कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सुदूरपश्चिममा ८० % चिनी अवैध आयात

सुदूरपश्चिमका करिब ३० लाख जनसंख्यालाई वार्षिक रुपमा चाहिने २४ हजार टन चिनीमध्ये ८० प्रतिशत अवैध रुपमा भारतबाट आयात हुने गरेको तथ्य साल्ट्र ट्रेडिङ कर्पोरेसनको एक अध्ययनले सार्वजनिक गरेको छ 
मोहन बुढाऐर

(धनगढी) — सुदूरपश्चिममा खपत हुने वार्षिक २४ हजार टन चिनीको ८० प्रतिशत आपूर्ति तस्करीबाट हुने गरेको पाइएको छ । अवैध आयातले स्थानीय उत्पादन प्रतिस्थापन हुँदै गएको छ भने यसको प्रभाव उखु किसानसम्मै परेको छ । १९ हजार टन चिनी अवैध रूपमा भित्रिँदा सरकारले पनि वार्षिक करोडौं रुपैयाँ राजस्व गुमाइरहेको छ ।

सुदूरपश्चिममा ८० % चिनी अवैध आयात

कैलालीको सत्तीदेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका अवैध नाकाबाट दैनिक एक हजार क्विन्टलभन्दा बढी चिनी अवैध रूपमा भित्रिरहेको स्रोतको दाबी छ । ‘साइकलदेखि ट्रक र ट्याक्टरसम्ममा ठूलो परिणामको चिनी स्थानीय प्रहरी र भन्सारकर्मीर्को ‘सेटिङ’ मा अवैध रूपमा आयात भइरहेको छ,’ स्रोतले भन्यो ।


साल्ट्र ट्रेडिङ कर्पोरेसनको एक अध्ययन प्रतिवेदनले सुदूरपश्चिमको करिब ३० लाख जनसंख्यालाई वार्षिक रूपमा चाहिने २४ हजार टनको ८० प्रतिशत चिनी अवैध रूपमा आपूर्ति हुने गरेको उल्लेख गरेको छ । कर्पोरेसनका क्षेत्रीय प्रमुख केशवराज पाण्डेयले सुदूरपश्चिम क्षेत्रको बजार अनुगमन गर्दा चिनीको भ्याट मूल्यको बिल कसैसँग नभेटिएको बताए । उनका अनुसार कैलालीको सत्तीदेखि कञ्चनपुरको ब्रह्मदेव मण्डीसम्मको खुला सीमाबाट चिनी तस्करी हुने गरेको छ ।


पाण्डेयले साल्ट ट्रेडिङको चिनी बिक्री नभएपछि बजार अध्ययन गरेको बताए । ‘गत वर्ष दसैं र तिहारलाई २ सय क्विन्टल चिनी मगाएका थियौं,’ उनले भने, ‘१ सय क्विन्टलभन्दा बढी

बिकेन ।’ उनले यो वर्ष पनि २ सय क्विन्टल चिनी आएको तर बजारमा अभाव नभएकाले थन्किने सम्भावना उत्तिकै भएको जानकारी दिए ।


सुदूरपश्चिममा तीनवटा चिनी उद्योग छन् । देशकै ठूलो भनिएको बासुलिङ सुगर मिल बन्द भएको दशक बढी भइसकेको छ । कञ्चनपुरको पुनर्वास क्षेत्रमा खुलेका भागेश्वर सुगर एन्ड केमकल इन्डस्ट्रिज र महाकाली सुगर मिल सञ्चालनमा छन् । यी दुई पनि पूर्ण क्षमतामा चलिरहेका छैनन् । दुवै मिलले ३० लाख क्विन्टल चिनी मुस्किलले उत्पादन गर्छन् । यी दुई मिलबाट उत्पादित चिनीको २० प्रतिशत मात्रै सुदूरपश्चिममा खपत हुने गरेको भागेश्वर सुगर मिलका प्रबन्ध निर्देशक शंकर बोगटीले बताए ।


