमबहादुर गुरुङले बताए । चिया खेती बर्सेनि विस्तार हुँदै छ । यसका लागि एक्यापले बेर्ना सहयोग गरेको छ । भुजुङमा तक्दा ७८ र गुम्ती नामक चिया खेती गरिएको छ । समुद्री सतहदेखि १ हजार ६ सयदेखि १ हजार ७ सय मिटरको उचाइको डाँडाकाँडामा गरिएको चिया पुस र माघबाहेक १५/१५ दिनको फरकमा टिप्ने गरिएको छ ।