२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

उखुको भुक्तानी दिन आनाकानी

नवीन पौडेल

(परासी) — पश्चिम नवलपरासीका चिनी उद्योगले किसानलाई ६४ करोड रुपैयाँ भुक्तानी दिन आनाकानी गरेका छन् । उधारो उखु बेचेका किसानले क्रसिङ सकिएको ६ महिना बितिसक्दा पनि भुक्तानी नपाएका हुन् । रकम माग गर्दै किसानले पटकपटक जिल्ला प्रशासन र स्थानीय तहमा धाए पनि उद्योगीले टेरेका छैनन् ।

जिल्लामा वाग्मती, इन्दिरा र लुम्बिनी चिनी मिल सञ्चालनमा छन् । मिलबाट किसानले पुरानो ४ करोड र नयाँ ६४ करोड गरेर ६८ करोड रुपैयाँ पाउन बाँकी रहेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।


‘हामीले पटकपटक जिल्ला प्रशासन र स्थानीय तहमा समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छौं,’ उनले भने, ‘भुक्तानी नदिने चिनी मिलमा अनिश्चित कालका लागि ताला लगाइएको छ । भुक्तानी सुरु भएपछि मात्र ताला खुल्छ । अझै केही दिनमा भुक्तानी सुरु नगरे सडक संघर्षमा जानेछौं ।’


दुईवटा उद्योगमा तालाबन्दी भएपछि वाग्मती चिनी मिलले किसानलाई भुक्तानी दिन सुरु गरेको थियो । मिलले अहिलेसम्म साढे २ करोड रुपैयाँ भुक्तानी गरेको छ । थप भुक्तानीका लागि पुर्जी संकलन गरिरहेको जनाएको छ । नयाँ ६४ करोडमध्ये इन्दिरा सुगर मिलले २० करोड, लुम्बिनी चिनी मिलले १२ करोड र वाग्मती चिनी मिलले ३२ करोड रुपैयाँ किसानलाई नदिएका हुन् ।


उद्योगलाई उखु बिक्रीबाट हुने आम्दानीले पहिलेपहिले सुस्ता गाउँपालिका–३ की कलावती मुसहरको घरखर्च र छोराछोरीको विद्यालयको खर्च जोहो हुन्थ्यो । तर, अहिले उल्टै उखु काट्दा खोजेको ऋण तिर्न नसकेको उनले बताइन् । ‘हाम्रो सबै खर्च धान्ने यही खेतीले हो । उखु बिक्री भएको ६ महिना बितिसक्दा पनि अझै भुक्तानी पाइएन,’ उनले गुनासो गरिन्, ‘अब आउने वर्ष त उखु मासेर केरा खेती गर्ने सोच बनाएकी छु ।’


दुई महिनाअगाडि प्रशासन, उद्योगी र किसानबीच भएको छलफलमा साउनबाट भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएका उद्योगीले भदौ महिना बितिसक्दा पनि भुक्तानी दिएका छैनन् । उखु क्रसिङको समयभन्दा तीन महिना ढिलो उद्योग सञ्चालन हुँदा खेतमा नै उखु सुक्ने समस्या भोगेका किसानलाई भुक्तानी पनि समयमा नपाउँदा घरखर्च धान्न नै मुस्किल परेको छ ।


प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले चिनी उद्योगले पुरानो बक्यौता रकम भुक्तानी सुरु गरे पनि नयाँ भुक्तानी भने नदिएको बताए । ‘उद्योग सञ्चालक र किसानबीच पटकपटक छलफल गराइएको छ । साउनको पहिलो साताबाट भुक्तानी सुरु गर्ने भने पनि अझै सुरु भएको छैन,’ उनले भने, ‘उद्योगीलाई किसानलाई भुक्तानी दिन ताकेता गरिरहेका छौं ।’


प्रकाशित : आश्विन ५, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?