कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जीआई वायरको कच्चा पदार्थ आयातमा अन्तःशुल्क

विनोद भण्डारी

(विराटनगर) — सरकारले चालु वर्षदेखि जीआई वायरको कच्चा पदार्थ एमएस वायर रड आयातमा अन्तःशुल्क लगाएपछि तयारी भन्दा कच्चा पदार्थ आयातमा बढी महसुल लाग्न थालेको छ । यस्तो अवस्थाले उद्योगहरू प्रभावित भएका छन् ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रका पाँचवटा जीआई वायर उद्योगले भारतबाट कच्चा पदार्थ आयात गरी तयारी वस्तु निकासी गर्दै आएका छन् । सरकारले जीआई वायरको कच्चा पदार्थ एमएस वायर रडको आयातमा चालु वर्ष प्रति टन १ हजार ६ सय ५० रुपैयाँ अन्तःशुल्क लगाएको छ ।


कच्चा पदार्थ आयातमा अन्तःशुल्क लागेपछि ८ प्रतिशत र तयारी वस्तु ल्याउदा भने ६ दशमलव २५ प्रतिशत महसुल लाग्ने गरेको सम्बद्ध उद्योगीको भनाइ छ । कच्चा पदार्थ आयातमा अन्तःशुल्क लागेपछि जीआई वायरको उत्पादन लागत थप तीन प्रतिशतले महँगो हुँदा भारत निकासी प्रभावित भएको उनीहरूको गुनासो छ ।


‘अन्तःशुल्कका कारण कच्चा पदार्थ आयात गरेर उद्योगले वस्तु उत्पादन गर्नुभन्दा तयारी वस्तु नै आयात गर्दा सस्तो पर्ने स्थिति भयो,’ उद्योगी पवनकुमार सारडाले भने, ‘सरकारले जीआई वायरको कच्चा पदार्थ एमएस वायर रड आयातमा अन्तःशुल्क लगाएपछि यस क्षेत्रका सबै उद्योगले तीन महिनादेखि उत्पादन कटौती गर्दा निकासी नै प्रभावित भएको छ ।’


जोगबनी नाकाबाट आर्थिक वर्ष ०७५/०७६ मा २ अर्ब १५ करोड १८ लाख मूल्य बराबरका २१ हजार टन जीआई वायर भारत निकासी भएको थियो । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा हुलास वायर, पायनियर वायर, प्रिमियर वायर, कमला स्टिल र महालक्ष्मी केबुल सञ्चालनमा छन् ।


मुलुकभरि यस्ता उद्योग करिब एक दर्जन छन् । कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुल ५ प्रतिशत छ । अन्तःशुल्कको नयाँ प्रावधानले थप तीन प्रतिशत लागत थपिँदा यसको आयात महसुल ८ प्रतिशत पुगेको छ । सारडाले भने, ‘थप तीन प्रतिशत आयात महसुल बढ्दा वस्तु उत्पादन गरेर निकासी गर्नुभन्दा तयारी वस्तु नै आयात गर्दा सस्तो पर्ने भयो ।’


जीआई वायरको कच्चा पदार्थ आयात गर्दा भन्सार र अन्तःशुल्क गरेर ८ प्रतिशत महसुल पुगेको छ । ‘साफ्टा सम्झौताअनुसार भारतबाट तयारी वस्तु जीआई वायर पैठारी गर्दा भन्सार महसुल ६ दशमलव २५ प्रतिशत मात्र लाग्छ,’ उनले भने, ‘कच्चा पदार्थ आयात गर्दा तयारी वस्तु आयात भन्दा १ दशमलव ७५ प्रतिशत बढी महसुल लाग्न थालेको छ ।’


कच्चा पदार्थ आयातमा विश्वभरि कहीँ पनि अन्तःशुल्क लगाएको पाइँदैन । ‘यहाँ भने ठीक उल्टो भएको छ,’ अर्का एक उद्योगीले भने । उनका अनुसार जीआई वायरको कच्चा पदार्थ आयतमा अन्तःशुल्क लगाउनु तर त्यसबाट उत्पादित तयारी वस्तुमा नलगाउने नीति आफैमा बिरोधाभास छ ।


सरकारले कच्चा पदार्थ र आयातित तयारी वस्तुबीच कम्तीमा १० प्रतिशत महसुल फरक राख्ने नीति अपनाएको छ । ती उद्योगीले भने, ‘तर व्यवहारमा तयारी वस्तुभन्दा कच्चा पदार्थ आयात गर्दा बढी महसुल लाग्दा पनि सरकारले वास्ता नगर्नु लज्जाको स्थिति छ ।’


प्रकाशित : आश्विन ६, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?