उनले यहाँ उत्पादित चिनी काठमाडौं र पोखरा लगेर बिक्री गर्नुपरेको बताए । ‘जहाँ मूल्य पाइयो त्यहीँ जाने हो । काठमाडौं, पोखरा लगेर चिनी बिक्री गर्नुपरेको छ,’ उनले भने, ‘सीमापारिबाट आउने चिनीले स्थानीय उत्पादन प्रतिस्थापित गरिरहेको छ ।’ बोगटीले भारतबाट आयात हुने वैध/अवैध चिनीले स्थानीयस्तरमा उत्पादित चिनीको खपत घटाएको बताए ।


‘भारतबाट आएको चिनी सस्तोमा आइपुगेको छ,’ बोगटीले भने, ‘हाम्रो चिनीको लागत मूल्य नै बढी पर्ने भएकाले स्थानीय बजारमा मूल्य पाउँदैन । लागत मूल्य नपाएर उत्पादन बढाउन सकेका छैनौं ।’


बोगटीका अनुसार भारतमा प्रतिकिलो ४० रुपैयाँ भारुमा चिनी पाइन्छ । भन्सार छलेर आउने चिनी नेपाली गाउँघरमा ६५ रुपैयाँमा आइपुग्छ । बजारमा व्यापारीले चिनी प्रतिकिलो ७० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । स्थानीय उत्पादनको लागत मूल्य भने ७० रुपैयाँसम्म पर्ने भएकाले बजारमा ७५ रुपैयाँ प्रतिकिलोभन्दा घटीमा बेच्न नसकिने बोगटीले बताए ।


उनले देशलाई आत्मनिर्भर बनाउन चिनी उद्योगका लागि नीतिगत सुविधा, प्रोत्साहनमुखी सहुलियत दिन आवश्यक भएको बताए । उखु उत्पादक किसानलाई मल, प्राविधिक सहयोग र अनुदान दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । धनगढीका भन्सार अधिकृत गोपीकृष्ण उप्रेती पनि खुला सीमाबाट चिनी तस्करी हुने स्विकार्छन् ।


साधन स्रोतको अभावमा खुला सीमाको चिनी तस्करी नियन्त्रण गर्न नसकिएको उप्रेतीले बताए । तर, पटके रूपमा भन्सार र सुरक्षाकर्मीले अवैध चिनी समात्ने र लिलाम गर्ने गरेको उनको भनाइ छ । बुधबार मात्रै धनगढीको एक गोदामबाट ४ हजार ५ सय ५० किलो चिनी बरामद भएको छ । कैलाली भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ४ लाख १० हजार किलो मात्रै चिनी आयात भएको छ । चालु आर्थिक वर्षको साउनयता चिनी भित्रिएको तथ्यांक भन्सारमा छैन ।


साइकलमा ‘क्यारिङ’

धनगढी भन्सार रोडकी सीता कामी (नाम परिर्वतन) हरेक दिन धनगढीको त्रिनगर भन्सारबाट साइकलमा ५० किलो चिनीको बोरा ओसार्छिन् । धनगढी मिलन चोकस्थित एक गोदाममा भण्डारण गरेपछि उनी त्यसबापत ५ सय रुपैयाँ भाडा पाउँछिन् । उनले साइकलमा चिनी क्यारिङ गरेरै महिनामा १० देखि १५ हजार रुपैयाँसम्म कमाउने गरेकी छन् ।


सीताको चारजनाको परिवारको खर्च यही आम्दानीबाट चलेको छ । उनको दैनिकी १० वर्षदेखि एकैनास छ । ‘अवैध चिनी आयात गर्नु भनेको पैसा कमाएर धनी बन्ने लोभ होइन । साँझ–बिहानको छाक टार्ने बाध्यताले यस्तो काम गरेकी हुँ,’ उनले भनिन् ।


यस्तो काम गर्ने सीता एक्ली होइनन् । कैलालीको मूल भन्सार त्रिनगरको गेटबाट साइकलमा चिनी क्यारिङ गर्ने २ सयभन्दा बढी महिला छन् । पुरुषको संख्या भने न्यून छ ।


