रैराङमा परीक्षण उत्पादन

विराटनगर — ९.३ मेगावाट क्षमताको रैराङ हाइड्रो पावरले परीक्षण उत्पादन सुरु गरेको छ । उक्त आयोजनाले बिहीबारबाट औपचारिक उत्पादन सुरु गरेको हो ।

एक महिना परीक्षण गरेपछि काबेली करिडोरको अमरपुर सब स्टेसनमार्फत उक्त आयोजनामा उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ‘परीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणले ग्रिडको फिडब्याक दिएपछि नियमित उत्पादन थालेका हौं,’ रैराङ हाइड्रोपावर लिमिटेडका निर्देशक कुवेरमणि नेपालले भने ।


आयोजनाबाट उत्पादन भएको विद्युत् ३३ केभीएको प्रसारण लाइनमार्फत काबेली ‘बी वान’ को आयोजनास्थल (३.५ किलोमिटर) मा ल्याएर त्यहाँबाट काबेली ‘बी वान’ बाट उत्पादन हुने विद्युतसँगै संयुक्त ट्रान्समिसन लाइन (५ किमि) मार्फत काबेली करिडोरको थापाटार सबस्टेसनमा पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।


२०७० सालमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरेको आयोजनाले प्रभावित जिल्ला ताप्लेजुङ र पाँचथरका सर्वसाधारणका लागि यसअघि नै १० प्रतिशत सेयर बिक्री खुलाएको थियो ।


आयोजनाले पाँचथर र ताप्लेजुङको प्रभावित क्षेत्रका स्थानीयलाई ग्रामीण विद्युतीकरणका लागि ४० लाख रुपैयाँ बराबरको पूर्वाधारमा सहयोग गरेको छ भने स्थानीय मोटरबाटो, विद्यालयहरूमा सहयोगलगायत सामाजिक उत्तरदायित्वका कामसमेत गरिसकेको जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?