कहिलेकाहीँ भन्सारले कडाइ गर्न खोज्दा भोकै बस्नुपरेको पीडा महिलाहरूको छ । भन्सार प्रमुख र सीमा सुरक्षाकर्मी फेरिएका बेला भने केही कडाइ हुन्छ । सीताका अनुसार नाइकेसँगको ‘बार्गेनिङ दर’ बढाउने बेला कडाइ गरिन्छ । ‘हामी ढुवानी मात्रै गर्ने हो । अरू केही कुरा थाहा हुँदैन,’ एक महिलाले भनिन्, ‘सुरुमा प्रतिकिलो २ रुपैयाँ पाउँथ्यौं । अहिले ५ रुपैयाँ भएको छ ।’


पहिले गौरीफन्टा बजारबाट चिनी क्यारिङ गरेर गोदाम घरसम्म पुर्‍याउनुपर्थ्यो । दुई वर्षअघि गौरीफन्टा बजार खाली गराइयो । त्यसपछि दुई किलोमिटर दूरीको वनगाउँबाट चिनी क्यारिङ गर्नुपरेको महिलाहरूले बताए । धनगढीमा चिनी क्यारिङ गराउने दसवटा समूह सक्रिय छन् ।


उक्त समूहले बजार क्षेत्र पनि दस भागमा बाँडेको छ । तस्करहरूको समूहले आफ्ना क्षेत्रका व्यापारीलाई चिनी आपूर्ति गर्छन् । कहिलेकाहीँ बलियो समूहबाट हस्तक्षेप हुँदा आपसमा झगडासमेत हुन्छ । यस्तै सुदूरपश्चिमको अर्को ठूलो नाका कञ्चनुरको गड्डाचौकी र टीकापुरको खक्रौला भन्सारबाट पनि चिनी तस्करी हुने गरेको स्रोतले जनाएको छ ।


खुलेआम तस्करी

कैलालीको फुलबारी, हसुलिया, भजनी, खक्रौला र कञ्चनपुरको बेलडाडी, पुनर्वास र बेलौरी क्षेत्रका विभिन्न नाकाहरूबाट ट्रक, ट्याक्टरको ट्राली र गोरुगाडाबाट खुलेआम चिनी तस्करी हुने गरेको छ । ठूलो परिणाममा चिनी तस्करी गर्ने समूहले भारतका साना बजारभन्दा ठूला बजार र उद्योगबाट चिनी ल्याउने गरेका छन् । भारतको सीमासम्म भारतीय व्यापारीले चिनी पुर्‍याइदिने गरेका छन् । नेपाली तस्करले सीमामा अनलोड गरेर यता पुर्‍याउँछन् ।


कैलालीको खक्रौला, कञ्चनपुरको पुनर्वास र बेलौरीमा भारतीय ट्रकले चिनी नेपाल भित्र्याउने गरेका छन् । स्थानीयको घरमा गोदाम गरेर तस्करले धनगढी, टीकापुर, भीमदत्त नगरपालिका, बेलौरी, लम्की र सुक्खड बजारका व्यापारीको गोदाममा पुर्‍याउने गरेको स्रोतले जनाएको

छ । ‘भजनी, बेलौरी र त्रिभुवनबस्तीबाट आउने हरेक बसमा १०/१२ बोरा चिनी आउँछ,’ स्रोतले भन्यो ।


बोरामा पुनः प्याकिङ

भारतबाट साइकल र अन्य ठूला सवारी साधनमा भित्रिने अवैध चिनी नेपाली बस्तीमा पुगेपछि नयाँ बोरामा पुनः प्याकिङ गरेर सुदूरपश्चिमका पहाडी तथा पूर्वी जिल्लामा पठाउने गरिएको छ । एक जानकार स्रोतका अनुसार पुनर्वास क्षेत्रका चिनी उद्योगको भ्याट र कम्पनीका बोराहरूमा तस्करहरूले त्यसरी चिनी प्याकिङ गर्छन् ।


‘उद्योग देखाउने दाँत हुन्,’ नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, ‘भारतबाट तस्करी भएर आएको चिनी ती उद्योग परिसरभित्र छिर्छ र त्यहाँ प्याकिङ हुन्छ ।’ स्रोतले यो अवैध कार्यमा स्थानीय प्रहरी प्रशासनको समेत मिलेमतो हुने गरेको दाबी गरेको छ । यो आरोपलाई स्थानीय चिनी उत्पादकहरूले भने अस्वीकार गर्दै आएका छन ।


प्रकाशित : आश्विन ६, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?